• १३ वैशाख २०८१, बिहिबार

नागरिकता वितरणमा टोकन प्रणाली

blog

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिनेको भीड । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार १२ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले नागरिकताको भीड थेग्न मुस्किल भएपछि टोकन प्रणाली लागु गरिएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ लागु भएपछि गएको आइतबारदेखि जिल्ला प्रशासन कार्यालय मलङ्गवा तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा वंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकका सन्तानको अत्यन्तै भीड बढेको छ ।  

कार्यालयले मङ्गलबार सूचना जारी गर्दै जन्मको आधारमा नागरिकता लिएका सन्ततिका लागि वंशजका आधारमा नयाँ नागरिकता लिन अनलाइन टोकन प्रणाली लागु गरेको  हो । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हस्ताक्षर गरी जारी गर्नुभएको सूचनामा “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ बमोजिम जन्मको आधारमा नागरिकता लिएका सन्ततिका लागि नयाँ नागरिकता लिन सेवाग्राहीलाई कार्यालय मै आएर लाइनमा बसी पालो कुर्नुपर्ने झन्झटिलो, सास्ती, हैरानी हुने अवस्थालाई अन्त्य गरी नागरिकता वितरणमा सहज, सरल, छिटो, छरितो, निष्पक्ष र पारदर्शी रूपले नागरिकता सेवा प्रवाह गर्न यस कार्यालयबाट अनलाइन टोकन प्रणाली विकसित गरिएकाले उक्त प्रणाली बमोजिम आ–आफ्नो विवरण प्रविष्ट गरी टोकनमा तोकिएको दिन कार्यालयमा आइ सेवा लिन आउन अनुरोध छ”, भनी उल्लेख गरिएको छ । 

वर्षौँपछि जन्मसिद्धका आधारमा नागरिकता लिएका व्यक्तिका सन्ततिलाई नागरिकता वितरण गर्न सुरु भएपछि एकैपटक अत्यधिक सेवाग्राही आउँदा प्रशासनलाई भीड व्यवस्थापन गर्नै चुनौती थपिएपछि टोकन प्रणालीमा लगाइको हो । सेवाग्राहीले अनलाइनबाट टोकन भरेपछि त्यही टोकनमा पालो आउने मिति उल्लेख हुने र मलङ्गवा, हरिवन र बरहथवामध्ये जहाँबाट सेवा लिने हो, त्यहीँ गएर नागरिकता लिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय गरी अनलाइन प्रणालीमार्फत टोकन वितरण गरी जन्मका आधारमा नागरिकता लिएकाका सन्ततिलाई नागरिकता वितरण गर्ने नीति अवलम्बन गरेको हो । यसअघि मधेश प्रदेशकै धनुषा र पर्सा जिल्लामा पनि अत्यधिक भिड लागेसँगै अनलाइन टोकन प्रणालीमार्फत नागरिकता वितरण कार्यअघि बढाइएको छ ।