• १३ वैशाख २०८१, बिहिबार

मनहरू र गाउँ

blog

लाग्छ, मान्छेको मनले सबैभन्दा धेरै सम्झिने कुरामध्ये एक हो– गाउँ । आफ्नो गाउँ । आफू जन्मेको, हुर्केको, तातेताते गर्दै हिँडेको, हाँसेको, खेलेको, मन दुखाएर रोएको, उकाली–ओराली गरेको आफ्नो गाउँ कुन मान्छेले मनैमा बोकेर नहिँड्दो होला ! कति–कति खुसी साटेको, कति–कति दुःख छिचोलेको आफ्नो गाउँ आखिर कसको मनमा थपक्कै नबसेको होला ! गाउँमै बसेकालाई त सबैथोक भयो नै गाउँ तर जतिसुकै सुविधा र विकासले भरिएको संसारको जुनसुकै ठाउँमा पुगे पनि सम्भवतः आफ्नो प्रिय गाउँलाई मनैमा राखेर बाँचेको हुन्छ मान्छे । हाँस्न सिकाउने, रुन सिकाउने, जीवन, समाज, संस्कृति र सभ्यता बुझाउने आफ्नो गाउँ नै हो । सपना देख्न सिकाउने अनि त्यो सपनाको क्षितिज भेट्न प्रेरणा दिने आफ्नो गाउँ नै हो । भौतिक रूपमा जहाँ र जता पुगे पनि भावनात्मक रूपमा आफ्नो गाउँभन्दा टाढा भएर बाँच्न सक्दैन मान्छे । गाउँ त सधैँ मनैमा हुन्छ ।

म सम्झिन्छु– एकखेप म काबेली तरेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पुगेँ । घरदेखि भागेर सडकमा मजदुरी काम गर्न । सानो थिएँ । भर्खर चौध वर्षको फुच्चे केटो । ठेकेदारले घर फर्किनू भन्न सकेनन् । र, लगाइदिए भान्से काममा । बजारको सडक स्तरोन्नतिका लागि काम गर्ने पन्ध्र सोह्र जनाको साँझ बिहान भात पकाइदिने काम मेरो थियो । तोक्मेमाथिको एउटा टहरा हाम्रो खानेबस्ने ठाउँ थियो । गाउँका दाजुहरूको पछि लागेर म त्यहाँ पुगेको थिएँ । २, ४ दिन त रमाइलै भयो ।

त्यसपछि भने गाउँघरको यादले खुब सताउन थाल्यो । हुन पनि गाउँघर छोडेर पहिलो पटक त्यति टाढा पुगेको थिएँ । बालक मन त्यसै विरक्तिने भइहाल्यो । बिरानो सहरमा गाउँको सम्झनाले यति विक्षिप्त बनाउँथ्यो कि ! हरेक साँझ गाउँ छेकिदिने क्षितिज नियाल्दै भावुक हुन्थेँ । सपनामा पनि गाउँपरको एकमौले बरमा साथीहरूसँग भलिबल खेलिरहेको हुन्थेँ । गाउँको यादले कुडिन्थ्यो हृदय । जल्थ्यो मन । भतभती पोल्थ्यो छाती । हुन्थ्यो छट्पटी । एकदिन ठेकेदारलाई भनेँ, “अब म जान्छु ।’’ सायद फुच्चे केटोको माया लाग्यो क्यार ! केही नभनी पठाइदिए । नयाँ ठाउँ पनि घुम्न पाइने, पैसा पनि कमाइने भनेर घरदेखि भागेर हिँडेको मलाई गाउँको मायाले डो-याएर तीन हप्तामै फेरि गाउँमा नै पु-यायो ।

अपरिपक्व उमेरमा पनि मस्तिष्कमा आफ्नो गाउँप्रतिको प्रेम यति गहिरो गरी गडेर बसेको हुँदोरहेछ भन्ने कुरा उहिल्यैको एउटा घटना सम्झेर अहिले म बोध गर्छु । याक्थुङ (लिम्बु) समाज । जुन समाजमा म जन्मेँ, हुर्कें । जहाँ विशेष अवसरहरूमा मात्र नभएर फुर्सदको अरू समयमा पनि विशेष किसिमले नै आफन्त भेटघाट गर्ने संस्कृति छ । त्यसरी जाँदा कोसेलीपात बोक्ने साथी पनि पाहुनाका रूपमा लाने चलन छ । सानोमा पाहुना जान खुब रहर लाग्ने । एकखेप भाउजूको माइतीगाउँ पाहुना जानुपर्ने भयो, तमोरपारिको आठराई । पेदु–पेदु रहरमाथि कोसेलीको कुम्लो बोकेर भाउजूको माइतीगाउँ पुगियो, पाहुना बनेर । मेरै उमेरको एक साथी र म दुई जना थियौँ । याक्थुङ (लिम्बु) घरमा आउने पाहुनालाई धान नचाउनु सामान्य मानिन्छ । छोरा मान्छे पाहुना भए गाउँका छोरीचेलीलाई र छोरी मान्छे पाहुना भए छोरा मान्छेलाई पाहुना घरका मान्छेले धान नाच्न आउने निम्तो नै दिन्छन् ।

