• १२ वैशाख २०८१, बुधबार

मैवाखोलाका पहिरो पीडितलाई राहत सामग्री वितरण

blog

मैवाखोला गाउँपालिकाले वितरण गरेको राहत सामग्री बुझ्दै पहिरोपीडित परिवार । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, असार १३ गते । 
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बाढीपहिरोबाट पीडित भएका परिवारलाई राहत सामग्री वितरण गरेको छ । पालिकाभित्रका बाढीपहिरो पीडित ६१ परिवारलाई गाउँपालिकाले राहत सामग्री वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनलगायतले पहिरो प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गर्नुभएको हो ।

गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङकाअनुसार राहतअन्तर्गत प्रतिपरिवार २५ किलोग्राम चामल, दुई किलोग्राम दाल, खानेतेल, नुनलगायतका खाद्यान्न सामग्री वितरण गरिएको छ ।

अघिल्लो साताको शनिबार भीषण वर्षासँगै गएको बाढीपहिरोबाट मैवाखोला गाउँपालिकामा उक्त परिवारहरू विस्थापित तथा प्रभावित भएका हुन् । अधिकांशको घर तथा आवासस्थल जोखिममा रहेको साथै केही परिवारको घरमै क्षति पुगेका कारण हाल बाढीपहिरोबाट प्रभावित भएका परिवारको दैनिकी निक्कै समस्यामा रहेको बताइएको छ ।