• ८ वैशाख २०८१, शनिबार

ज्याक मा काठमाडौँमा

blog

काठमाडौँ, असार १३ गते । अलिबाबा समूह होल्डिङ लिमिटेडका संस्थापक चिनियाँ ज्याक मा सात सदस्यीय प्रतिनिधिमण्डलसहित १५ दिने भ्रमणमा नेपाल आउनुभएको छ । पाँच जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिकसहितको समूहमा उहाँ मङ्गलबार नेपाल आइपुग्नुभएको हो । 

अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालका अनुसार हङकङ बिजनेस एभिएसनको जहाज चार्टर गरी बङ्गलादेश हुँदै उहाँको समूह काठमाडौँ आइपुगेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै उहाँहरू काठमाडौँको नक्सालस्थित मेरियट होटल जानुभएको छ । ज्याक मासहित सातै जनाले १५ दिनको पर्यटक भिसा लिएको सूचना अधिकारी भुसालले जनाउनुभयो । विश्व विख्यात कम्पनी अलिबाबाका प्रमुख ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । 

नेपालले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन अधिकतम प्रयास गरिरहेको समयमा नेपालको भम्रणमा रहनुभएका अलिबाबाका प्रमुखसँग प्रधानमन्त्रीले भेट गर्ने कार्यक्रम रहे पनि समय भने निश्चित नभएको उहाँले जानकारी दिनुभयो । नेपालमा लगानी गर्न प्रधानमन्त्रीले आग्रह गर्ने उहाँले जानकारी दिनुभयो । 

नेपालमा सञ्चालनमा रहेको अनलाइन व्यापार कम्पनी दराजमा अलिबाबाको लगानी छ । अलिबाबा चिनियाँ इकमर्स कम्पनीले वेब पोर्टलमार्फत उपभोक्तादेखि उपभोक्तासम्म, व्यावसायदेखि व्यावसायसम्म सेवा प्रदान गरिरहेको छ । अलिबाबाले विद्युतीय भुक्तानी सेवा, खरिद बिक्रीसम्बन्धी सर्च इन्जिन तथा क्लाउड कम्प्युटिङ सेवा उपलब्ध गराइरहेको छ ।