• १६ चैत २०८०, शुक्रबार

विमानस्थल प्रवेशमा कडाइ

blog

काठमाडौँ, असार १३ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एक जना यात्रुको बिदाइ वा स्वागतमा तीन जना मात्रै जान पाइने भएको छ । विमानस्थलको टर्मिनल भवनबाहिर अत्यधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । 

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सम्भावित हवाई सुरक्षा जोखिमलाई ध्यानमा राखी विमानस्थल सुरक्षा समितिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।

उहाँले भन्नुभयो, “विमानस्थल परिसरमा अत्यधिक भिड हुँदा भिड व्यवस्थापनमा कठिनाइ, ट्राफिक व्यवस्थापन तथा चोरी नियन्त्रणमा कठिनाइ भएपछि यस्तो निर्णय गरिएको हो । विमानस्थल सुरक्षा समितिले भिडभाड बढी हुँदा पछिल्ला केही महिनायता विमानस्थल परिसर (वाटर फाउन्टेन क्षेत्र) मा दुर्घटना पनि बढेकोलगायतका कारणले उक्त निर्णय गरिएको हो ।”

विदेशबाट आउने यात्रुको हकमा आइएमएस ग्रुपले सञ्चालन गरिरहेको एराइभल टर्मिनल परिसरमा आवतजावतमा समस्या नहुने उहाँले बताउनुभयो । बिदेसिने यात्रुको हकमा मङ्गलबारदेखि नै विमानस्थल प्रदेशसँगैको गोल्डेन गेटमा प्रहरीले टिकट चेकजाँच गरेर एक जनालाई पठाउन तीन जनालाई प्रवेश गराउन थालिएको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भिड हुने गरेको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको भिड लाग्छ । अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायु सेवाप्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० वायु सेवाप्रदायकले उडान भरिरहेका छन् ।

प्रवक्ता सिटौलाका अनुसार हाल आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २४० उडान तथा अवतरण हुँदै आएको छ । त्यसै गरी अन्तर्राष्ट्रियतर्फ दैनिक ८५ उडान तथा अवतरण हुँदै आएका छन् । दुवैतर्फ गरेर दैनिक दुई हजार पाँच सय यात्रुले ओहोरदोहोर गर्दै आएको उहाँले बताउनुभयो ।