• ४ वैशाख २०८१, मङ्गलबार

लागुऔषध प्रयोगकर्ता बढ्दो : २० देखि २९ उमेर समूह बढी प्रभावित

blog

काठमाडौँ, असार १२ गते । नेपालमा लागुऔषधको प्रयोगबाट २० देखि २९ वर्षको उमेर समूह सबैभन्दा बढी प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । हाल नेपालमा एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको तथ्याङ्क छ । 

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा गृह मन्त्रालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । यस्तै नेपाल प्रहरीका अनुसार २०७९ सालको चैतसम्म लागुऔषध अपराधमा चार हजार २२० जना पक्राउ परेको र अपराधमा संलग्नमध्ये लागुऔषधसँग सम्बन्धित अपराधको हिस्सा २० दशमलव ७३ प्रतिशत रहेको छ । हाल पाँच हजार ९११ लागुऔषध मुद्दाका कैदीबन्दी रहेको र करिब पाँच हजार उपचार तथा पुनस्र्थापना केन्द्रमा रहेको तथ्याङ्क छ । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वव्यापी रूपमै गम्भीर समस्या रहेको लागुऔषधको प्रयोग नेपालमा पनि समस्याका रूपमा देखा पर्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न तथ्याङ्कबाट लागुऔषधको प्रयोगकर्ता बढ्नु अपराधको दर बढ्दै जानु, लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ । लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको सङ्ख्या बढी प्रभावित भएको देखिन्छ ।” लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा उहाँले स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा लागुऔषधको दुरुपयोगमा सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

“विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति नै दुव्र्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुन्छ,” उहाँले भन्नुभयो, “यसबाट समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा समेत बाधा पुग्नका साथै स्वस्थ, सभ्य अपराधमुक्त समुन्नत समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न चुनौती सिर्जना गरेको छ ।”

गृहमन्त्री श्रेष्ठले लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण बहुसरोकारको विषय भएको बताउँदै सम्बद्ध निकायहरूको समन्वय र सहकार्यबाट लागुऔषधको बिक्री नियन्त्रण तथा प्रयोगको न्यूनीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको सर्वाङ्गीण विकास समृद्धि अनि शान्ति सुरक्षा र सुशासन कायम गर्ने दिशामा लागुऔषध अपराध विरुद्धको राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य भएको उल्लेख गर्नुभयो । 

उहाँले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अङ्गीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबै पक्षबाट इमानदार प्रयासको आवश्यकता रहेको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले लागुऔषध दुरुपयोगको बहुआयामिक असरसँग जुध्न र स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा एकजुट हुन सम्बद्ध सबैमा आह्वान गर्नुभयो । 

गृहसचिव दिनेश भट्टराईले लागुऔषध प्रयोगकर्तामा देखा परेका गम्भीर स्वास्थ्य समस्या तथा पारिवारिक विचलन, सामाजिक दुष्प्रभाव, अवैध कारोबार, आर्थिक अपराध एवं सुरक्षा संवेदनशीलताको हिसाबले समयमै सचेत रहनुपर्ने देखिएको बताउनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले लागुऔषध नियन्त्रणका लागि व्यक्ति, समाज र राष्ट्रको एउटै पहल र प्रयासको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विभिन्न विद्यालयका तर्फबाट लागुऔषधसम्बन्धी सचेतनामूलक भिडियो र नाटक प्रस्तुत गर्नुका साथै कविता वाचन, नृत्य प्रदर्शनीसमेत गरिएको थियो । समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी योगदान पु¥याउने सुरक्षा फौज र विभिन्न सङ्घ संस्थालाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।