• ६ वैशाख २०८१, बिहिबार

झापामा अलगअलग घटनामा तीन जनाको मृत्यु

blog

झापा, असार १२  गते । झापामा अलगअलग घटनामा आज बिहान तीन जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका –२ स्थित चिया बगानमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । भद्रपुर नगरपालिका–७ बस्ने  ५३ वर्षीय गिरेन कर्मकारलाई आज बिहान महेन्द्र पोखरेलको चिया बगानमा जङ्गली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो । 

यसैगरी पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उहाँकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ ।

गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । रासस