• ११ वैशाख २०८१, मङ्गलबार

मदन भण्डारी कलेजमा स्वास्थ्य शिविर

blog

काठमाडौँ,  असार  १३ गते । मदन भण्डारी मेमोरियल कलेजले २२औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीसँगै सो कलेजको पनि स्थापना दिवस मनाइँदैछ ।

कलेजले लायन्स क्लब अफ काठमाडौँ र समाज डेन्टल हस्पिटलको सहकार्यमा मङ्गलबार आँखा, दन्त तथा मधुमेहको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । यसका साथै रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ ।

शिविरमा एक सय ३८ जना दाँतका, एक सय ७९ आँखाका र २१ जना मधुमेहका बिरामीले लाभ लिएको कलेजका समाज कल्याण समितिका संयोजक तथा समाजशास्त्र विभागका प्रमुख सुजित मैनालीले जानकारी दिनुभयो । यसैगरी सो स्वास्थ्य शिविरमा करिब चालिस दाताले रक्तदान गरेका थिए ।

मैनालीका अनुसार कलेजका विद्यार्थी, शिक्षक, कलेज परिवारका सदस्यका साथै काठमाडौँ महानगर–१० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन् । समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्न मदन भण्डारी कलेज सदा क्रियाशील रहिआएको र यो यसै सिलसिलाको एउटा गतिविधि भएको कलेजका सहायक क्याम्पस प्रमुख कमल न्यौपानेले बताउनुभयो । यही असार १४ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कलेजको २२औँ वार्षिकोत्सवको मुख्य कार्यक्रम हुँदैछ । रासस