• ८ वैशाख २०८१, शनिबार

नागरिकता बनाउनेको घुइँचो

blog

महोत्तरी समाचारदाता

महोत्तरी, असार १४ गते । जन्मका आधारमा नागरिकता लिएकाहरूको सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरु भएपछि महोत्तरी जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड बढेको छ। 

जन्मसिद्ध नागरिकका सन्तान अहिले नागरिकताका लागि आउन थालेपछि महोत्तरीको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा दैनिक भिड बढेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो। लामो समयको प्रतिक्षाबाट नागरिकता पाउने भएपछि प्रशासनमा भिड बढेको उहाँले उल्लेख गर्नुभयो। 

नागरिकता ऐन बमोजिम चार दिनयता वंशजको आधारमा २५३ जनाले नागरिकता लिएको जानकारी दिँदै सहायक प्रजिअ न्यौपानेले भन्नुभयो, “पहिलो दिन जिल्लामा दुई जनाले नागरिकता लिएकोमा अहिले भिड बढेको छ, सम्पूर्ण कागजात हेरेर कानुनका आधारमा सहजतापूर्वक नागरिकता वितरण गरिरहेका छौँ।” केही दिन कागजपत्रबारे जानकारी लिन र सो कागजपत्र जुटाउन लाग्ने बताउँदै उहाँले यो भिड अझै बढन सक्ने उहाँले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय जलेश्वर, इलाका प्रशासन कार्यालय बर्दिबास, रामगोपालपुर र गौशाला गरी चार ठाउँबाट नागरिकता वितरण भइरहेको छ। चार दिनयता जिल्ला प्रशासन कार्यालय जलेश्वरबाट ८२, इलाका प्रशासन कार्यालय बर्दिबासबाट ६५, इलाका प्रशासन कार्यालय गौशालाबाट १०४ र इलाका प्रशासन कार्यालय रामगोपालपुरबाट दुई जनाले वंशजको आधारमा नागरिकता लिएको बताइएको छ। 

जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पहिलो दिन नै नागरिकता लिनुभएका जलेश्वर नगरपालिका–१ का ब्राइट चौधरीले आफू दुई वर्षदेखि नागरिकताका लागि सङ्घर्ष गर्दै आइरहेको बताउँदै नागरिकता पाएपछि खुसी व्यक्त गर्नुभयो। बुवाको जन्मसिद्ध नागरिकता र आमाको वंशजको नागरिकता भए पनि दुई वर्षदेखि नागरिकता पाउन नसकेको बताउँदै उहाँले कागजपत्र दुरुस्त गरेर पेस गरेकाले पहिलो दिन नै नागरिकता लिन सफल भएको बताउनुभयो। 

नागरिकताको विषयमा आवाज उठाउँदै आउनुभएका राज्यविहिन मधेशी युवा सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष अर्जुन साहले जिल्लामा आठ हजारभन्दा बढी नागरिक नागरिकता अभावमा अनागरिक बन्नुपरेको बताउनुभयो।