• १३ वैशाख २०८१, बिहिबार

उपराष्ट्रपतिद्वारा अग्रज स्रष्टालाई सम्मान

blog

काठमाडौँ, असार १३ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रका अग्रज स्रष्टाहरूलाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ प्रदान गर्नुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा समर्पण गरिएको पुरस्कार काठमाडौँ लैनचौरस्थित उपराष्ट्रपति भवनमा मङ्गलबार आयोजित समारोहमा छ जना स्रष्टालाई प्रदान गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सम्मानित एवं पुरस्कृत हुनेहरूमा परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीतकर्मी विजयकुमार श्रेष्ठ, सङ्गीत विधातर्फ वरिष्ठ गायक, गीतकार एवं सङ्गीतकार गणेश रसिक, नाट्य विधातर्फ नाट्य समालोचक तथा अनुसन्धाता प्राडा रामचन्द्र पोखरेल हुनुहुन्छ । त्यस्तै नृत्यतर्फ वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली, लोक सङ्गीततर्फ वरिष्ठ लोकगायक नवीनकिशोर राई र रङ्गमञ्च विधातर्फ वरिष्ठ रङ्गकर्मी भैरव क्षेत्री हुनुहुन्छ । 

सो समारोहमा उपराष्ट्रपति यादवले नेपालको हिमाल, पहाड, तराई–मधेशमा परापूर्वकालदेखि बसोबास गर्दै आइरहेका विभिन्न जातजाति, समुदाय, वर्ग, सम्प्रदाय र धर्मावलम्बीहरूका आआफ्नै मौलिक परम्परा, रीतिरिवाज, वेशभूषा, भाषा, कला र संस्कृति रहेकाले यी सबैको संरक्षण, संवर्धन र विकासमा एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले यसका लागि खोज–अनुसन्धानसँगै लोपोन्मुख संस्कृतिका विविध पक्षलाई लिपिबद्ध गर्दै त्यसलाई उजागर, प्रचारप्रसार र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, संवर्धन, प्रवर्धन गर्ने, अध्ययन अनुसन्धान गर्ने  सम्बन्धित क्षेत्रका विद्वान् तथा प्रतिभाहरूको सम्मान र कदर गरेकोमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्रशंसा पनि गर्नुभयो । 

उपराष्ट्रपति यादवले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको उल्लेख गर्दै यसले सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विविधतामा एकता हाम्रो मौलिक राष्ट्रिय पहिचान हो । यो मूल मर्मलाई हामी सबैले अङ्गीकार र अवलम्बन गर्दै अगाडि बढे मुलुकको एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियता बलियो हुन्छ । देश समृद्ध बन्छ ।”  

उहाँले प्रतिष्ठानले संवैधानिक व्यवस्था अनुसार आफूलाई थप परिमार्जित, परिस्कृत र फराकिलो बनाउँदै नेपालका सबै भूगोल र भाषागत समूहका सांस्कृतिक पहिचानका रूपमा रहेका गीत, सङ्गीत, नृत्य, नाट्यका विविध विधाहरू (प्राचीन, रैथाने, लोक, परम्परागत, शास्त्रीय आदि) लाई थप समृद्ध र उन्नत बनाउन सक्नु पर्छ भन्नुभयो ।” उपराष्ट्रपति यादवले विभिन्न विधामा विशिष्टता हासिल गर्नुभएका स्रष्टाहरूबाट राष्ट्रको गरिमालाई अक्षुण राख्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अग्रज स्रष्टाहरूको सम्मान गर्नु सम्पूर्ण संस्कृति र सिर्जनालाई सम्मान गर्नु हो । यस्तो परिपाटीले विश्वमा राष्ट्रको सभ्यताको परिचय दिन्छ ।”