• १६ चैत २०८०, शुक्रबार

हराउँदै रोपाइँको मौलिकता : अहिले सुनिँदैनन् असारे भाका

blog

असारको दोस्रो साता बितेपछि सुरु भयो म्याग्दीमा रोपाइँ । तस्बिर : रासस

गलेश्वर, असार १५ गते । आज असार १५ देशभर धान दिवस मनाइँदै छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने’ महिनाको रूपमा लिने गरिन्छ । असारको दोस्रो साता बितेपछि मात्रै म्याग्दीमा रोपाइँ सुरु भएको छ । दर्के झरी र चर्को घामको प्रवाह नगरी जिल्लाका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् ।

किसान रोपाइँमा व्यस्त भए पनि रोपाइँको मौलिकता भने हराउँदै गएको छ । कृषिमा यान्त्रीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रैथाने प्रविधि लोप हुँदै गएका हुन् । हलो, जुवा र गोरुको ठाउँ मिनिटेलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छोडेका छन् ।

“पहिला पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमे भुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारले असारे गीतका भाकासँगै धान रोप्न सुरु गर्दथे”, बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो, “अहिले यी सबै कुराहरू हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ चलिरहेको छ तर न हजो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।”

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,

घरमा छैन शितलु वचन, मनमा छैन थिर ।

छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउन्जेल

जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’

लोक गायिका हरिदेवी कोइरालाले गाउनुभएका गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छोडेका छन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । आज असार १५ राष्ट्रिय धान दिवस भए पनि किसानका खेत अहिलेसम्म बाँझै छन् । केही सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरेका देखिन्छ । पर्याप्तता वर्षा नभएकाले किसान रोपाइँमा व्यस्त हुन पाएका छैनन् भने असारे गीत पनि सुनिँदैनन् ।

नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइमा दिनभर थाकेको बाउसे र रोपाहारहरू एक अर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गाउँदा सुन्ने पनि लठ्ठ पर्ने गर्दथे । ती दिनहरू अब इतिहास बनेका म्याग्दीकी लोकगायिका धनकुमारी थापाले बताउनुभयो ।

“पहिला असारे गीत असार सुरु हुने बित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि सुनिएका छैनन्”, उहाँले भन्नुभयो, “मानो खाएर मुरी उब्जाउने भनिए पनि  पहिलेजस्तो रोपाइँमा उल्लास आजकल पाइन छोडेको छ ।” आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउन छाडेकाले भाकासमेत लोप भएको उहाँको भनाइ थियो ।

नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन । रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्नी हुँदा उत्सवजस्तै मानिने भए पनि अहिले त्यो परम्परा हट्दै गएको र असारे रोपाइँको रौनक पनि घटेको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले बताउनुभयो ।

पछिल्लो सयममा रोपाइँको समयमा गाइने असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको पुराना गायक नेत्रबहादुर महतले बताउनुभयो । “रोपाइँमा त सुनिन छाड्यो–छाड्यो, आजभोलि रेडियो, टिभीबाट समेत गीत सुनिँदैन”, उहाँले भन्नुभयो ।

पहिले रेकर्ड गरिएका गीतहरू प्राविधिका कारण सङ्ग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारले सांस्कृतिक गीतभन्दा पनि व्यावसायिक गीतलाई प्राथमिकता दिँदा थप समस्या भएको म्याग्दीकाली एफएमका स्टेसन म्यानेजर राकेश शर्माले बताउनुभयो । दाइको बेला गाइने गीत र संस्कारको संरक्षण हुन सक्यो भने यसले धान खेती र दाइँ गर्ने किसानको पनि हौसला बढ्ने उहाँको भनाइ छ ।

नेपाली लोक गीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइए पनि यस्ता गीतको संरक्षण र संवर्द्धन हुन नसकेको महतले बताउनुभयो । पुराना लोक भाका र परम्पराको संरक्षण हुन नसक्दा मौलिक संस्कृति लोप हुँदै गएका उहाँको भनाइ थियो । पुराना लोकसंस्कृति झल्काउने गीत तथा भाकाको संरक्षण गर्न अतिआवश्यक रहेको बुढापाकाको भनाइ छ ।

‘सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने

जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने ।’

यस्तै–यस्तै शब्दहरूमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको बगरफाँटकी ६८ वर्षीया यामकुमारी शर्मा झलझली सम्झिनुहुन्छ । “बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो”, उहाँले भन्नुभयो, “आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसेके । अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् ।”

धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको शर्माले सुनाउनुभयो । अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बुढापाकाले चिन्ता व्यक्त गरेका छन् ।

“कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो”, बेनी नगरपालिका–४ का कृषक नारायण पौडेलले भन्नुभयो, “तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।” उहाँले कृषिसँग नेपालीको जीवन पद्धति पनि जोडिएको बताउनुभयो ।

ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन भएको भन्दै कृषिसँग जोडिएका मौलिक परम्पराहरू संरक्षण गर्नुपर्ने  बुढापाका बताउँछन् । यिनै प्रचलनको जगमा समाजको एकता र विविधता दुवै समेटिएको बेनीका लोक कलाकार प्रकाश श्रेष्ठले बताउनुभयो । असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा बिस्तारै हराउँदै गएको उहाँको भनाइ थियो ।

म्याग्दीमा असार दोस्रो सातासम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

‘लेकको चरी बेँसीमा झर्‍यो पाकेको बर खान

हाड मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान

असार मास कुटेका चिउरा म कति साँचुला

सौताको हात दुई कुड्की भात म कति बाँचुँला ।।’ रासस