साथी र म बेलुकीको खाना खाएर सुत्ने तरखर गर्दै थियौँ । गाउँका एकहुल केटीहरू धान नाच्न आइपुगे । सबैभन्दा पहिले परिचय गरौँ भन्ने भयो । उनीहरूले हामीलाई परिचय मागे । “हजुर ! हामी त तपाईंहरूको गाउँको पाहुना, तपाईंहरूको गाउँमा तपाईंहरू नै अगाडि बढ्नुप-यो नि सोल्टिनीहरू !!” हामीले आग्रह बिसायौँ । सोल्टिनीहरूले पालैपालो सेवारो ! गरेर नाम, गाविस, गाउँ र पोस्ट अफिस बताए । हामीले पनि परिचय दियौँ । यसै क्रममा अचानक गाउँको कुरामा विवाद हुन पुग्यो । ज्ञान नछिप्पिनु त्यस्तै त होला ! उनीहरूले हाम्रो गाउँलाई खिसी गरे । हामी पनि उनीहरूको गाउँलाई ढुङ्गै ढुङ्गाको गाउँ, पानीबिनाको गाउँ भनेर बाझ्यौँ । अन्ततः धान नाच्न आएका उनीहरू गाउँको विवादले धानै ननाची फर्के । 

कति दुर्भाग्य ! 

आफ्नो गाउँलाई नराम्रो भनिदिँदा जसको पनि मन दुख्दो रहेछ । चित्त फाट्दो रहेछ । आहा ! कति अपार हुँदो रै’छ आफ्नो गाउँप्रतिको प्रेम । अनि कति प्रेमील बनेर जोडिएका हुँदा रै’छन् गाउँ र मनहरू अनि मनहरू र गाउँ ।

कहिलेकाहीँ सम्झिन्छु– उसबेला हामीसँग वादविवाद पर्ने ती सोल्टिनीहरू अहिले कहाँ कहाँ पुगेका होलान् ? मेरो जस्तै उनीहरूको मानसपटलमा पनि त्यो सुदूर अतीतको क्षण औँशी–पूर्णे किरिङमिरिङ कोलाज बनेर आउँछ कि आउँदैन होला ?  जे होस् ती सोल्टिनीहरूको नाममा यत्ति भन्छु, “त्यो बेला तपाईंहरूको गाउँलाई नराम्रो भनेँ । चित्त दुखाउनुभयो । सम्झिँदा आफ्नो कामले आज आफ्नै चित्त दुख्छ । सक्नुहुन्छ भने यो दुःखी सोल्टीलाई मनैदेखि माफ गरिदिनुहोस् है ! गाउँ त सोल्टिनीको पनि राम्रो, सोल्टीको पनि राम्रो, नराम्रो त कहाँ हुन्छ र गाउँ !” 

अहिले पनि कामविशेषको यात्रामा माझीटारबाट मध्यपहाडी लोकमार्गको मोटरेबल पुल तरेर आठराईको उकालोमा मोटरसाइकलको स्टेयरिङ बटारिरहँदा ती सोल्टिनीहरूको याद आउँछ ।

अमेरिका, अस्ट्रेलिया र युरोपका विभिन्न मुलुक पुग्ने मात्र होइन, साउथ कोरिया र खाडीका विभिन्न देशमा अनेकौँ अप्ठ्याराका बाबजुद श्रम गरिरहेका नेपाली आफ्नो गाउँलाई सम्झिरहन्छन् । आफ्नो गाउँमा बाटोघाटो बनाउन, स्वास्थ्य चौकी वा विद्यालयको भवन बनाउन श्रमको मूल्यबाट थोरै रकम बचाएर सहयोग गर्छन् । गाउँमा प्राकृतिक विपत् आइलागे, कसैलाई कुनै अप्ठ्यारो आइपरे वा कुनै सार्वजनिक महìवको कार्य गर्नुपरे सामाजिक सञ्जालका माध्यमबाट सहयोगका लागि जुटिहाल्छन् । आफ्नो गाउँको उन्नति होस्, गाउँलेहरूलाई सहज होस्, गाउँकालाई दुःख पर्दा सकेको सहयोग गर्न सकूँ भन्ने उनीहरूको मनमा हुन्छ । आखिर यो गोलो पृथ्वीको जुनै कुनामा पुगे पनि आफ्नो गाउँप्रतिको प्रेमले छपक्कै भिजेकै हुन्छ मान्छे । यो गाउँप्रतिको अगाध स्नेहको एउटा विम्ब हो । अहिले उहिल्यैको जस्तो चिठी लेख्नुपर्ने, आवाघर धाउनुपर्ने दुःख छैन । प्रविधिको विकासले विश्वलाई ई–भिलेजमा रूपान्तरण गरिदिएको छ । यसले अझ सहज किसिमले जोडिदिएको छ, गाउँ र मनहरूलाई अनि मनहरू र गाउँलाई ।

