• १२ वैशाख २०८१, बुधबार

पालिकाको आन्तरिक आम्दानी बढाउन जोड

blog

कैलारी गाउँपालिकाकाको गाउँ सभा बैठक । तस्बिर : प्रेम चौधरी

अविनाश चौधरी

धनगढी, असार १४ गते । कैलालीस्थित कैलारी गाउँपालिकाका गाउँ सभा सदस्यहरूले पालिकाको आन्तरिक आम्दानी बढाउनु पर्नेमा जोड दिनुभएको छ । वार्षिक बजेट कम हुँदा जनताको चाहनाअनुसार काम गर्न समस्या भएको भन्दै उहाँहरूले आन्तरिक आम्दानी बढाउनु पर्नेमा जोड दिनुभएको हो । 

गाउँ सभामा प्रस्तुत गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिनुहुँदै उहाँहरूले सीमित बजेटमा जनताको अपेक्षा अनुसार काम गर्न नसकिरहेको उल्लेख गर्नुभयो । गाउँ सभा सदस्य एवम् वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमबहादुर चौधरीले आन्तरिक आम्दानी बढाउनका लागि गाउँपालिकाले स्रोतको खोजी गर्नु पर्ने बताउनुभयो । “थोरै बजेटका कारण एउटातिर काम गर्दा अर्कोतिर छुट्ने गर्दछ”, उहाँले भन्नुभयो,“बजेट कमिका कारण जनताले मागेका योजना पूरा गर्न समस्या भइरहेकाले आन्तरिक आम्दानी बढाउन स्रोतको खोजी गर्नु पर्दछ।” 

आर्थिक वर्ष २०८०-८१ का लागि ६३ करोड ४८ लाख ६९ हजार रुपियाँ बजेट ल्याएको सो गाउँपालिकाको आन्तरिक आम्दानी भने निकै न्यून छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा अनुमानित एक करोड ७५ लाखमात्रै आन्तरिक आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । चालु आर्थिक वर्षको एक करोड रुपियाँ बचत रकम पनि आम्दानीको रूपमा रहने जनाइएको छ । 

गाउँपालिकामा प्रशस्त मात्रामा तालतलैया रहेकाले राजस्व बढाउनका लागि सबै तालतलैयालाई पालिका मातहतमा ल्याउनु पर्ने अर्का गाउँ सभा सदस्य एवम् वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्र बमले बताउनुभयो । उहाँले भन्नुभयो,“सबै ताललाई ठेक्कामा लगाएर गाउँपालिकाको आम्दानी बढाउन सकिन्छ ।” 

चालु आर्थिक वर्षको मालपोत करमा सो गाउँपालिकाले आधा छुट दिएको छ । बाढी प्रभावित किसानको समस्या बुझेर मालपोत करमा आधा छुट दिँदा करिब डेढ करोड रुपियाँ आम्दानी घटेको जनाइएको छ । गाउँपालिकाले एकातिर कर छुट दिँदा आम्दानी बढाउन करको दायरा बढाउनुपर्ने औँल्याइएको छ । आन्तरिक आम्दानी बढाउनका लागि गाउँपालिकामा तमाम स्रोत रहेको वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरीले बताउनुभयो । उहाँले त्यस्ता स्रोतको पहिचान गर्नु पर्नेमा जोड दिनुभयो । 

यसैगरी, वडा नम्बर ८ का वडा अध्यक्ष तारामल कठरियाले गाउँपालिकाको मातहतमा तालतलैया नआएमा पालिकाबाट दिने सबै सेवासुविधा रोक्नु पर्नेमा जोड दिनुभयो । सो गाउँपालिकामा धेरै जसो तालतलैया सामुदायिक वन उपभोक्ता समितिका मातहतमा रहेका छन् । 

यस्तै, विकासका लागि सुशासनमा जोड दिनु पर्ने, सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्‍याउनु पर्ने, कृषिलाई प्राथमिकता दिनु पर्ने लगायतका विषयमा गाउँ सभा सदस्यहरूको जोड थियो ।