• १२ वैशाख २०८१, बुधबार

विवादले रोकियो अस्पताल निर्माण

blog

दोलखा समाचारदाता 

दोलखा, असार १३ गते । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले नेपाल सरकारले पाँचदेखि १५ शय्याको अस्पताल बनाउने लक्ष्य अनुसार दोलखाको बिगु गाउँपालिका–५ मा सुरु भएको अस्पताल भवन निर्माणको काम अघि बढ्न सकेको छैन। 

निर्माण कम्पनी र पालिकाबिच सामान्य विवाद भई अस्पताल भवन निर्माणको काम अघि बढ्न नसकेको निर्माण कम्पनीका साइड इन्चार्ज किरण तामाङले जानकारी  दिनुभयो। उहाँका अनुसार १५ शय्याका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) २७ करोड रुपियाँको बनेको छ। सङ्घ र पालिकाको साझेदार कार्यक्रम भएकाले पालिकाको आधार बजेट हुनुपर्ने हो तर पालिकाले निर्माणको काम घटाएर सङ्घको १८ करोड रुपियाँको मात्र टेन्डर निकालेको थियो। सुनकोशी त्रिवेणी जेभीले १४ करोड रुपियाँमा उक्त भवन निर्माणको सम्झौता गरेको हो। एक करोड ६८ लाख रुपियाँ बराबरको काम पनि भइसकेको छ। 

गत २०७७ र २०७८ सालको कोरोनाले निर्माणमा असर पा-यो। २०७९ सालमा काम तीव्र गतिमा भयो। साइड इन्चार्ज तामाङले भन्नुभयो, “दुई वर्ष काम गर्न नपाउँदा ४८ लाख रुपियाँको मूल्यवृद्धि भएको छ। निर्माणको काम घटाएकाले संरचना बिमा हुन पाएन। साइडमाथिबाट पहिरो आएको छ। पहिरो संरक्षण नहुन्जेल बिमा नहुने भयो। रनिङ बिल पनि आएको छैन। पालिकाले पहिरो हटाएर वाल नलगाइदिँदा काम अघि बढ्न नसकेको हो। सुरक्षित वाल नलगाइदिँदा सडक, मन्दिर जोखिममा छ। यिनै कारणले निर्माण अघि बढ्न नसकेको हो।” पालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले भन्नुभयो, “निर्माण कम्पनीले कबोल गरे अनुसार काम गर्नु पर्छ। २०८० साल असारसम्म म्याद रहेकाले हामीले केही भनेका छैनौँ। बिल पेस गरेको पनि छैन। आएको बजेट छँदै छ। काम नगर्ने बहाना हो कि जस्तो देखिएको छ।”