• १३ वैशाख २०८१, बिहिबार

राप्ती आँखा अस्पतालमा कर्नियल फोटोग्राफी मेसिन

blog

दाङको तुलसीपुरमा रहेको राप्ती आँखा अस्पताल । तस्विर : लीलाधर वली

लीलाधर वली 

घोराही, असार १४ गते । राप्ती आँखा अस्पतालले आँखा सम्बन्धी सेवालाई प्रभावकारी बनाउने उद्देश्यले कर्नियल फोटोग्राफी मेसिन खरिद गरेको छ । राप्ती अस्पताल र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा मेसिन खरिद गरिएको हो । 

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरूको सुदृढीकरण (स्वास्थ्य साझेदारी) कार्यक्रमअन्तर्गत अस्पतालको सेवा सबलीकरणका लागि आर्थिक वर्ष २०७९-८० मा २४ लाख अनुदान दिएको थियो । आँखा अस्पतालले २६ लाख रकम साझेदारी गरेको थियो । 

कर्नियल फोटोग्राफी मेसिन खरिद गरेको राप्ती आँखा अस्पताल खरिद तथा गुणस्तर निर्धारण समितिका संयोजक रेशमबहादुर खड्काले जानकारी दिनुभएको छ । अस्पतालले प्रदेश सरकारसँग सहकार्य गरी साझेदारी कार्यक्रमअन्तर्गत ‘उज्यालो अभियान कार्यक्रम’मार्फत् दृष्टिविहीनता अर्थात् अन्धोपनको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्य रहेको संयोजक खड्काले बताउनुभयो । उहाँका अनुसार कर्निया (आँखाको नानी) रोगको उपचारपश्चात् समाजमा रहेका दृष्टिविहीनताको समस्यालाई न्यूनीकरण गर्ने, नेपाल सरकारको स्वास्थ्य नीति, नियम तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्य अस्पतालको रहेको छ । 

कर्नियल फोटोग्राफी मेसिन आएसँगै बेलैमा उपचार सेवालाई व्यवस्थित बनाउने, गुणस्तरीय सेवाको कारण बिरामीमा विश्वासको वातावरण बढ्ने र दृष्टिविहीन अर्थात् आँखाको ज्योति गुमाउनुपर्ने समस्यालाई न्यूनीकरण गर्ने अपेक्षा लिइएको छ ।

आँखा अस्पतालका मेसु डा. सन्तोष सुवेदीले कर्निया तथा अन्य आँखाको समस्याका कारणले हुने दृष्टिविहीनतालाई घटाइ पैसाको कारणले कुनैपनि व्यक्ति अन्धोपनमा बस्नु नपर्ने भन्दै पालिकामा देखिएको कर्निया (आँखाको नानी)सम्बन्धी रोगबाट उपचार सेवा नपाएकालाई उपचार सेवा दिई अन्धोपन न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले आँखाको नानीको बनावट, पातलोपन हेर्न, आँखाको नानी प्रत्यारोपणपछि नानीको आकार हेरी टाँका निकाल्न, कन्ट्याक्ट लेन्स सेवा सुरु गर्न यो मेसिन आएसँगै सहजता हुने बताउनुभएको छ ।