• १६ चैत २०८०, शुक्रबार

गलैँचा निर्यात घट्ने चिन्ता

blog

काठमाडौँ, असार १४ गते । गलैँचामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) ले निर्यातमा ३० प्रतिशतसम्म गिरावट आउने व्यवसायीले अनुमान गरेका छन् ।  

नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर गलैँचा उद्योगमा पाउँदै आएको भ्याट छुट हटाउँदा गलैँचाको उत्पादन लागत महँगो भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेर निर्यातमा गिरावट आउने बताएको हो । 

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा समेत पाउँदै आएको छुट हटाएको छ । २०५४ सालमा मूल्य अभिवृद्धि कर लागु भएदेखि गलैँचा उद्योगले भ्याट छुट प्राप्त गर्दै आएकोमा आगामी आवको बजेटमार्फत मूल्य अभिवृद्धि कर ऐन २०५२ संशोधन गर्दै सरकारले यो उद्योगलाई उक्त सूचीबाट हटाएको छ । भ्याट सुविधा हटाउँदा दुई लाखभन्दा बढी श्रमिक आबद्ध भएको गलैँचा उद्योग नै सङ्कटमा पर्ने भन्दै व्यवसायीले छुट सुविधा कायम राख्न माग गरेका छन् ।

नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष तेन्जिङ शेर्पाले भ्याट सुविधा हटाउँदा गलैँचाको लागत उत्पादन महँगो भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने बताउनुभयो । वार्षिक गलैँचा निर्यात ३० देखि ३५ प्रतिशतले बढ्दै गएको छ, यसले व्यापार घाटा कम गर्नुका साथै विदेशी मुद्रा सञ्चितिमा ठुलो सहयोग पु¥याएकोमा भ्याट सुविधा हटाउँदा निर्यातमा स्वतः गिरावट आउने छ । 

भ्याटका कारण गलैँचाको मूल्य वृद्धि हुँदा त्यसको प्रभाव निर्यात र रोजगारीमा पर्ने भएकाले गलैँचामा पाउँदै आएको सुविधा कायम राख्न उहाँले माग गर्नुभयो । गलैँचा उद्योग लघु, घरेलु तथा साना उद्योग गरी नेपालभर साना साना एकाइमा देशभर छरिएर रहेकाले पनि गलैँचा उद्योगको उत्पादन स्रोतलाई भ्याटमा ल्याउन अव्यावहारिक रहेको उहाँको भनाइ छ । भ्याट सुविधा हट्दा १२ अर्ब लगानी रहेको दुई सय गलैँचा उद्योग सङ्कटमा परी रोजगारीमा समेत असर पुग्ने उहाँको भनाइ छ । 

उच्च मूल्य अभिवृद्धि र स्वदेशी जनशक्ति प्रयोग हुने हुँदा भ्याट र आयकरमा गलैँचा उद्योगले छुटको सुविधा पाएको थियो । आयकरमा पाउँदै आएको छुट सुविधा हटाउँदा गलैँचा उद्योगलाई असर पुग्ने बताउनुभयो । भ्याटमा दर्ता नभएका घरेलु तथा साना उद्योग यही कारण बन्द हुनुपर्ने अवस्थामा पुग्ने उहाँको भनाइ छ । 

सङ्घका महासचिव बलराम गुरुङले गलैँचा उद्योगमा राज्यको पहुँचमा नपुग्ने मजदुरले रोजगारी पाएकाले भ्याट लगाउँदा निर्यात कम भई उत्पादन कम हुँदा रोजगारीसमेत गुम्ने जानकारी दिनुभयो । नेपाली गलैँचा उच्च गुणस्तरको भएकाले पनि युरोप र अमेरिकामा यसको माग बढ्दै गएको जानकारी दिनुभयो । 

गलैँचा उद्योगमा अहिले पनि ५० प्रतिशतभन्दा बढी व्यवसायी घरेलु तथा साना उद्योग अन्तर्गतका उपत्यकाबाहिरका विभिन्न ग्रामीण भेगमा रहेर गलैँचा उत्पादनसम्बन्धी काम गर्दै आएका व्यवसायीको भनाइ छ । कोभिडका कारण निर्यातमा सामान्य कमी आए पनि त्यसपछिका वर्षमा निर्यात बढ्दै गएको व्यवसायीको भनाइ छ । सरकारले व्यवस्था गरेको छुट सुविधा र सहुलियतका कारण गलैँचा निर्यात वृद्धि हुँदै गएको व्यवसायीको 

भनाइ छ ।  आव २०७८/७९ मा गलैँचा निर्यात १३ प्रतिशतले वृद्धि भई १० अर्ब ६२ करोड २६ लाख ८९ हजार रुपियाँको निर्यात भएको थियो । 

यस्तै आव २०७७/७८ मा  सात अर्ब ९७ करोड ६९ लाख ५३ हजार रुपियाँको गलैँचा निर्यात भएको थियो । युरोप र अमेरिकामा गलैँचा निर्यात हुने गर्छ । ५० प्रतिशत गलैँचा अमेरिकामा मात्र निर्यात हुने गरेको छ । कच्चा पदार्थको लागत तथा ढुवानी र श्रमिकको ज्यालादर महँगो भएका कारण अहिले नेपाली गलैँचा उद्योग भारत तथा पाकिस्तानको बजारभन्दा करिब ३० प्रतिशत महँगो लागतमा उत्पादन भइरहेको जानकारी दिनुभयो । 

भूपरिवेष्टित र अति कम विकसित राष्ट्र भएका कारण नेपाली गलैँचाले कर छुट प्राप्त गरेकाले अहिले विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिरहेको छ । यस्तो अवस्थामा भ्याट र आयकर छुट खारेजीले ठूलो असर गर्न सक्ने व्यवसायीको भनाइ छ ।