• १३ वैशाख २०८१, बिहिबार

हेवाखोला डाइभर्सन निर्माण प्रयास

ह्युमपाइपले बहाव थेगेन, सवारी आवागमन अनिश्चित

blog

हेवाखोलामा डाइभर्सन निर्माणका लागि खटिएको प्राविधिक र स्काभेटर । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असार ११ गते । मेची राजमार्ग अन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गर्न राखिएको ह्युमपाइपले पानीको बहाव थेग्न नसकेपछि सवारी आवागमन अनिश्चित् भएको छ । 

असार ३ गतेको बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको ताप्लेजुङ र हेवाखोला पारी पाँचथरका तीनवटा स्थानीय तहको आवागमन अनिश्चित बनेको हो । आवागमन सहज बनाउने गरी सडक डिभिजन कार्यालयले दुई दिनदेखि डाइभर्सन निर्माणको प्रयास भए पनि परिणाम आएको छैन । 

आज (सोमवार) सम्ममा बाटो खुलाउनेभन्दै सडक डिभिजन कार्यालयले स्काभेटरको प्रयोग गरेर खोलामा ह्युमपाइप राखे पनि पानीको बहाब बढेपछि त्यसले काम चलेन ।   

६ वटामध्ये एउटा ह्युमपाइपले पानीको बहाव थेग्न नसके पनि निर्माणको काम जारी रहेको सडक डिभिजन कार्यालय ईलामका इन्जिनियर हरेराम रिमालले बताउनुभयो । बाढीले बगाएको ह्युमपाइप सोझ्याएर थप सामग्री झिकाएर कामलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।

यसैवीच बाढीका कारण पुल बगेपछि सडक सम्पर्क टुटेकाले मेची राजमार्गस्थित हेवाखोला घाटमा आइपुगेका संयौं सवारी साधन घण्टौं अलपत्रमा परेका छन् । 

हेवाखोलामा डाइभर्सन गर्ने काम सुरु भएलगत्तै आइतवार साँझदेखि यातायात सुचारु हुने भन्दै सामाजिक सञ्जालमा तथ्यहीन सूचना प्रवाह गरिएको थियो । सोही सूचनाका आधारमा संयौं सवारीसाधन हेवाखोला आइपुगेका थिए ।

बाटो खुल्ने सम्भावना नभएपछि यात्रुलाई सुरक्षित स्थानमा जान भनिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताउनुभयो ।