अख्तियारद्वारा २३५ मुद्दा दायर

गोरखापत्र समाचारदाता

CIAAकाठमाडौँ, वैशाख ३ गते । भ्रष्टाचारजन्य कार्यको अनसन्धान तथा मुद्दा दायर प्रक्रियामा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको छ । २०७५ साउन १ गतेदेखि चैत मसान्तसम्म अख्तियारले २३५ मुद्दा दायर गरेको छ । अघिल्लो आर्थिक वर्षभरमा १९४ मुद्दा दायर गरिएका थिए । पछिल्लो समय अख्तियारले रुग्ण आयोजनाका अनियमिततालाई प्राथमिकतामा राखेको छ ।
अख्तियारका अनुसार भ्रष्टाचारका उजुरी पनि अघिल्लो वर्षभरको तुलनामा नौ महिनाको अवधिमा नै ह्वात्तै बढेका छन् । ‘भ्रष्टाचारजन्य कार्यउपरको अनुसन्धानमा प्रभावकारिता ल्याई २३५ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ । गत आर्थिक वर्षभरमा १९४ मुद्दा अदालतमा दायर गरिएकोमा चालु आर्थिक वर्षको नौ महिनामा अभियोजनमा उल्लेख्य वृद्धि भएको छ’ अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षभरमा १९ हजार ४८८ उजुरी अख्तियारमा दर्ता भएका थिए । यो वर्षको नौ महिनामा २९ हजारभन्दा बढी उजुरी दर्ता भएको अख्तियारले जनाएको छ । पछिल्लो समयमा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरीको संख्या बढेका छन् । स्थाानीय तहमा आर्थिक अनियमितताका विषयमा परेका उजुरी उल्लेख्य रहेका छन् ।
यो नौ महिनाको अवधिमा अख्तियारले १२७ स्टिङ अपरेशनमध्ये ९० वटामा कारबाही गरिएको जनाएको छ । यस्तै, भ्रष्टाचारविरुद्ध आयोगको पूर्वसक्रियतालाई अभिवृद्धि गर्नशूक्ष्म निगरानी तथा द्रुत कारबाही टोली गठन गरेको छ । उक्त टोलीलाई सक्रिय बनाइएको अख्तियारले जनाएको छ ।
सार्वजनिक विकास निर्माणका कार्य उपरको कारबाहीमा प्रभावकारिता ल्याउन निर्माण गुणस्तर परीक्षण प्रयोगशालाको सुदृढीकरण गरी पूर्णरुपमा कार्यान्वयनमा ल्याइएको पनि अख्तियारले जनाएको छ । भ्रष्टाचारविरुद्ध नागरिक समाजको भूमिका अभिवृद्धि गर्न परीक्षणको रूपमा हरेक प्रदेशका दुई÷दुई जिल्लामा नागरिक निगरानी संस्था गठन गरिएका छन् ।
यस्तै, पछिल्लो समय सार्वजनिक कार्यालयहरूमा आयोगका कर्मचारीहरू सेवाग्राहीका रुपमा प्रस्तुत भई सेवाप्रवाहको अनुगमन गर्ने कार्य प्रारम्भ गरिएको पनि अख्तियारले जनाएको छ ।
घुससहित पक्राउ
यसैबीच अख्तियारले चन्द्रागिरि नगरपालिका बलम्बु, काठमाडौँमा कार्यरत लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईलाई २० हजार रुपियाँ घुससहित पक्राउ गरेको छ । सडक मर्मतपछि रकम भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा भट्टराईलाई अख्तियार टोलीले पक्राउ गरेको हो । घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसर बाहिरबाट भट्टराईलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds