• ४ वैशाख २०८१, मङ्गलबार

विद्यालयमा प्राथमिक उपचार कक्ष

blog

सिद्धबाबा माध्यमिक विद्यालय सञ्चालनमा ल्याएको प्राथमिक उपचार कक्ष । तस्बिर :रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, असार १३ गते । 
गुल्मीको सदरमुकाम तम्घासमा रहेको एक सामुदायिक विद्यालयले प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएको छ । रेसुङ्गा नगपालिका –८ खानीगाउँमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यसै शैक्षिक सत्रदेखि हप्तामा एक पटक चिकित्सक र दैनिक नर्सको व्यवस्था गरी प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएको हो ।

बालबालिकाहरूको स्वास्थ्यलाई ख्याल राख्दै शिक्षण सिकाइलाई प्रभावकारी बनाउने अभिप्रायले विद्यालयमा प्राथमिक उपचारको व्यवस्था गरिएको छ । सानोतिनो बिरामीका कारण बालबालिकाको सिकाइमा असर नपुगोस् भन्ने मुख्य अभिप्रायका साथ विद्यालयले प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएको प्रधानाध्यापक डोरविक्रम श्रीसले बताउनुभयो ।

प्राथमिक उपचार कक्षमा नियमित रूपमा एक जना मेडिकल पर्सन आउनुहुन्छ । हप्ताको एक पटक तम्घासमा रहेको शुभलक्ष्मी क्लिनिकबाट बिरामी जाँचका लागि चिकित्सकको  व्यवस्थापनसँगै प्राविधिक सहयोग भएको उल्लेख गर्नुहुँदै प्रधानाध्यापक श्रीसले आवश्यक खर्चको व्यवस्थापन विद्यालयको आन्तरिक स्रोतबाट गरिएको बताउनुभयो ।

उपचार कक्षमा आवश्यक औषधि, स्ट्रेचर, वट मेसिन, बिरामी सिट बेल्ट, वासिङ मेसिन, ट्रे, बेट लकरसहित रोगबाट बच्नका लागि जानकारी मूलक पोस्टहरूको समेत प्रबन्ध मिलाइएको छ । विद्यालयमा प्राथमिक कक्षको स्थापनाले विद्यार्थीसँगै अभिभावकहरू समेत खुसी भएको अभिभावक चन्द्रबहादुर जिसिले बताउनुभयो । उहाँले विद्यालयमा सामान्य, घाउ, चोटपटक लाग्दा विद्यालयमै प्राथमिक उपचार हुने भएकाले समयको बचतसँगै बालबालिकाको शिक्षण सिकाइ समेत प्रभावकारी बन्ने बताउनुभयो ।

विद्यार्थी भावना थापाले विद्यालयमा स्थापना भएको प्राथमिक उपचार कक्षबाट विद्यार्थीहरू खुसी भएको भन्दै सामान्य उपचारका लागि बाहिर जान नपरेपछि अध्ययनलाई निरन्तरता दिन पनि सजिलो भएको बताउनुभयो । विद्यालय सञ्चालन समयमा स्वास्थ्य सेवा उपलब्ध तथा प्रत्येक हप्ता चिकित्सक एवम् स्वास्थ्यकर्मीको उपस्थितिमा विभिन्न खालका सर्ने तथा नसर्ने रोग सम्बन्धी जाँच तथा उपचार साथै अभिमुखीकरण गरिएको छ ।