समृद्धिको जग (सम्पादकीय)

गत वर्ष नेपाल सरकारले प्रत्यक्ष रूपमा नागरिकसँग जोडिएका केही अत्यावश्यक कुरा एक वर्षभित्रमा पूरा गरिसक्ने वाचा गरेअनुरूप धैर कुरामा सफलता हासिल गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को मूल मन्त्रसाथ अघि बढेको सरकारले यसका लागि आवश्यक खास–खास पूर्वाधारको जग एक वर्षमा बसाइसकेको छ । जनताको समृद्धिका लागि अत्यावश्यक ठानिएका कुराको पहिचान गर्दै अघि बढ्नेक्रममा नयाँ वर्ष प्रारम्भ भएकै दिन थप नयाँ अभियान ‘खोलौँ बैङ्क खाता’ को शुभारम्भ गरिएको छ । राष्ट्रिय सभागृहबाट प्रारम्भ गरिएको यो अभियानमा सरकारी स्वमित्वका बैङ्कहरूका साथै निजी क्षेत्रका वाणिज्य बैङ्कमा पनि निःशुल्क रूपमा खाता खोल्ने अभियान चलाएर बैङ्क खाता नभएकालाई खाता खोल्न प्रोत्साहित गरिएको छ । आफ्नो स्पष्ट पहिचान खुलेको कुनै एक प्रमाणपत्र भए पुग्ने र निःशुल्क खोलिएको खातामा सम्बन्धित बैङ्कले नै एक सय रुपियाँ जम्मा गरिदिएर खाता सुचारू गरिदिने भएका छन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाल सरकारले प्रारम्भ गरेको एक अभियान हो । समृद्धि त्यसै आउने होइन । यसका लागि विकासका अत्यावश्यक क्षेत्रमा जनताको पहुँच पुग्नैपर्छ । हाम्रा दैनन्दिनका आधारभूत आवश्यकता– खाना, छाना र नानाको अभाव अझै पनि परिपूर्ति भइसकेको छैन । यी कुराको अभावबाट माथि उठिसकेपछि मात्रै हो, समृद्धिको यात्रामा अघि बढ्ने । यसका लागि सरकारले अनेक अभियान चलाइरहेकै छ । लामो समयको अस्थिरताबाट स्थिरताको बाटोमा यात्रा अघि बढेको छ । सरकारले गत एक वर्षमा शान्ति, एकता र विकासको लक्ष्यसाथ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को मूल मर्मलाई केन्द्रबिन्दुमा राखेर नीतिगत, कानुनी र संरचनागत जग बसाएकाले अब यो जगमा उभिएर तीव्र गतिमा यात्रा अघि बढाउनेतर्फ प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामना सन्देशमार्फत स्पष्ट पार्नुभएको छ । विकासमा पछि पर्नुका अनेक कारण छन् । शिक्षा, स्वास्थ्य, यातायात, ऊर्जा, बेरोजगारी यावत् कुरामा हामी पछि परेका छौँ । हाम्रो पछौटेपनको जरोमा पुगेर प्रतिबद्धतासाथ काम गर्न सरकारले आफूलाई अग्रसर देखाएकाले दिगो विकासका लागि तय गरिएको सन् २०३० सम्मको लक्ष्य पूरा हुनेमा विश्वस्त हुने आधार बन्दै गएको छ ।
सरकारले गत वर्ष कर्णालीप्रदेशको मनोरम स्थल रारातालबाट बालबालिकालाई विद्यालय भर्ना अभियान प्रारम्भ गरेको थियो । यो एक वर्षमा पूर्वप्राथमिक शिक्षामा हाम्रो विद्यार्थी भर्ना दर विश्वमै अग्रणी रहेको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले सार्वजनिक गरेको प्रतिवेदनले पुष्टि गरिसकेको छ । स्वास्थ्य क्षेत्रमा पनि अनेक अभियान सञ्चालित छन् । जनताको स्वास्थ्य बीमाको अभियान चलिरहेकै अवस्थामा अब ज्येष्ठ नागरिक स्वास्थ्य बीमाको छुट्टै कार्यक्रमसमेत सरकारले थप गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अघि बढिसकेको छ । सडक सञ्जाललाई त सरकारले मूल प्राथमिकतामा राखेकै छ भने रोजगारी सिर्जना गर्नेतर्फ जोड दिँदै बेरोजगारलाई ऋण सहयोग तथा बेरोजगार भत्तासमेत उपलब्ध गराउने उद्घोष भइसकेको छ । सरकारका यी यावत् अभियान शान्ति, विकास र समृद्धिका संरचनागत जग भएको प्रधानमन्त्रीबाट स्पष्ट पारिएको छ ।
बितेको एक वर्षमा सरकारले नीतिगत, कानुनी र संरचनागत जग बसाउन समय खर्चिएको यथार्थ सबैसामु जगजाहेर छ । ‘सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरणीय पद्धति, सबल लोकतन्त्र र राष्ट्रिय एकता र सम्मानपूर्ण जीवन’ लाई प्रधानमन्त्रीको वक्तव्यमा सुखीपनका सूचक भएको बताइएको छ । यसका साथै सुशासनको शत्रुका रूपमा भ्रष्टाचारलाई उल्लेख गर्दै सरकारले भ्रष्टाचार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्ने प्रतिबद्धताले सरकारले भ्रष्टाचार नियन्त्रणतर्फ विशेष कदम चाल्नेमा विश्वस्त हुन सकिन्छ ।
वर्षको पहिलो दिनबाट सरकारले प्रारम्भ गरेको अघिल्लो वर्षको बालबालिका भर्ना अभियानजस्तै यो वर्षको पहिलो अभियान ‘खोलौँ बैङ्क खाता’ ले पनि सफलता प्राप्त गर्नेछ भन्नेमा नागरिकको उत्साहले देखाइसकेको छ । बैङ्कमार्फत गरिने सबै काम पारदर्शी हुने हुनाले पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि यो अभियान आफैँमा महŒवपूर्ण छ । सरकारबाट उपलब्ध हुने सामाजिक सुरक्षाका अनेक आर्थिक कारोबार पारदर्शी ढङ्गले नागरिकलाई उपलब्ध गराउनलाई पनि बैङ्कमार्फत सहज हुने हुँदा सरकारको यो कदम अन्यन्त महŒवपूर्ण देखिन्छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds