• १३ वैशाख २०८१, बिहिबार

औषधीको मूल्य समायोजन गर्न माग

blog

काठमाडौँ, असार १२ गते । नेपाल औषधी उत्पादन सङ्घले सिटामोल र जीवनजल (ओआरएस) अहिलेको मूल्यमा उत्पादन गर्न नसकिने भन्दै मूल्य समायोजनको माग गरिरहेको छ । सरकारले तोकेको मूल्यमा सिटामोल र जीवनजल उत्पादन गरेर बिक्री गर्नै नसकिने भन्दै औषधी उत्पादक उद्योगीले मूल्य समायोजन गर्न माग गरेका हुन् ।

लामो समयदेखि प्रतिप्याकेट जीवनजलको उत्पादन गर्दा न्यूनतम लागत मूल्य १७ रुपियाँ पर्छ तर बजार मूल्य प्रतिप्याकेट सात रुपियाँ नोक्सान बेहोरेर १० रुपियाँमा कति दिन बिक्री गर्न सकिन्छ ? औषधी उद्योगीले प्रश्न गरेका छन् । नेपाल औषधी उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीले  जीवनजल उत्पादनको परिणाम  धेरै  घटेको दाबी गर्नुभयो । 

उहाँका अनुसार अधिकांश उद्योगीले जीवनजल र सिटामोल उत्पादन परिणाम घटाउँदै आएका छन् । औषधीजस्तो संवेदनशील वस्तु सिटामोल र जीवनजल थोरै थोरै त हाम्रो पनि दायित्व भएकाले नोक्सान भएर पनि उत्पादन गर्दै आएको बताउँदै सङ्घका महासचिव अधिकारीले भन्नुभयो, “तर ठुलो परिणाममा उत्पादन गर्न सक्ने अवस्था छैन किनकि प्रतिप्याकेट उत्पादनमै सातदेखि नौ रुपियाँ नोक्सान छ ।” 

सरकारले १६ वर्षदेखि जीवनजलको मूल्य समायोजन गरेको छैन, अहिले प्रतिप्याकेट उत्पादन लागत नै न्यूनतम १७ रुपियाँ पर्छ, लामो समय एकै औषधीमा नोक्सान खाएर उत्पादन गर्न सक्ने अवस्था नभएको उहाँको भनाइ छ । सरकारको स्वामित्वमा रहेको नेपाल औषधी उत्पादन लिमिटेडबाहेक निजीस्तरबाट सञ्चालित २१ औषधी उद्योगले सिटामोल र जीवनजल उत्पादन गर्दै आएका छन् । अहिले सामान्य अवस्थामा ठुलो अभाव नदेखिए पनि महामारी हुनेबित्तिकै यसको असर ठुलो पर्ने उद्योगी बताउँछन् । 

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मूल्यको विषयमा लिएर औषधी जस्तो संवेदनशील अत्यावश्यकीय वस्तु उत्पादन गर्न नसक्ने भन्ने कुरा व्यावहारिक नभएको प्रतिक्रिया दिनुभयो । 

औषधी उत्पादकको मागबमोजिम सिटामोल र जीवनजलको मूल्य समायोजन गर्नेबारे सरकार सकारात्मक नै रहेको उहाँको भनाइ छ । “उपयुक्त समयमा वैज्ञानिक तथ्य, अन्तर्राष्ट्रिय कच्चा पदार्थको मूल्य वृद्धि भएको अवस्थालाई पनि मध्यनजर गर्दै मूल्य समायोजन गर्नुपर्छ भन्ने पक्षमा विभाग रहेको छ,” उहाँले भन्नुभयो । महानिर्देशक ढकालले विभाग एक्लैले मूल्य समायोजन गर्न नसक्ने, मन्त्रीपरिषद्को निर्णयबाट मात्रै सकिन्छ भन्ने उद्योगीहरूलाई पनि थाहा छ भन्नुभयो । विभागका अनुसार विभागले औषधी उत्पादक उद्योगीलाई अति आवश्यकीय औषधी बजारमा अभाव हुन नदिई वितरण र उत्पादनको सन्तुलन मिलाउन निर्देशन दिँदै आएको छ ।औषधी व्यवस्था विभाग, औषधी उत्पादक सङ्घ र नेपाल औषधी व्यवसायी सङ्घको सहमतिमा जीवनजलको मूल्य प्रतिप्याकेट १० रुपियाँ तोकिएको थियो । १६ वर्षदेखि यसको मूल्य बढेको छैन । सरकारलाई पटक पटक मूल्य समायोजन गर्न आग्रह गर्दै आएको तर खासै चासो देखाएको छैन । 

अति आवश्यक औषधीको विवरण पेस गर्न निर्देशन

औषधी व्यवस्था विभागले विभागले अति आवश्यकीय औषधी मौज्दातको विवरण पेस गर्न उत्पादक, आयातकर्ता, सरकारी, सामुदायिक तथा निजी अस्पताललाई निर्देशन दिएको छ । बिरामीका उपचारका क्रममा आवश्यक पर्ने कतिपय जीवन रक्षक अति आवश्यकीय औषधी बजारमा उपलब्ध नभएको गुनासो आएको भन्दै विभागले व्यवस्थापन गर्न निर्देशन दिएको छ । “के कस्ता प्रकारका औषधी कुन कुन रोगको उपचारमा अभाव भएको छ, सोको जानकारी गराउनुहुनका साथै त्यस्ता औषधीको व्यवस्थापनका लागि सम्भावित अभावको पूर्वजानकारीसमेत यथाशीघ्र उपलब्ध गराउनुस्,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।