• ७ वैशाख २०८१, शुक्रबार

वन्यजन्तुको क्षति रोक्न पर्खालसहितको मेसजाली

blog

वन्यजन्तुको क्षति रोक्नका लागि मेसजालि निर्माण गरिँदै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, असार १४ गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि लगानी बढाएको छ । सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्‍याउन नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि विशेष पहल थालेको हो ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र प्रभावित नगरपालिकाका १ र १७ गरी दुई वडामा कङ्क्रिट सहितको मेसजाली लगाउने कामले तीव्रता पाएसँगै अहिले ८० प्रतिशत निर्माण कार्य सकिएको शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र बहादुर पाण्डेले बताउनुभयो । 

सधैँजसो बस्तीमा आउने वन्यजन्तुले नगरपालिकाअन्तर्गत पर्ने स्थानीय बासिन्दाका बालीनालीमा क्षति पुर्‍याउने, मान्छेलाई समेत आक्रमण गर्ने घटना हुने गरेका कारण सो रोक्नका लागि शिसवार मध्यवर्ती उपभोक्ता समितिको पहलमा कङ्क्रिट सहितको मेषजाली निर्माण गरिएको नगरप्रमुख हरि प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकाले चालू आर्थिक वर्षमा वन्यजन्तुको क्षति न्यूनीकरणका लागि रु पाँच लाख विनियोजन गरेको छ । यस्तै सरकारका तत्कालीन अर्थमन्त्री रामजी बरालको पहलमा सिचाई डिभिजन कार्यालय नवलपुर मार्फत तीस लाख, चितवन राष्ट्रिय निकुञ्ज वाट नौ लाख, डिभिजन वन कार्यालय नवलपुरबाट पाँच लाख, देवचुली नगरपालिका वाड नं १७ वाट पाँच लाख र उपभोक्ता समितिको आन्तरिक स्रोतबाट एक लाख ५० हजार गरी जम्मा ५० लाख ५० हजार खर्च हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।

जमिनबाट चार फुट ढलाई हुनेगरी सात फिट अग्लो पर्खाल र कुनैको पर्खालमाथि थप तीन फिट जाली लगाउने काम अहिले वन्यजन्तु प्रभावित क्षेत्रमा भइरहेको छ । 

नगरपालिकाअन्तर्गत मध्यवर्ती क्षेत्रसँग जोडिएका वडा १ र १७ वन्यजन्तुका कारण प्रभावित रहेका छन् । विगतका वर्षमा समेत नगरपालिकाले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि बजेट विनियोजन गरी पर्खालसहितको मेसजाली राख्ने काम गरेको थियो ।  अहिले करिब सात मिटरको क्षेत्रफलमा पर्खालसहितको मेस जाली निर्माण गर्ने काम सकिने छ । यस क्षेत्रमा मध्यवर्ती क्षेत्र र डिभिजन वनले समेत झण्डै पाँच मिटर क्षेत्रमा पर्खाल सहितको मेस जाली निर्माण गरेका छन् ।

यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतारसहित विद्युत् अर्थिङ लगाइएकामा त्यसलाई समेत नाघेर, चुँडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पर्खालसहितको मेस जाली निर्माण थालिएको स्थानीय डिआर क्षेत्रीले बताउनुभयो । यस क्षेत्रमा निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले बर्सेनि ठुलो मात्रमा अन्नबाली, चौपाया र मानिसमा समेत क्षति पुर्‍याउँदै  आएका छन् । सोको निर्माणपछि वन्यजन्तु बस्ती प्रवेश गर्न नसक्ने र मध्यवर्ती क्षेत्रका बासिन्दालाई राहत मिल्ने स्थानीयको भनाइ छ ।