• १५ चैत २०८०, बिहिबार

सरकारी विद्यालयमा विद्यार्थीको बढ्दो आकर्षण

blog

वडिमालिका मावि रास्कोटमा विद्यालय पोशाकसहितका बिद्यार्थी । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, असार १३ गते । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दैगएको छ । कुनै बेला सरकारी विद्यालयभन्दा संस्थागत विद्यालय अर्थात् बोर्डिङ स्कुलमा बढ्दैगएको आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा केन्द्रित भएको पाइएको हो । 

सरकारी नीति र गैरसरकारी सङ्घ संस्थाले विभिन्न सचेतनामूलक अभियान सञ्चालनसँगै सहयोग गर्न थालेपछि विद्यार्थीको आकर्षण सरकारी विद्यालयमा बढेको छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा परियोजनाले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गर्न काम गरिरहेको छ । 

विद्यालय बाहिर रहेका बालबालिकालाई विभिन्न सहयोगमार्फत विद्यालयमा भर्ना गर्न थालेपछि सरकारी विद्यालयको विद्यार्थी अनुपातमा वृद्धि भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका, सन्नित्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका विद्यालयमा विद्यार्थी भर्ना गर्न परियोजनाले काम गरिरहेको छ । 

नरहरिनाथ गाउँपालिका –३ को रामा मावि र रास्कोट नगरपालिकाको बडिमालिका माविले विद्यालयमा विद्यार्थीको आकर्षण बढाएको छ । बडिमालिका मावि रास्कोटले विद्यार्थी भर्नाका लागि घरदैलो गरेको छ । प्रधानाध्यापक पुष्पराज बरालले गइसकेको सहयोग र आफ्नो योजनाले विद्यार्थी सङ्ख्या पहिलेभन्दा २० प्रतिसतले वृद्धि भएको बताउनुभयो ।  

समुदायमा सञ्चालित उक्त आयोजनाको सचेतना अभियानबाट विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गरिएको छ । अहिले अभिभावक आफैँले पनि आफ्ना छोराछोरीलाई विद्यालयमा भर्ना गर्न थालेका छन् । यस शैक्षिक वर्षमा कमजोर आर्थिक अवस्था र घरायसी कामको बोझका कारण विद्यालय बाहिर भएका २१ बालबालिका; नरहरिनाथ गाउँपालिका र रास्कोट नगरपालिकाबाट सर्वसाधारण बालबालिकाको तुलनामा विद्यालय जाने उमेर नाघेका भए पनि विद्यालयमा भर्ना भएका छन् ।

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क भर्नादेखि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति र दिवाखाजा उपलब्ध गराउन विभिन्न कार्यक्रम ल्याएको छ । सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ कार्यान्वयन गरी माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने र सबैका लागि शिक्षामा पहुँच सुनिश्चित गर्ने नीतिले पनि विद्यार्थीको सरकारी विद्यालयमा रुचि बढेको देखिन्छ  ।

बडिमालीका मावि रास्कोटमा छिमेकी जिल्ला दैलेख र सुर्खेतबाट विद्यार्थी पढ्न आउने गरेका छन् । विद्यालयका प्रअ बरालले यसपालिदेखि अङ्ग्रेजी माध्यमबाट पनि पढाउन थालेको सुनाउनुभयो । गुणस्तरीय शिक्षाको चेतना, अभिभावकको शिक्षा र अभिभावकको संलग्नताले नियमित कक्षाकोठा सत्रहरूसँगै विद्यार्थीहरूको आकर्षण बढाउन मद्दत भएकाले यसतर्फ पनि ध्यान दिन थालिएको छ ।