• १६ चैत २०८०, शुक्रबार

धनगढी बजारको मुख्य सडक स्तरोन्नति गरिँदै

blog

अविनाश चौधरी 

धनगढी, असार १३ गते । कैलालीको धनगढी बजार क्षेत्रको मुख्य सडकको स्तरोन्नति गरिँदै छ। सुदूरपश्चिम प्रदेश सरकारको ५१ करोड ६८ लाख ७८ हजार रुपियाँ लागतमा सो सडक स्तरोन्नति गर्न लागिएको हो। 

यो सडक फराकिलो बनाउन सडक अधिकार क्षेत्रमा परेको संरचना गत मङ्सिरबाट भत्काउन थालिएको हो। कैलाली पुलदेखि हुलाकी सडकको जिरो प्वाइन्टसम्म सडक स्तरोन्नतिका लागि कुल ४२८ घर भत्काइएको धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ। घर भत्काउने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गरेको छ। २.३ किलोमिटरसम्म सडक फराकिलो बनाउनका लागि गत वैशाख २७ गते केएस कन्स्ट्रक्सन प्रालि, धनगढीले ठेक्का पाएको हो। सडक निर्माणको समयावधि दुई वर्षको छ।

पूर्वाधार विकास कार्यालय, धनगढीमार्फत बन्ने सडकको काम २०८२ साल वैशाख २६ भित्र सम्पन्न गर्नुपर्ने छ। ३० मिटर फराकिलो बन्ने सडकको बिच भागबाट दुवैतिर १५/१५ मिटरसम्म बढाइएको छ। यो सडक स्तरोन्नतिका लागि सुदूरपश्चिम प्रदेशको अघिल्लो सरकारले बजेट विनियोजन गरेर प्रक्रिया अगाडि बढाएको थियो।

सडक स्तरोन्नतिका लागि मङ्गलबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले शिलान्यास गर्नुभयो। सो क्रममा उहाँले निर्माण व्यवसायीले तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएकाले समयमै काम सकिनेमा विश्वस्त रहेको बताउनुभयो।

आधुनिक सडक बनाउनका लागि घरधनीहरूले आफ्नो घर आफैँ भत्काएर सहयोग गरेकामा उहाँहरूलाई मन्त्रीले धन्यवाद ज्ञापन गर्नुभयो। यो सडक निर्माणले धनगढीलाई आधुनिक सहर बनाउन सहयोग पुग्ने दाबी उहाँको थियो। 

“हामी तीनै तहका जनप्रतिनिधिले धनगढीलाई आधुनिक सहर बनाउने भनेका छौँ,” मन्त्री देउवाले भन्नुभयो, “छ लेन सडक बनिसकेको छ। बजार क्षेत्रको सडक बनेपछि धनगढीको सौन्दर्य बढ्ने छ।” यो सडकसँगै धनगढी उपमहानगरपालिकाभित्र बन्ने प्रदेशका योजनामा परेका सबै सडक समयमै बन्न सक्ने गरी प्रदेश सरकारले बजेट विनियोजन गरेको उहाँको भनाइ थियो। 

धनगढीभित्रका रणनीतिक महत्त्वका सडकहरू पहिचान गरेर प्रदेश सरकारले बजेट विनियोजन गरेकाले आगामी पाँच वर्षभित्र आधुनिक धनगढी बनाउने मन्त्री देउवाले उल्लेख गर्नुभयो। 

यसै गरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले सडक निर्माणमा प्रदेश सरकारको मुख्य भूमिका रहने गरी अस्थायी राजधानी धनगढी सहर सुन्दर बनेमा सकारात्मक सन्देश जाने बताउनुभयो। धनगढी बजार अन्तर्गतको मुख्य सडक अन्यतिर फराकिलो बनाइए पनि कैलाली पुलदेखि हुलाकी सडक जिरो प्वाइन्टसम्म सो कार्य अवरुद्ध भएको थियो। सडक अधिकार क्षेत्रमा पर्ने धेरै संरचना भत्काउनुपर्ने भएपछि यसअघि क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत काम अगाडि बढ्न सकेन। 

सो आयोजनाले यो क्षेत्रबाटै हात झिकेपछि स्थानीय सरकारको आग्रहमा प्रदेश सरकारले बजेटको व्यवस्था गरेको हो। ‘हाम्रो धनगढी हामी नै बनाउँछौँ’ भन्ने नाराका साथ धनगढी उपमहानगरपालिकाको नेतृत्व सम्हालेलगत्तै नगर प्रमुख गोपाल हमालले संरचना भत्काउने कार्यलाई अगाडि बढाउनुभएको थियो।