• १३ वैशाख २०८१, बिहिबार

पर्यटन प्रवर्द्धन गर्न सूचना केन्द्र

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्न पर्यटन सूचना केन्द्र स्थापना गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित जिल्लाकै असङ्ख्यौं पर्यटकीय गन्तव्यहरु रहेको फक्ताङ्लुङ गाउँपालिकाले पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र स्थापना गर्ने भएको हो ।

गएको शनिबार नै १३ औं गाउँसभा तथा अधिवेशन सम्पन्न गर्दै आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्नेगरी गाउँपालिकाले पर्यटन प्रवर्द्धनको योजनालाई जोड दिएको हो । गाउँपालिकाले पालिकाभित्र रहेका पर्यटकीयस्थल तथा गन्तव्यको विस्तृत जानकारी गराउने उद्देश्यसहित पर्यटन सूचना केन्द्र स्थापना गर्ने भएको हो । 

यस्तै, पर्यटन सूचना केन्द्रसँगै वाह्य तथा आन्तरिक पर्यटकको आगमन वृद्धि गरी पर्यटन विकास गर्न सङ्घ र प्रदेश सरकारसँग आवश्यक समन्वयमा पहल गर्ने, पर्यटकको भ्रमण यात्रालाई सुरक्षित र आरामदायी बनाउन ट्रेकिङ गाइड तथा भाषासम्बन्धी तालिम सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ । कुक तथा हस्पिटालिटी सम्बन्धी तालिम सञ्चालन गर्ने साथै पर्यटकीय क्षेत्रमा सञ्चालित होटल तथा लजलाई थप व्यवस्थित गर्ने योजना गाउँपालिकाले बनाएको छ ।

पर्यटकीय क्षेत्रमा होमस्टे सञ्चालन गर्ने, अम्जिलेसा–घुन्सा हुँदै कञ्चनजङ्घाको उत्तरी आधार शिविरसम्म पुग्ने पदमार्ग, हेल्लोक–चयराम हुँदै कञ्चनजङ्घाको दक्षिणतर्फको आधार शिविर जाने पदमार्गको स्तरोन्नति गर्ने कार्यक्रम पनि गाउँपालिकाले तय गरेको छ । त्यस्तै ग्रेट हिमालयन ट्रेलअन्तर्गत घुन्सा–नाङ्गोला हुँदै ओलाङ्चुङगोला पदमार्ग, ओलाङ्चुङगोला सिँजेमा ताल पदमार्गसमेत स्तरोन्नति गर्ने गाउँपालिकाले योजना बनाएको छ ।

उच्च हिमाली क्षेत्रका कारण लेक लाग्ने (उच्च उचाइ रोग) समस्यालाई समेत दृष्टिगत गरी कञ्चनजङ्घा आधार शिविर पाङ्पेमा, लोनाक, खम्बाचेन लगायतमा आपतकालिन अक्सिजन सिलिण्डरसहितको उपकरण राख्ने योजना पनि गाउँपालिकाले अघि सारेको छ । सो उपकरण ओलाङ्चुङगोलातर्फ मैवाटार, सिँजेमा ताल र तिब्बतसँगको सिमाना टिपताला भञ्ज्याङमासमेत राख्ने जनाएको छ ।

त्यसैगरी, सांस्कृतिक महत्वसहित पर्यटकीय गन्तव्यका रुपमा रहेका धार्मिक स्थलकोसमेत सौन्दर्यीकरण, संरक्षण र प्रवद्र्धनको योजना कार्यान्वयन गरिने भएको छ । गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसारका गतिविधि सञ्चालन गर्ने साथै पर्यटनका लागि पूर्वाधार विकास र अन्य आवश्यक पहलसमेत गाउँपालिकाले गर्दै जाने आगामी नीति तथा कार्यक्रम अवलम्बन गरेको छ।