• १६ चैत २०८०, शुक्रबार

बुढा रुखले यात्रा जोखिममा

blog

सडक किनारका सुकेका र हरिया रुख सडकतर्फ ढल्ने अवस्थामा ।

हरिप्रसाद कोइराला 

उर्लाबारी, असार १२ गते । मोरङको पथरीशनिश्चरे नगरपालिका खण्डमा पर्ने पूर्व पश्चिम राजमार्गको किनारमा रहेका सुकेका रुख सम्बन्धित निकायले नहटाइदिँदा दुर्घटनाको जोखिम बढेको छ । नगरको वडा नं. २ मा पर्ने राष्ट्रिय राजमार्ग किनारमा रहेका ठुलाठुला सुकेका रुख तत्काल हटाउन स्थानीयले नगरपालिकासँग पटकपटक माग गरेपनि सरोकारवाला निकायले रुख हटाउन कुनै चासो देखाएको छैन ।  

पथरी बजार पूर्वपट्टिको सुन्दर सामुदायिक वन र चौतारी सामुदायिक वनको सिमानादेखि पूर्व जयचौक-किसान चौक सडकको उत्तर दक्षिणको लगभग ३ किलोमिटर क्षेत्रमा सडकसँगै जोडिएका २० वटाभन्दा बढी बुढा सुकेका रुख छन् । सडकसँगै रहेका बुढा रुखहरूले गर्दा दैनिक रूपमा आवतजावत गर्ने सवारी साधन र पैदल यात्री जोखिम मोलेर यात्रा गरिरहेका छन् ।  

सडककोबीच भागसम्म आईपुग्ने गरी सडकमा ढल्किएका सुकेका रुखहरू अब पानी पर्नासाथ सडकतर्फ ढल्ने जोखिम रहेको छ । पथरीशनिश्चरे १ का गोपाल काफ्ले भन्नुभयो, “लगातार हावाले रुखहरू सडकतर्फ ढल्काउँदै लगेको छ । अब पर्ने पानीले ती रुखहरू कुनै बेला ढलेर दुर्घटना गराउन सक्छ ।” 

दैनिक हजारौँ सवारी साधन र मानिसहरू आवतजावत गर्ने देश कै प्रमुख राजमार्गमा जोखिमको यात्रा गर्नु परिरहेको । स्थानीय अरुण राईको भनाइ छ ।उहाँले नगरपालिकाले आफ्नो भूगोलभित्रको सडक सुरक्षाको प्रबन्ध मिलाउनु पर्ने बताउनुभयो । 

पथरीशनिश्चरे नगरपालिकाका लेखा अधिकृत पीताम्बर बस्तीले भन्नुभयो, “हामीले पटकपटक सडक बोर्ड, वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई रुख हटाइदिन आग्रह ग¥यौं । तर, सुनुवाइ भएको छैन ।” 

सडक डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख सुदर्शन कार्कीले सडक किनारमा रुख सुकेको जानकारी प्राप्त भएपछि त्यसको लगत सङ्कलन गरी कटान स्वीकृतिका लागि जिल्ला डिभिजन वन कार्यालय मोरङमा पठाएको बताउनुभयो । 

कार्कीले कटान स्वीकृति हुँनासाथ रुख हटाइने जानकारी दिनुभयो । तर, डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत दीपक पोख्रेलले सडक डिभिजनको कुनै पत्र डिभिजन वन कार्यालयमा प्राप्त नभएको बताउनुभयो । 

१५ दिन यता रुख काटिदिनु भनेर कुनै पत्र प्राप्त भएको छैन । सडक क्षेत्रका रुख सडक डिभिजन कार्यालयको स्वीकृति बिना हटाउन नमिल्ने सहायक वन अधिकृत पोख्रेलले बताउनुभयो ।