• १३ वैशाख २०८१, बिहिबार

नागरिकता पाउँदा परिवारमा खुसी

blog

जिल्ला प्रशासन कार्यालय तनहुँ ।

अमरराज नहर्की
तनहुँ, असार १३ गते । 
सर्वोच्च अदालतले नागरिकतासम्बन्धी कानुन कार्यान्वयन गर्न बाटो खोलेपछि नागरिकता पाउने परिवारमा खुसी छाएको छ । नागरिकता बनाउने उमेर पुगेपनि बनाउन नपाएका यहाँ बसोबास गर्ने परिवारलाई खुसी दिलाएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारले ल्याएको ऐन कार्यान्वयनमा ल्याएसँगै खुसी भएका हुन् । ऐन कार्यान्वयनमा आएसँगै तनहुँमा पाँच जनाले नागरिकता पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँबाट शुक्लगण्डकी नगरपालिका–५ का दुई जनाले र  भिमाद नगरपालिका–६ का तीन जनाले नागरिकता पाउनु भएको हो । शुक्लागण्डकीका आर्जु खातुन र सहिल अलिले नागरिकता पाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।  

खातुनको वीरगञ्ज महानगरपालिका–२ मा २०५४ साल चैत्र १५ गते र अलिको सोही ठाउँमा २०५६ साल चैत्र १७ गते जन्म मिति रहेको र उहाँहरू दुवै जनाले वंशजको आधारमा नागरिकता प्राप्त गर्नु भएको गैरेले बताउनुभयो ।

यसैगरी भिमादमा एकै परिवार तीन जनाले नागरिकता प्राप्त गर्नु भएको छ । आइतबार नागरिकता पाउनेहरूमा भिमाद नगरपालिका–६ निवासी परी गुप्ता रौनियार, अनमोल गुप्ता रौनियार र नेहाल गुप्ता रौनियारले नागरिकता प्राप्त गर्नु भएको छ । उहाँहरू सबै एकै परिवारको र वीरगन्ज महानगरपालिका –१७ मा जन्म भएको गैरेले जानकारी दिनुभयो ।

परी गुप्ताको जन्ममिति २०६३ साल असोज ९ गते, अनमोलको २०६१ साल भदौ २१ गते, नहालको जन्ममिति २०६० असार १६ गते रहेको सहायक प्रजिअ गैरेले बताउनुभयो । गैरेका अनुसार भिमादको तीन र शुक्लागण्डकी दुई गरी पाँच जनाले नै वंशजको आधारमा नागरिकता प्राप्त गर्नु भएको हो । जन्मका आधारमा नागरिकता लिन १४ किसिमका कागजात आवश्यक पर्छ ।

नागरिकता प्राप्त गर्ने परिवारमा खुसीयाली छाएको छ । नागरिकता पाएपछि आफ्नो परिवारलाई खुसी दिलाएको शुक्लागण्डकी–५ की आर्जु खातुनले बताउनुभयो । नागरिकता नहुँदा जागिर खान समस्या परेको उहाँको गुनासो थियो ।

खातुन भन्नुहुन्छ, ‘‘नागरिकता पाउने सपना पूरा भएको छ, धन्यवाद सरकार ।’’ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नागरिकता प्राप्त गर्ने परिवारहरू हर्षित भएको बताउनुभयो । रिजालले भन्नुभयो, ‘‘प्रक्रिया पूरा गरेर ल्याउनु भयो तुरुन्त नागरिकता पाउनुभयो, उहाँहरूले मौलिक अधिकार पाउँदा खुसीले उत्साहित भएको पायौँ ।’’

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फारम भर्नुपर्छ । यस्तै, बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा तथा नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपि, बाबु र आमाको मतदाता परिचयपत्रको प्रतिलिपि, स्थानीय तहबाट स्थानीय बसोबास प्रमाणित किटानी सिफारिसको प्रतिलिपिलगायतका कागजात आवश्यक पर्ने प्रशासनले जनाएको छ ।