• ११ वैशाख २०८१, मङ्गलबार

बुढीगण्डकी आयोजनाको शिलान्यास असारभित्रै : प्रम

blog

धादिङ समाचारदाता

धादिङ, असार १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास यही असारभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ । 

धादिङबाट प्रतिनिधित्व गर्नुहुने सांसद रामनाथ अधिकारीले प्रधानमन्त्रीले निर्वाचित भएपछि आफूहरूसँग यसै वर्ष बुढीगण्डकी परियोजना शिलान्यास हुने बताउनुभएको स्मरण गराउँदै ‘शिलान्यास कहिले हुन्छ ?’ भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री प्रचण्डले असार महिनामा नै कार्यालय उद्घाटन र जलविद्यत् आयोजनाको शिलान्यास हुने बताउनुभयो । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिनुभयो । 

उहाँले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।”

धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको सोमबार भवन उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी निर्माण महत्त्वपूर्ण रहेको बताउनुभयो । 

बुढी गण्डकी राष्ट्रिय गौरवको आयोजना भएको र आफू सोही जिल्ला गोरखाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको नाताले पनि बुढीगण्डकी बन्नेमा विश्वस्त हुन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । 

बुढीगण्डकी बन्ने नबन्ने दुबिधा जनतामा रहेकाले त्यसबारे सरकारको धारणा स्पष्ट पार्न बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । सांसद अधिकारीले गोरखा र धादिङका बुढीगण्डकी प्रभावितले अझै मुआब्जा पाएका छैनन् भन्दै मुआब्जा असार मसान्तसम्ममा वितरण गर्न आग्रह गर्नुभएको थियो । 

त्यसै अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो पछिल्लो भारत भ्रमण ऐतिहासिक भएको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्नेलगायत अन्य भौतिक विकास निर्माणसँग सम्बन्धित विषयमा महत्त्वपूर्ण सहमति भएको र त्यसले दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो ।  उहाँले आगामी पाँच वर्षसम्म यही गठबन्धन रहने दाबीसमेत गर्नुभयो । “अहिले यो सरकारको आयु कति ? भनेर मिडियामा हल्ला चल्ने गरेको छ । पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जाने छ ।”

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि नकारात्मक प्रवृत्ति भएकाले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ थियो । आफूले देश र जनताका पक्षमा राम्रो गर्दै जाने बताउँदै जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उहाँले विश्वाससमेत व्यक्त गर्नुभयो । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अनुसन्धान र खोजलाई केन्द्रित गर्ने गरी नयाँ विश्वविद्यालय स्थापनाका लागि प्रधानमन्त्री प्रचण्डसमक्ष आग्रह गर्नुभयो । 

प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले धादिङ जिल्लाको शैक्षिक प्रगतिका लागि यो संरचनाले महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । 

धादिङबाट निर्वाचित  प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले सामुदायिक क्याम्पसका लागि सरकारको अनुदान कम भएकाले सञ्चालनका लागि समस्या भएको बताउनुभयो । सो भवन भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको हो ।