सबै मान्छेको आफ्नो गाउँलाई स्नेहले हजार फन्को बेर्ने आफ्नै मन हुन्छ । प्रिय गाउँलाई प्रेमले सजाउने आफ्नै मुटु हुन्छ । कवि चन्द्रवीर तुम्बापोले एक दिन मसित भनेका थिए, “तेरो गाउँ मलाई अर्कै देशजस्तो लाग्छ !” उनी कवि हुन् । उनी मेरो छिमेकी गाउँका हुन् । कविले भनेको यो वाक्यको अन्तर्य के हो ? मेरो आलोकाँचो मस्तिष्कले पर्गेल्न सकेन होला । जे भए पनि यसलाई ‘सुन्दर’ भनिदिएको अर्थमा बुझेर त्यो दिन गद्गद् भएको थिएँ म । उनै कवि दाजैसँग अस्ति काठमाडौँको एउटा बिसौनीमा भेट भयो । दाजैले गाउँको सम्झनामा लेखेको ‘तिम्रो पाइतालाको डोब गाउँमा’ कविता स्मरण गरेँ मैले । जो अलि अघि गरिमामा छापिएको थियो । दाजैले निसङ्कोच भने, “गाउँ केवल गाउँ मात्र होइन, सम्भावनाको नाम पनि त हो ।’’ गाउँ, गाउँले मन र गाउँसँग जोडिएका सम्भवनाका सन्दर्भमा इकोराइटर अमर नेम्वाङले आफ्नो किताब ‘सम्झनाका तरेली’ मा लेखेका छन् । अमरदाइ बितेर जानुभयो । तर ‘सम्झनाका तरेली’ ले जन्मथलो र गाउँप्रतिको प्रेम बुझाउन मद्दत गर्छ, गरिरहनेछ ।

नेपाली समाजमा एउटा मानकता जबरजस्त स्थापित छ । त्यो हो, गाउँमा दुःख छ । अभाव र असुविधाको पर्याय हो– गाउँ । सायद त्यसैको उपज होला, कथित आधुनिक सहरियाले गाउँका मान्छेलाई खिसिट्युरी गरेर भन्दा ‘पाखे’ भन्छन् । तर प्रविधि र अस्वस्थ प्रतिस्पर्धाले व्रmमशः संवेदनहीन बनाउँदै लगेको सहरले गाउँ हार्दिकता, सद्भाव र आत्मीयता सिकाउने एक महान् विश्वविद्यालय हो भन्ने कुरा बिर्सनु हुँदैन । नेपालको पहिलो स्मार्ट भिलेज लमजुङको घलेगाउँ सार्क राष्ट्रमै नमुना गाउँका रूपमा परिचित छ । नेपाली गाउँ अन्तर्राष्ट्रिय स्तरमा हाम्रो मुलुकलाई चिनाउन पनि सक्षम छ ।

सुविधा छैन भन्दै गाउँबाट पलायन हुने संस्कृति बढ्दो छ अहिले । थुप्रै गाउँहरू श्मशान बनेका छन् । बाँझो जमिन र नाङ्गा डाँडापाखामा मरिरहेका छन्, अनन्त सम्भावनाहरू । गाउँ र गाउँलेका सुख–दुःखको सुसेली सुसेलिरहने खोला–खोल्साहरूमा बेवारिस बगिरहेका पानीभित्रै विलीन भइरहेका छन्, अपार उज्यालाहरू । वास्तवमा केही छैन भनिने गाउँमै छ सबैथोक । अभाव छ त केवल गाउँ बनाउने सच्चा मन र कर्मठ हातहरूको, ठोस योजना अनि त्यसलाई मूर्त रूप दिने आत्मविश्वास र प्रतिबद्धताको ।

त्यसैले अब सुविधा छैन भन्दै गाउँबाट नभागौँ । गाउँमै छन्, सम्भावनाका कहिल्यै नसुक्ने मूलहरू । गाउँमै छन्, फक्रेर खुसी बाँडिरहने फूलहरू । सुविधाले युक्त बनाऔँ गाउँलाई । खासमा गाउँलाई चाहिएको छ, गाउँ बनाउने मनहरू ।