भूकम्पका कारण पहिरोको चपेटामा

रुपक पुरी

सिन्धुपाल्चोक, जेठ ६ गते । लगातार आएको भूकम्पका धक्काको कारण सिन्धुपाल्चोकमा गएको पहिरोले हिमाली र विकट बस्तीहरु पहिरोको चपेटामा पर्दा आफूहरुलाई असुरक्षित महसुश गरिरहेका छन् । पहिरोेले सडक अवरुद्ध हुँदा भूकम्पका कारण विस्थापित भएकाहरुलाई सदरमुकामबाट राहत सामाग्री पठाउन समेत समस्या परेको छ ।
नेपाल चीन सीमा क्षेत्रमा ठाउँ ठाउँमा गएको पहिरोले सडक अवरुद्ध बनाएको छ । तल भोटेकोशी नदिको बहाव र माथिबाट पहिरो र ढुंगा खस्दा बस्ती खतरामा परेर स्थानीय अलपत्र परेको गुनासो गरेका छन् । फुल्पिङकट्टी गाविसको सेलाङकट्टीमा ७ जना घाइतेहरु उद्धारको प्रतिक्षामा बसेका छन् । पछिल्लो पटक वैशाख २९ गते गएको भुकम्पमा परेर घाइते भएका उनीहरुलाई अहिलेसम्म उद्धार गर्न नसकिएको गाविस सचिव विदुर रायमाझीले जानकारी दिनुभयो । ती घाइतेहरु वडा नम्वर ३ र ५ का हुन् ।
पश्चिमी क्षेत्रको मेलम्चीबाट बिकट गाउँ भोताङ जोड्ने सडक पनि पुनः अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भएपनि पहिरोका कारण समस्या आएको स्थानीयले बताए । विकट गाउँको रुपमा चिनिने जलबीरे माथिको भेगमा पनि पहिरोले सडक अवरुद्ध बनाएपछि राहत पु¥याउन समस्या परेको स्थानीय विकास अधिकारी युवराज कट्टेलले बताउनुभयो ।
जिल्ला विकास समितिले सडक सुचारु गराउन स्काभेटर पठाएपनि पहिरो नरोकिएकाले सडक सुचारु गराउने प्रयास सफल हुन नसकेको कट्टेलले जानकारी दिनुभयो । जलबीरे भेगमा यातायात सुचारु हुन नसक्दा गुम्बा, गोल्चे, पाङ्ताङ, हगाम, बराम्ची, सेलाङलगायतका गाउँमा राहत पु¥याउन नसकिएको कट्टेलले बताउनुभयो । प्रयाप्त मात्रामा हेलिकोप्टर नहुँदा र यातायातका साधन पनि सुचारु नहुँदा राहत वितरणमा कठिनाई आएको उहाँको भनाई छ । हिमाली गाउँमा जमिन चिरा चिरा परेर बस्ति नै अन्यत्र सानुपर्ने अबस्था रहेको प्रमुख सेनानी सुरेश कुमार कार्कीले बताउनुभयो ।
तातोपानीमा अलपत्र परेकामध्ये एकहजार जनाको उद्धार गरी राजधानी लगिएको छ । तातोपानीमा निर्माणाधिन सुख्खा बन्दरगाह क्षेत्रमा उद्धारको प्रतिक्षामा बसेकाहरुको उद्धार गरी काठमाण्डौ लगिएको र अझै त्यहाँ १ सय ५० जना उद्धारको प्रतिक्षामा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दिपकराज खरेलले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना