• ८ वैशाख २०८१, शनिबार

समाजवादी मोर्चाको औचित्य

blog

नेपाली राष्ट्रिय राजनीतिमा समाजवाद सबैभन्दा चलनचल्तीको पदावली साबित भएको छ। यो सबै समस्याको समाधान गर्ने मिथक जस्तो बनेको छ। यसप्रति बनिबनाउ आकर्षण बढिरहेको छ। यहाँसम्म कि अमूर्त समाजवाद उच्चारण गरे पुग्छ। समाजवाद स्थापना गर्ने स्पष्ट कार्यदिशा र कार्ययोजना चाहिँदैन। यसको अर्थ राजनीतिक अन्तरवस्तु, चरित्र र पद्धतिको गहिराइमा पुग्नु पर्दैन। कार्यक्रमिक खाका वा योजना जरुरी हुँदैन। समाजवादसम्बन्धी भाषण र वक्तव्यबाजी गरे पुग्छ अर्थात् यो जानेर होस् वा नजानेर, बुझेर होस् वा नबुझेर अनि सचेत भएर होस् वा अचेत भएर समाजवादी भन्दिए, भइदिए र बोलिदिए पुग्छ। सत्य–तथ्यमा पुगेर वस्तुवादी आधारसहितको समाधानबारे बहस छलफल जरुरी हुँदैन।

यही वस्तुगत धरातलमा भर्खरै समाजवादी मोर्चा गठन गरिएको छ। यसमा नेकपा माओवादी केन्द्र, नेकपा विप्लव, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलगायत पार्टी सम्मिलित छन्। यसले एकातिर एकखालको राजनीतिक तरङ्ग पैदा गरेको छ। अर्कातिर विगतकै जस्तो औसत कर्मकाण्ड भनेर सामान्यीकरण पनि गरिँदैछ। वस्तुतः यो मोर्चा कुन उद्देश्य र राजनीतिक मिसनजन्य अन्तरवस्तुद्वारा निर्देशित छ भन्ने यसका आगामी कार्याभार सम्पादनमा निर्भर हुने छ। यसले लिने राजनीतिक कार्यदिशा, कार्ययोजना र कार्यक्रममा भर पर्ने छ। वास्तवमै समाजवादी लक्ष्यमा गठित हो वा औसत चुनावी अङ्कगणित फेरबदल गर्ने गठबन्धन मात्रै भन्ने सवाल यसको निकट भावी व्यवहारबाट पुष्टि हुने छ।

औचित्य

यसको औचित्य निर्धारण गर्ने आयाम भनेको यसले लिने कार्यदिशा, कार्र्ययोजना र उद्देश्य नै हो। साँच्चै नेपाली समाजलाई पूर्ण रूपमा समाजवादमा सङ्क्रमण गराउने मूलभूत उद्देश्य हो भने यसको सर्वाधिक ऐतिहासिक महत्व वा औचित्य रहन्छ। यो जसरी पनि समाजवाद स्थापना गर्ने एकीकृत र सङ्गठित मिसनको मोर्चा हो भने सबैले यो मोर्चालाई स्थापित गर्दै यही मोर्चामा गोलबन्द गराउनु पर्छ। सिङ्गो नेपाली समाजको मोर्चा बनाउनु पर्छ। यतिखेर नेपाली राष्ट्रिय राजनीतिक आन्दोलन असाध्यै रक्षात्मक छ। वस्तुतः आन्दोलन रक्षात्मक भएको बेला आधारभूत एजेन्डामाथि नै नकारात्मक टिप्पणी र चौतर्फी हमला हुने गर्छ। गणतन्त्र माथि भइरहेको आक्रमण यसैको उपज हो। यस्तो धरातलमा समाजवादको कुरा त धेरै टाढाको विषय हुन्छ। यद्यपि यो मोर्चाले योजनाबद्ध रूपमै ठोस पहलकदमी लिँदै समाजवादी आधारशीला तयार गर्ने हो भने यसको औचित्य स्वतः पुष्टि हुने छ। 

कार्यदिशा

कुनै पनि राजनीतिक आन्दोलनसँग राजनीतिक कार्यदिशा अनिवार्य हुन्छ। कार्यदिशा बिनाको राजनीतिक आन्दोलन हुँदैन। राजनीतिक कार्यदिशासँग धेरै किसिमको विचार र दृष्टिकोण हुन्छ। यसमा अग्रगामी, यथास्थितिवादी र पश्चगामी वैचारिक कार्यदिशा हुने गर्छ। समाज विकासको सार्वभौम गतिशील नियम अनुरूप अग्रगामी कार्यदिशाले मात्र परिवर्तन, न्याय र समानताको नेतृत्व गर्छ। अरू यथास्थितिवादी र पश्चगामी कार्यदिशाले समाजको गतिशीलता र परिवर्तनशीलताको प्रतिनिधित्व गर्न सक्दैन। किनभने समाज विकासको ऐतिहासिक रथ अगाडि नै बढ्ने गर्छ पछाडि होइन। शासक वर्गले शासक वर्गीय हित र स्वार्थका लागि कहिलेकाहीँ इतिहासको पाङ्ग्रालाई उल्टो दिशातिर घुमाउन खोज्छ। आज राजतन्त्रको भूत सवार हुनु यसैको दुष्परिणाम हो। 

यसकारण समाजवादी मोर्चाले वस्तुतः समाजवादी कार्यदिशा अङ्गीकार गर्नु पर्छ। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक रूपान्तरणको आमगुरुयोजना ल्याउनु पर्छ। काखा–पाखा, हेला–होचो, विभेद र असमानता अन्त्यको स्पष्ट खाका तयार गर्नु पर्छ। शिक्षा, स्वस्थ्य, रोजगारी र खाद्य–सम्प्रभुताका लागि राजकीय कार्यक्रमको रूपरेखा बनाउनु पर्छ। म, मेरो र आफन्तको ठाउँमा क्रमशः हामी, हाम्रो, समाज र राष्ट्रको सोच विकास गराउनु पर्छ। सामूहिक चिन्तन धाराको विकास गराउनु पर्छ। आन्दोलनसँगै समाजवादी उन्नत सोच वा चिन्तन् विकास गराउनु पर्छ। राजकीय उपस्थिति र दायित्वलाई आमरूपमा स्थापित गर्नु पर्छ। दलाल पुँजीको ठाउँमा राष्ट्रिय पुँजीलाई प्रोत्साहन दिनु पर्छ। घरेलु उत्पादनलाई बढावा र विदेशी उत्पादनलाई निरुत्साहित गर्नु पर्छ। अर्थात् आयत प्रतिस्थापन र निर्यात प्रवर्धन गर्नु पर्छ। यो भन्दा तल झरेर कसैसँग सम्झौता गर्नु हुँदैन। पद, प्रतिष्ठा र पावरसँग समाजवादी मिसनलाई सौदावाजी गर्नु हुँदैन। संसदीय राजनीतिमा पद, प्रतिष्ठा र पावरसँग सबै राजनीतिक मूल्यमान्यता, आस्था र आदर्श लिलाम गर्ने गरिन्छ। समाजवादी मिसनमा लागेकाहरूले त्यस्तो गलत परम्परालाई परैबाट वाइवाइ गर्नु पर्छ। तब मात्र समाजवादसम्म पुग्ने समाजवादी मोर्चा सिद्ध हुने छ अनि यसको औचित्य पुष्टि हुने छ। मुलुकले समाजवाद तर्पmको नेतृत्व पाउने छ जुन अधिकांश जनताको मर्म र भावना हो।

सरकार टिकाउने/मनको बह बिसाउने

यो समाजवादी मोर्चासँग गम्भीर ऐतिहासिक जिम्मेवारी रहेकोमा दुईमत छैन। यस्तो जिम्मेवारी पूरा गर्ने कुरा सहज हुँदैन। यो असाध्यै कष्टसाध्य र कठिन परिश्रम र सङ्घर्षबाट मात्र सम्भव हुन्छ। यो कसैको दिमागलाई अल्मल्याउन वा दिमाग भुट्न मात्र गठन भएको हो भने त्यसको कुनै औचित्य हुँदैन। समाजवादी मिसन नै यसको अर्जुनदृष्टि हो भने राजनीतिक रूपमा यसको दूरगामी ऐतिहासिक महत्व छ। यसलाई सामान्य सरकार टिकाउने र गिराउने रणनीतिक अस्त्र मात्र बनायौँ भने त्यो दुर्भाग्य हुने छ। कुनै अमुक पार्टी, समूह र व्यक्तिविरुद्ध मात्र लक्षित गर्नु हुँदैन। कुनै अमुक पार्टीलाई एक्लो बनाउने वा पाखा लगाउने भन्नेमा मात्र सीमित गर्नु हुँदैन। किनभने समाजवाद भनेको महान् राजनीतिक अभियान र सामाजिक मिसन हो। यो मोर्चालाई पनि अङ्कगणितीय खेलमा सीमित गरियो भने यो पनि उही विगतमा जस्तै औसत एउटा मोर्चा निर्माणदेखि अर्को मोर्चा निर्माणमा सीमित हुने छ, जुन हाम्रो समस्या समाधानको वस्तुवादी विकल्प होइन। 

