सञ्चालनमा आएन आइसोलेसन वार्ड

सरोज ढुङ्गेल 

काठमाडौंँ,  वैशाख ७ गते । सरुवा रोगसम्बन्धी देशको एकमात्र केन्द्रीय अस्पताल शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा रोग सर्न सक्ने उच्च जोखिम भएका बिरामीका लागि स्थापना गरिएको ‘आइसोलेसन वार्ड’ अझै सञ्चालनमा आउन सकेको छैन ।  सन् २००८ मा स्थापना भएको उक्त वार्ड हालसम्म पनि सञ्चालनमा नआउँदा गम्भीर प्रकृतिका सरुवा रोग लागेका बिरामीको उपचारमा समस्या भएको छ । यसअघि नेपालमा आइसोलेसन वार्ड नहुँदा अफ्रिकी मुलुकबाट आएका इबोला सङ्क्रमित बिरामीलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको थियो ।
टेकु अस्पतालमा आइसोलेसन वार्ड सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति र भौतिक संरचनाको अभाव भएको अस्पतालको भनाइ छ ।
अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले स्वास्थ्य मन्त्रालयले बेवास्ता गर्दा आइसोलेसन वार्ड सञ्चालन कठिन भएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले आइसोलेसन वार्ड सञ्चालन गर्न आवश्यक पर्ने स्वास्थ्यकर्मी र उपकरणको व्यवस्था गर्न नसक्दा सञ्चालनमा ल्याउन नसकिएको बताउनुभयो ।
निर्देशक डा. पाण्डेले भन्नुभयो, “हेफाफिल्टर (हावा फिल्टर गर्ने यन्त्र) र कर्मचारीको व्यवस्था हुने वित्तिकै सञ्चालनमा आउँछ ।” उहाँले नेपालको एकमात्र आइसोलेसन वार्ड सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक–पटक ताकेता गर्दा पनि मन्त्रालयले वास्ता नगरेको गुनासो गर्नुभयो । उहाँले वार्डलाई व्यवस्थित गर्न एक करोड रुपियाँ लाग्ने जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले अस्पताल नेतृत्वको कमजोरीले आइसोलेसन वार्ड सुरु हुन नसकेको बताउनुभयो । अस्पतालले मागेजति उपकरण र जनशक्तिको व्यवस्था मन्त्रालयबाट गरिएको बताउनुभयो । केन्द्रीय सरुवा रोग अस्पताल भएकाले मन्त्रालयको प्राथमिकतामा पर्छ, प्रवक्ता श्रेष्ठले भन्नुभयो,“आफूले केही गर्न नसकेपछि मन्त्रालयलाई दोष दिनु उचित होइन ।”
सरुवा रोग अस्पताल कुकुरले टोकेका बिरामी, झाडापखाला , रुघाखोकीका बिरामीको उपचार गर्न मात्र सीमित भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले सरुवा रोग अस्पतालमा आइसोलेसन वार्ड हुनु जरुरी रहेको भन्दै अझै पनि सुचारु गर्न नसक्नु मन्त्रालयको कमजोरी भएको बताउनुभयो । डा.वास्तोलाले सरुवा रोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा नसरोस् भन्ने उद्देश्यले वार्डको स्थापना भएको बताउनुभयो ।
डा. बास्तोलाले फोक्सोको क्षयरोग भएका व्यक्ति, ठेउलाका बिरामी, इन्फ्लुएञ्जा, लहरेखोकी, भ्यागुते रोग, दादुरा, इबोला, जिका भाइरस लगायतका रोगमा आइसोलेसन वार्डको आवश्यकता पर्ने बताउनुभयो ।
अस्पतालका निर्देशक पाण्डेले आइसोलेसन वार्ड नहुँदा वार्डमा राख्नुपर्ने विरामीलाई फर्काउनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सरुवा रोग लागेका अत्यन्त सङ्क्रमित विरामीलाई छुट्टै राखेर उपचार गर्न आइसोलेसन वार्ड आवश्यक पर्ने जानकारी दिनुभयो । डा. पाण्डेकाअनुसार कुनै एक व्यक्तिमा लागेको सरुवा रोग अर्काे व्यक्तिमा नसर्ने अवस्था नबनेसम्म त्यस्ता बिरामीलाई आइसोलेसन वार्डमा राख्नुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds