• ७ वैशाख २०८१, शुक्रबार

बजाज खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

blog

उपाधिसहित बजाज खडक वारियर्स टिम ।

काठमाडौं, असार ११ गते । बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। वारियर्सले तेश्रो पटक लिगको उपाधि जितेको हो । 

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा कन्चनरुप राइनोजले दिएको एक सय ४५ रनको लक्ष्य तीन बल बाँकी छँदा पछ्याउदै बजाज खडक वारियर्सले उपाधि आफ्नो पक्षमा पारेको हो । 

लक्ष्य पछ्याउने क्रममा ५८ रनमा चार विकेट गुमाएको अवस्थामा पाँचौ नम्बरमा ब्याटिङ गरेका बिशाल सुश्लिंगले विकेट नगुमाई ब्याटिङ गर्दै टिमलाई जितसम्म लग्नुभयो ।

सुश्लिंगले अविजित ४६ रन बनाउनुभयो । उहाँले पाँचौ विकेटको लागि बिबेक यादवसँग ३० रनको, छैठौं विकेटको लागि दिनेश अधिकारीसँग ३६ रनको तथा सातौँ विकेटको लागि अनिल यादवसँग अविजित २२ रनको साझेदारी गर्नुभयो । 

रोमान्चक बनेको खेलको अन्तिम दुई ओभरमा आठ बलमा जित्न २० रन आवस्यक थियो । उक्त अवस्थामा राशिद खानले गरेको १९औं ओभरको अन्तिम दुई बलमा अनिल यादवले लगातार दुई चौका प्रहार गर्नुभयो । 

अन्तिम ओभरमा १२ रन आवस्यक रहँदा पप्पु यादवको पहिलो बलमा दुई रन लिनुभएका विशाल सुश्लिंगले दोश्रो बलमा चौका र तेश्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जिताउनुभयो । 

वारियर्सका ओपनर साहिल पटेलले २१, राज वर्माले १७ तथा कर्ण बिक र सन्दिप रजालीले समान १४ रन तथा अनिल यादवले अविजित नौ रन बनाउनुभयो । कन्चनरुपको बलिङमा चित्र बिस्टले सर्वाधिक तीन विकेट लिनुभयो । राशिद खान, नारायण जोशी र पप्पु यादवले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर ब्याटिङ गरेको कन्चनरुप राइनोजले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो । कन्चनरुपको लागि ओपनर दिलिप नाथले सर्वाधिक ४२ रन बनाउनुभयो । यस्तै नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाउनुभयो । 

बलिङमा बजाज खडक वारियर्सका कप्तान बिबेक यादवले सर्वाधिक चार विकेट लिनुभयो । गोमानन्द अमात्यले दुई तथा अनिल यादव र दिनेश अधिकारीले एक एक विकेट लिनुभयो । प्रतियोगिताको उपाधि सहित बजाज खडक वारियर्सले तिन लाख रुपियाँ पुरस्कार पायो  उपविजेता कन्चनरुप राइनोजले एक लाख ५०हजार रुपियाँ प्राप्त गरेको छ । 

प्लेयर अफ द सिरिज कन्चनरुप राइनोजका राशिद खान घोषित हुनुभयो । उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै उत्कृस्ट ब्याट्सम्यान छिन्नमस्ता लायन्सका शुभ कंसाकार तथा उत्कृस्ट बलर बजाज खडक वारियर्सका दिनेश अधिकारी घोषित हुनुभयो । उत्कृस्टले जनही १५ हजार रुीपयाँ पुरस्कार पाउनुभयो । प्रतियोगिताको उदयमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादव घोषित हुनुभयो ।