योसँगै यो मोर्चालाई हामीले अर्थ राजनीतिक रूपमा समाजवादी भिजनको गुरुत्वकेन्द्र वरिपरि गोलबन्द गरेनौँ भने कामयावी हुँदैन। कामयावी नहुनु भनेको केही नेता तथा कार्यकर्ताको मनको बह बिसाउने थलो मात्र हुने छ। पाका र थाकेका नेताको बौद्धिक बहस गर्ने, अड्डी कसाकस गर्ने र आरोप–प्रत्यारोप गर्ने चौतारी मात्र हुने छ। हामीलाई बौद्धिक बहस छलफल गर्ने चौतारी चाहिएको छैन। हामीलाई त निश्चित गन्तव्यसहितको कार्यक्रम र कार्ययोजना चाहिएको छ। समाजवादी रक्तसञ्चार प्रणालीको सामाजिक परिसंचरण चाहिएको छ। कमीकमजोरी भए ठाउँको ठाउँ सच्याउने परिपाटी र साहस जरुरी छ। गलतलाई दुरुत्साहन र सहीलाई प्रोत्साहन गर्नुपर्ने छ। यस्तै औसत कर्मकाण्ड मात्रै गर्ने हो भने यो फोरम राजनीतिबाट सन्न्यास लिँदै गरेका बुढापाका नेताको मनको बह बिसाउने चौतारी र काल पर्खिने मेसो मात्र हुने छ। यस्तै खालको मोर्चा आजको हाम्रो राष्ट्रिय राजनीतिको कुनै पनि खालको आवश्यकताभित्र पर्दैन।

चुनाव केन्द्रित

पछिल्लो समय हाम्रो राजनीति प्रायः चुनाव केन्द्रित मात्र भइरहेको छ। यस्तो राजनीतिले चुनावदेखि चुनावसम्म मात्र घुमाइरहन्छ। यो चुनावी स्वार्थको अनन्त दुष्चक्रमा फसिरहेको छ। नेपालका प्रत्येक पाटी, नेता र कार्यकर्ता चुनावी दाउअनुकूल प्रतिकूल बनाउने रणनीति भन्दा बाहिर देखिँदैन। सबैको औसत निहित उद्देश्य एउटै छ तर चुनाव केन्द्रित राजनीतिले एक–दुई वटा चुनाव त जितिएला। सरकार पनि बनाइएला। पद, पावर र प्रतिष्ठा पनि पाइएला। चुनावमा नेपाल, नेपाली समाज र जनताले खोजेको समाधान पाउन सकिन्न। चुनावदेखि चुनावसम्मको फेरो समातेर समस्याको समाधान नहुने पक्कापक्की छ। चुनावको इतिहास लामो छ। यस्तो वस्तुगत धरातलमा भर्खरै गठन भएको मोर्चा पनि २०८४ सालको चुनाव लक्षित मात्र नहोला भन्न सकिन्न। आगामी आम चुनावमा यो वा त्यो पार्टीलाई साइजमा ल्याएर सरकार गठन र विघटनको प्रक्रियामा मात्र सीमित गर्ने हो भने यो समाजवादी मोर्चाको कुनै औचित्य बाँच्दैन। विचार र दृष्टिकोणमा सहमत नभई केवल औसत प्राविधिक र व्यावहारिक पक्ष मात्र मिलाएर हतारमा बनाइएको पार्टी, सङ्गठन वा मोर्चा लामो समय टिक्दैन। यो सङ्गठन निर्माण र स्थायित्वको सार्वभौमिक द्वन्द्वात्मकता हो। यसमा सरोकारवाला असाध्यै गम्भीर बन्न जरुरी छ। 

निष्कर्ष

त्यसैले समाजवादी मोर्चा समाजवादी आन्दोलनको अग्रदस्ता बन्नु पर्छ। राजनीतिक अगुवा र पहलकर्ता हुनु पर्छ। सम्पूर्ण समाजवादी विचार र भावनाको छाता सङ्गठन बन्नु पर्छ। गैर–समाजवादी भन्दा विचार र व्यवहार दुवैमा नितान्त भिन्न हुनु पर्छ। यसले नेपाली समाजमा समाजवादको आवश्यकता र औचित्य पुष्टि गर्नु पर्छ। समाजवादी राजनीतिक मिसनको उद्देश्यलाई पकड्नु पर्छ। यो समाजवादको कार्यदिशागत, कार्यक्रमगत र कार्ययोजनागत खाकाको अङ्ग बन्नु पर्छ। समाजको गतिशील र परिवर्तनशील ऐतिहासिक सार्वभौम आयामको पथप्रदर्शक बन्नु पर्छ तर त्यसो नगरी यो मोर्चा केवल ०८४ सालको चुनाव, कुनै अमुक पार्टी वा नेतालाई साइजमा ल्याउन र औसत संसदीय ढर्रा र ढोँगकै लागि मात्र बनाइएको हो भने त्यो केवल वृद्धाश्रम जस्तो मात्र हुने छ। हामीलाई समाजवादमा सङ्क्रमण गराउने समाजवादी मोर्चाबाहेक अरू अन्टसन्ट मोर्चा चाहिएको छैन। सरोकारवालालाई चेतना होस्! 

लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ।

   

Author

राजेन्द्र किराती