• ६ वैशाख २०८१, बिहिबार

सर्वोच्चले माग्यो महानगर प्रमुख साहसँग लिखित जवाफ

blog

काठमाडौं, असार १२ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । मङ्गलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले महानगर प्रमुख साहसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।

प्रमुख साहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिनुभएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराउनुभएको थियो ।

उच्च अदालत पाटनले दिएको आदेश नमान्ने भन्दै प्रमुख साहले सामाजिक सञ्जालमा घोषणा गर्नुभएको थियो ।

हिन्दी सिनेमा ‘आदिपुरुष’ को प्रदर्शनीमाथि प्रमुख साहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।

आफ्नो निर्णय रोक्न उच्च अदालत पाटनले रोक लगाएपछि प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको थियो, ‘‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’’