सङ्कट समाधानका लागि राष्ट्रिय सरकार आवश्यक

Prakash-Jwala_दाङ, जेठ ५ गते । नेकपा (एमाले)का नेता प्रकाश ज्वालाले तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । रिपोटर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य ज्वालाले नेपालमा आएको विपत्तिलाई उचित व्यवस्थापन तथा संविधान निर्माणलाई अघि बढाउन राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताउनुभएको हो ।

नेता ज्वालाले राष्ट्रिय सहमतिको सरकारका लागि पहल भइरहेको समेत बताउँदै भन्नुभयो ‘‘अबको एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर तीन महिनाभित्र संविधान जारी गर्न दलहरु अघि बढ्नुपर्छ ।’’

राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने पालो एमालेकै भएको दाबी गर्दै उहाँले पार्टी अध्यक्ष केपी ओली नै त्यसको पहिलो दाबेदार रहेको उल्लेख गर्नुभयो । यद्यपि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सवालमा कुनै पनि बहानामा एमाले बाधक नबन्ने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय सहमतिको सरकारबिना जनताले राहतको अनुभूति गर्न नसक्ने भएकाले राष्ट्रिय सहमतिको सरकारको पक्षमा एमाले रहेको पनि उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, अहिले नेपाली सबैभन्दा बढी पीडामा छन् त्यो पीडा कम गर्न राष्ट्रिय सहमति आवश्यक छ । नयाँ ढङ्गबाट राष्ट्र निर्माण गर्न कम्तीमा १० वर्ष राजनीतिक सहमति आवश्यक रहेको नेता ज्वालाले दाबी गर्नुभयो ।

कार्यक्रममा उहाँले सरकारको निर्देशनअनुसार अहिले सबै सभासद्हरु भूकम्पपीडितको राहतका लागि गाउँगाउँतर्फ लागेको बताउनुभयो । अर्थ समितिका सभापतिसमेत रहनुभएका नेता ज्वालाले अहिले सबै क्षेत्रबाट सहयोग प्राप्त भएर पनि सरकारले पीडितसमक्ष उचित रुपमा वितरण गर्न नसकेको भन्दै प्राप्त सहयोग मुठी खोलेर पीडितसमक्ष तत्काल पु¥याउन सरकारलाई निर्देशन दिएको पनि जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना