वैदेशिक लगानीका आधार

ramesh paudelडा. रमेश पौडेल

अहिले वैदेशिक लगानीका सन्दर्भमा कुरा गर्ने वातावरण बनेको छ । सरकारले भर्खरै लगानी सम्मेलन सम्पन्न गरेको छ । देशमा शान्तिको वातावरण रहेको, विद्युत् आपूर्ति धेरै हदसम्म नियमित भएको र सरकारले लगानी भिœयाउने कुरालाई प्राथमिकतामा राख्छौँ भनिरहेकाले पनि नेपालमा लगानी धेरै–थोरै बढ्नेछ ।
कुनै पनि देशसँग लगानीको माग पूरा गर्ने शक्ति आफूसँग नहुँदा अरू पनि विकल्प छन् । जस्तै, सहयोग माग्ने वा ऋण खोज्ने । तर, ती विकल्पका आफ्नै व्यवस्थापकीय झन्झट छन् । महŒवपूर्ण कुरा त, सहयोग र ऋणबाट स्रोत जुटाउँदा आफ्नो प्रविधि र व्यवस्थापकीय कौशलमा जोखिमको मात्रा बढी हुन्छ । वैदेशिक लगानी आउँदा प्रविधि र व्यवस्थापकीय कौशलसमेत आउने हुँदा यसको छुट्टै महŒव छ । हो, वैदेशिक लगानीका केही दुर्गुण पनि छन् तर आज विभिन्न कारणले ती चर्चामा छैनन् । वैदेशिक लगानीका फाइदा विश्वस्तरमै प्राज्ञिक तहबाट बहस गरेरै स्थापित भएका छन् ।
वैदेशिक लगानीको महŒव छ भन्दैमा कुनै पनि देशमा यो त्यसै र सजिलोसँग आउँदैन । त्यसरी आउने भए अफ्रिकाले पनि यति लामो समयसम्म अविकसित रहनुपर्ने थिएन । लगानीकर्ताले विश्वास गर्ने आधार बन्नु नै नेपालजस्तो देशका लागि ठूलो चुनौती हो ।
यहाँ प्रश्न छ, दक्षिण एसियामा छिरेको वैदेशिक लगानीलाई नेपालमा कसरी भिœयाउन सकिन्छ ? अर्थात् हामीले दक्षिण एसियाका अरू देशभन्दा के कुरा वैदेशिक लगानीकर्ताका लागि दिन सक्छौँ भन्ने निक्र्यौल नगरेसम्म जतिवटा यस्ता सम्मेलन गरे पनि लगानी भिœयाउन गाह्रो पर्छ । त्यसैले वैदेशिक लगानीका लागि नेपाल यसरी विशिष्ट देश हो भन्ने कुरा प्रमाणित गर्नैपर्छ र लगानीकर्तालाई विश्वास दिलाउनैपर्छ । हामीले हाम्रो देशको भौगोलिक अवस्था र तुलनात्मक लाभको क्षेत्रलाई विशेष रूपमा पहिचान गरी भारत र चीनभन्दा सस्तो र विनाझन्झट उत्पादन गर्न कसरी सकिन्छ भन्ने प्रस्ट्याउन सक्नुपर्छ र सकिन्छ पनि ।
सस्तो र दक्ष श्रमशक्ति
प्रस्टै छ, उत्पादनका साधनमध्ये श्रमको लागतले वस्तु वा सेवा उत्पादनको लागतमा ठूलो हिस्सा ओगट्छ । श्रम शक्ति सस्तो पाउँदा लगानीकर्ताको नाफाको हिस्सा बढी हुने हुनाले उनीहरू लगानी गर्न आकर्षित हुन्छन् । मूलतः यही कारणले पूर्वी एसियाका देशमा वैदेशिक लगानी भित्रिएको हो । उनीहरूले औद्योगिक उत्पादनमा विगतका करिब चार दशकमा ठूलै फड्को मारे । त्यो उपलब्धि ‘पूर्वी एसियाको चमत्कार’ को नामले प्रसिद्ध छ । यही शृङ्खलाको पछिल्लो कडीका रूपमा भियतनाम र इन्डोनेसिया जोडिएका छन् । विदेशी लगानी भिœयाउने यो गतिलो आधारको तयारी नगरेसम्म वैदेशिक लगानी भित्रिने अवस्था छैन ।
आज विभिन्न कारणले हाम्रो श्रमको लागत छिमेकी देशको तुलनामा धेरै सस्तोे छैन तर थोरै मिहिनेत गर्दा सस्तो हुन सक्छ । सम्भावित लगानीकर्ताले कस्तो जनशक्ति चाहन्छन् भनेर आजैबाट तयारी गर्न सकियो भने आगामी पाँच वर्षमा वैदेशिक लगानी भिœयाउने गतिलो आधार हाम्रो जनशक्ति बन्न सक्छ तर त्यसका लागि मूर्त योजना बनाउनु आवश्यक छ । मूलतः प्राविधिक शिक्षाको अभावले हाम्रो जनशक्तिले लगानीकर्तामा उत्साह थपेको छैन । प्रधानमन्त्री केपी ओलीले यो कुरा बुझेरै प्राविधिक शिक्षामा जोड दिने भन्नुभएको छ । यो भावनालाई समेटेर मूर्त योजना बनाउँदा देशलाई फाइदा होला । अहिले कसरी हाम्रो जनशक्तिलाई भारत र चीनको भन्दा बढी उत्पादनशील बनाउन सकिन्छ भन्ने चुनौती छ । काम गर्न सक्ने उमेरकोे जनसङ्ख्यालाई कम्तीमा उत्पादनका हिसाबले अर्धदक्ष र दक्ष जनशक्तिमा रूपान्तरण गर्नु आवश्यक छ ।
विशाल बजार
जनसङ्ख्या ठूलो भएका देशहरू पनि वैदेशिक लगानीका आकर्षण छन् । राम्रो क्रयशक्तिसहितको बजारमा पहँुच भएमात्र लगानीकर्तालाई आकर्षण थपिन्छ । भारतमा वैदेशिक लगानी भारतबाट निर्यात बढाउनेभन्दा पनि भारतकै आन्तरिक बजारलाई दृष्टिगत गरेर आएका छन् भन्ने गरिन्छ । जब कि ठूलो जनसङ्ख्या भए पनि चीनमा आएको वैदेशिक लगानी चीनबाट निर्यात गर्ने लक्ष्यले भित्रिएको छ । नेपाल आफैँ पनि जनसङ्ख्याको हिसाबले सानो देश होइन । छिमेकी दुई ठूला देशको बजार पनि हाम्रो समीपमै छन् । तर, त्यसका लागि नेपालले दिगो पूर्वाधार विकासमा जोड दिएर छिट्टै केही गर्दै छ भन्ने विश्वास दिलाउनुपर्छ । चीनको ओवोर, सिल्करोडजस्ता मेघा प्रोजेक्टले पनि नेपालको
(कनेक्टिभिटी) सम्पर्क सञ्जालमा केही सकारात्मक असर ल्याउला नै ।
हामीले व्यापार सहजीकरणका लागि चाहिने यावत् कुरामा एकैपटक सुधारका सङ्केत देखिनेगरी काम गर्नु आवश्यक छ । सरकारले व्यापार कूटनीतिलाई आफ्नो कूटनीतिको अङ्ग बनाउनु आवश्यक देखिन्छ, जसबाट अन्तर्राष्ट्रिय बजारमा नेपालको उत्पादनले सहज पहुँच स्थापना गर्न सक्नेछ । अहिले विश्वमा चलेको सञ्जालमा आधारित उत्पादन प्रणालीमा कसरी सामेल हुन सकिन्छ भन्ने कुराको विश्वास लगानीकर्तालाई जति छिटो दिन सकिन्छ, त्यति वैदेशिक लगानी हाम्रा लागि सहज हुनेछ ।
उपलब्ध प्राकृतिक साधन र स्रोत
पछिल्ला वर्षहरूमा अफ्रिकी देशहरू आफ्नो प्राकृतिक साधन र स्रोत देखाएर वैदेशिक लगानी भिœयाउन सफल भएका छन् । देशमा त्यस्ता साधन उपलब्ध हुँदा त्यसको दोहन गरेर नाफा कमाउने लक्ष्यसाथ वैदेशिक लगानी भित्रिन्छन् । अफ्रिकामा उपलब्ध कृषिका लागि राम्रो वातावरण, विभिन्नप्रकारका खनिजजन्य र पेट्रोलियम पदार्थका स्रोत आदिको दोहन गर्ने हिसाबले भारत, चीन र अन्य विकासशील देशबाट समेत थुप्रै वैदेशिक लगानी भित्रिएका छन् । त्यसैको उपज हो, आजको अफ्रिकाको आकर्षक विकास ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा प्राकृतिक ग्यास, फलाम, युरेनियमजस्ता खनिज पदार्थ र हावाबाट निकालिने विद्युत््बारे रामै्र प्रयत्न भएका थिए । भलै कसैले बुझे कसैले बुझेनन् । समय अभावमा ती प्रयासले परिपक्व स्वरूप लिन पाएनन् तर अहिले उहाँसँग अनुकूलता छ, सम्बन्धित मन्त्री र नीति निर्माताले पहल गर्दा वैदेशिक लगानीको महŒवपूर्ण आधार हुन सक्छ ।
हामीले वर्षौंदेखि नेपाल प्राकृतिक साधनमा धनी छ भन्दै आएका छौँ । हरियो वन, नेपालको धन पनि भनेकै छौँ तर यी सबैको उचित प्रयोग गर्न चुकेका छौँ । प्रकृति, पर्यावरण, हावापानी आदिलाई कुनै नकारात्मक असर नपार्नेगरी तिनीहरूको दोहन राष्ट्रिय अर्थतन्त्रका पक्षमा गर्न सकिन्छ । यसतर्फ पनि हामीले ध्यान पु¥याउनु आवश्यक छ ।
घना जङ्गलको व्यवस्थापनमै पनि इन्डोनेसियाको उदाहरण महŒवपूर्ण बन्न सक्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको हाम्रो जङ्गल दीर्घकालीन आय गर्ने र वैदेशिक लगानीका लागि विशेष आधार हो जो अरू धेरै देशसँग छैन ।
देशको ७० प्रतिशतभन्दा बढी जमिन त अहिले पनि सरकारकै नाममा छ । त्यसको उचित प्रयोग गर्ने नीति ल्याउँदा समग्र विकासका लागि नै अवसर बन्न सक्छ । दसौँ हजार स्थान त हाम्रो देशका पर्यटकीय स्थल बन्न सक्छन् । आवादी, कृषि जमिनबाहेक पनि हामीसँग थुप्रै भूमि बाँकी छन्, त्यो भूमिको उचित सदुपयोग गर्ने नीति अवलम्बन गर्दा पनि मनग्य विदेशी लगानीका लागि आधार तयार हुनेछन् ।
सुशासनको स्तर
विकासवादी अर्थशास्त्रीहरूबीचमा राष्ट्रिय उत्पादन र उत्पादकत्व बढाउन सुशासनको भूमिकाबारे नेपालमै पनि पर्याप्त छलफल भएका छन् । सुशासन र नीतिगत स्थायित्व हुँदा आफ्ना योजना र रणनीतिले सफलता पाउने सम्भावना बढी हुने हुनाले लगानीकर्ता त्यस्ता देशलाई लगानीको प्राथमिकतामा राख्छन् । पछिल्लो समय भियतनाम त्यसको उदाहरण बनेको छ । आधा दशकअघिसम्म भियतनाम संसारको निरङ्कुश देश भन्नेहरू नै पछिल्ला वर्षहरूमा त्यहाँ लगानी गर्न गएका छन् । भियतनामले नीतिगत रूपमा गरेका परिवर्तन, स्थिरता र सुशासनकै कारण यसो भएको हो । सुशासन हँुदा व्यवसायको अप्रत्यक्ष लागत स्वात्तै घट्छ भन्ने विश्वव्यापी मान्यता छ । गएको दशकसम्म पनि भारतभन्दा चीन लगानीकर्ताको प्राथमिकतामा पर्नुको मूल कारण यही हो । र, यो क्रम आज पनि रोकिएको छैन । अहिले पनि भारतमा उद्योग खोलेर सञ्चालनमा ल्याउने समयभन्दा चीनमा उद्योग खोलेर सञ्चालनमा ल्याउने समयको बीचमा ठूलो अन्तर छ ।
माथि उल्लिखितबाहेक अन्य केही पनि हाम्रो देशको परिवेशमा वैदेशिक लगानीका आधार हुन सक्छन्, अनुसन्धानले प्रस्ट्याउने वातावरण बने राम्रै हुनेछ । माथिकामध्ये थोरैमा पनि कुनै एकमा विश्वमै गणनायोग्य नभएसम्म उल्लेखनीय परिणाममा वैदेशिक लगानी भित्रिन सजिलो छैन । के देखाउने ः सस्तो श्रम, विशाल बजार, सुशासन, प्राकृतिक साधन–स्रोत वा अन्य केही ? हुँदा र सक्दा यस्ता धेरै आधार बनाउनु नै वैदेशिक लगानी आकर्षित गर्न सजिलो बन्नेछ र हामीले खोजेको विकास र समृद्धिका लागि आधार तयार हुनेछ । त्यसो गर्न सकियो भनेमात्र लगानी सम्मेलनमा सरकारले गरेको मिहिनेत सार्थक देखिनेछ, परिणाम आउनेछ ।

(लेखक काठमाडौँ विश्वविद्यालयमा अनुसन्धाता हुनुहुन्छ । )

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds