• ८ वैशाख २०८१, शनिबार

फेसन : नब्बेकै दशक दोहोरिँदै

blog

काठमाडौँ, असार १३ गते । फेसन पारखीका लागि यति बेलाको मौसम निकै अनुकूल छ । न धेरै जाडो न त अधिक गर्मी । समय समयमा भइरहने वर्षाले शीतलता प्रदान गरिरहेको छ । यही मौसमलाई दृष्टिगत गरेर युवाका लागि निकै मनमोहक फेसन सहर बजारमा आएको छ तर अहिले चलेको फेसन उही ९० को दशकको नै भएको फेसन डिजाइनर बताउँछन् । 

फेसन डिजाइनर श्रुति माकाजू अहिले उही ८० देखि ९० कै दशकको फेसन दोहोरिन थालेको बताउनुहुन्छ । अचेल बेली पाइन्ट, प्रिन्टेड सर्ट, खुकुलो टिसर्ट तथा सर्टको फेसन चलेको छ । यो ८०–९० को दशकको फेसन दोहोरिएको हो । फेसन आफैँमा कला भएको बताउने डिजाइनर रमिला नेम्कुल अहिले बजारमा शरीरमा खुकुलो हुने पहिरन चलेको बताउनुभयो । गर्मीमा खुकुलो पहिरन सहज हुने भएकाले धेरैको रोजाइमा परेको उहाँको भनाइ छ । उहाँ अहिले बजारमा सबै उमेर समूहका लागि बुट्टेदार ‘वान पिस’ अधिक मात्रमा चलेको र मुलायम खालको कपडामा बनेका यस्ता पहिरन धेरैको रोजाइमा परेको बताउनुहुन्छ । 

गर्मीमा छोटो पहिरन पनि त्यति उपयोगी नहुने पोसाक डिजाइनरको सुझाव छ । पानी परेपछि लाग्ने घाम बढी चर्को हुने भएकाले छालालाई पूरै ढाक्ने पोसाक नै अनुकूल हुने विज्ञको सुझाव छ । डिजाइनर माकाजू सिफन, कटन, जर्जेटजस्ता फेब्रिकबाट बनेका ‘अल ह्वाइट ड्रेस’, कट अफ ड्रेस धेरैका लागि अनुकूल हुने बताउनुहुन्छ । उहाँका अनुसार सन् २००७/०८ तिर पनि यस्तै फेसन ट्रेन्डिङमा थियो। स्लिम हाफ वान पिसले पनि स्थान पाइरहेको छ। पछिल्लो समय गर्मी मौसममा अधिकांश युवती विदेशी ‘आउट फिट’ मा हिँड्न रुचाउने उहाँको भनाइ छ ।