• १३ वैशाख २०८१, बिहिबार

अवरुद्ध नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरो पन्छाउन सुरु

blog

नारायणगढ मुग्लिङ सडकका पहिरो । तस्बिर : गाेरखापत्र

वसन्त पराजुली 

भरतपुर, असार १५ गते । नारायणगढ मुग्लिङ सडक खण्डमा अवरुद्ध पहिरो खुला गर्ने कार्य सुरु गरिएको छ । बिहीबार दिउँसोबाट अवरुद्ध सडक खुला गर्न पहिरो पन्छाउने काम केही वेर अघिबाट सुरु भएको हो । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इन्जिनियर (डिई)  रमेश पौडेलले पहिरो पन्छाउने काम सुरु भएको र थप पहिरो नझरे दुई देखि तीन घण्टामा सडक सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । 

“अहिले हामीले सोच्दै नसोचेको नयाँ ठाउँमा पहिरो झरेको छ । निरन्तर पहिरो झरी रहेका कारणले सडक खुला गर्न नसकिएको हो अहिले हामीले पहिरो झर्न कम हुन थालेसँगै सडकको पहिरो पन्छाउन लागिसकेका छौ”, उहाँले भन्नुभयो । 

पहिरो पन्छाउन एक्स्काभेटर परिचालन गरी सकिएको बताइन्छ । डिभिजन सडक कार्यालयका प्राविधिकहरू बिहानैबाट यो काममा खटिएका छन् । यसमा नेपाल प्रहरी र स्थानीयले पनि सहयोग गरिरहेका बताइन्छ । 

अघिल्ला वर्षहरूमा पहिरोको समस्या बनेको तिन ठाउँमा यो वर्ष अहिले सम्म समस्या नआएको र यो ठाउँमा नयाँ ठाउँमा आएको पहिरोले समस्या पारेको उहाँले बताउनुभयो । 

पछिल्ला वर्षहरूमा  नारायणगढ मुग्लिङ सडक भन्दा माथिबाट खस्ने  पहिरोले  सडक नै अवरुद्ध गरेर दुःख दिन थालेको छ । हरेक वर्ष बर्साद सुरु भएसँगै  पहिरो झर्ने समस्याले यो सडकको यात्रा नै  असुरक्षित बनेको छ तर  पहिरोको जड के हो भन्ने यकिन गर्न सकिएको छैन । 

बर्सादको सिजन पहिरोका कारण यात्रुले दुख पाइरहेका छन् । अहिले मुग्लिङ रामनगरमा हजारौँ सवारी साधन रोकिएका छन् ल सवारी साधनको लाम नारायणगढ सम्म र उता कुरिन टार सम्म रहेको बताइन्छ । पहिरोले राजमार्ग नखुल्दा लाखौँ यात्रु रातभरि बिच सडकमा अलपत्र पर्न बाध्य भए । 

देशकै प्रमुख राजमार्ग मध्येको एक हो नारायणगढ मुग्लिङ सडक । राजधानी काठमाडाैँलाई आवश्यक पर्ने खाद्यान्न तथा लत्ता कपडा र अन्य अत्यावश्यक सामानहरू पनि यही सडकबाट काठमाडौँ लग्ने गरिन्छ । राजधानीलाई तराइका जिल्लाहरू सँग जोड्ने यो मुख्य  सडक एकै छिन अवरुद्ध हुँदा यहाँ गुड्ने हजारौँ सवारी साधन र लाखौँ यात्रु अलपत्र पर्ने गर्दछन् । अहिले बिहीबार दिउसो १.३० बजे वाट सडक अवरुद्ध छ ।