• ७ वैशाख २०८१, शुक्रबार

बसाइँ सरी आउनेलाई दुहुनो गाई उपहार

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, असार ११ गते । सुनकोशी गाउँपालिका ओखलढुङ्गाले बसाइँ सरी आउनेलाई दुहुनो गाई उपहार दिने भएको छ । गाउँपालिकाको १३ औँ गाउँ सभाले बसाइँ सरेर आउने परिवारलाई ३० हजार बराबरको दुहुनो गाई उपहार दिने नीति पारित गरेको हो । 

गाउँपालिका अध्यक्ष कमल तामाङले गाउँ सभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ । यसका साथै युवालाई स्वरोजगार बनाउने कार्यक्रमहरू नीति तथा कार्यक्रममा ल्याइएको छ । 

स्थानीय स्तरमै स्वरोजगारीको अवसर प्रदान गरेर युवाशक्ति विदेश पलायन हुने क्रमलाई रोक्न पालिकाले 'विदेश नजाऔँ गाउँमै कमाऔँ घरमै, रमाऔँ' अभियान चलाउने भएको छ । गाउँपालिकाको १३ औँ गाउँ सभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै पालिका अध्यक्ष तामाङले युवालाई सीपसँग जोडेर समृद्धि यात्रा तय गरिने बताउनुभयो । 

'विदेश नजाऔँ गाउँमै कमाऔँ, घरमै रमाऔँ' भन्ने अभियान अन्तर्गत युवालाई सीप र आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेर व्यवसायमा प्रोत्साहन गरिने अध्यक्ष तामाङको भनाइ छ । अध्यक्ष तामाङले प्रस्तुत गर्नुभएको लोकप्रिय कार्यक्रम सहितको नीति तथा कार्यक्रममा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, ज्येष्ठ नागरिकसँग अध्यक्षदेखि सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमसम्म समेटिएका छन् । 

उज्यालो सुनकोशी अभियान आगामी वर्ष पुरा गरिने भएको छ । आगामी आर्थिक वर्षभित्र सबै घरघरमा विद्युत पुर्‍याइने नीति कार्यक्रममा उल्लेख छ । जनता खानेपानी कार्यक्रम चलाएर एक घर एक धारा अभियान अन्तर्गत सबै घरघरमा स्वच्छ पानी उपलब्ध गराइने छ । 

कृषि क्षेत्रमा लगानी बढाउने, शिक्षामा गुणस्तर वृद्धि गर्ने, स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका गाउँटोलमा स्वास्थ्य इकाई स्थापना गर्ने, क्यान्सर पीडितको उपचारका लागि शिविर चलाउने, जीविकोपार्जनका लागि घुम्ती कोष सञ्चालन गर्ने लगायतका नीति कार्यान्वयनका लागि उपाध्यक्ष सुनिता अधिकारीले आगामी वर्षको बजेट प्रस्तुत गर्नुभएको छ । उक्त कार्यक्रमहरू कार्यान्वयन गर्न उपाध्यक्ष अधिकारीले आगामी वर्षका लागि ६० करोड ७१ लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । यसका गर्भवती महिलालाई फोनिङ कार्यक्रम सञ्चालन हुने भएको छ । 

पालिकाभित्रका सबै गर्भवती महिलालाई समयमै गर्भजाँच गराउन र सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थाका इन्चार्जहरूले गर्भवतीलाई फोन गरेर स्वास्थ्य संस्था बोलाउने कार्यक्रम राखिएको हो । उपाध्यक्षसँग सुत्केरी कार्यक्रम चलाएर सुत्केरी आमा र नवजात शिशुलाई पौष्टिक आहारा कोशेली दिने कार्यक्रम राखिएको छ । 

ज्येष्ठ नागरिक तथा महिला स्वास्थ्य स्वयं सेविका सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको छ । सुनकोशी गाउँपालिकाले मृत्यु संस्कार खर्च पाँच हजार दिने कार्यक्रमलाई निरन्तरता दिँदै पोष्ट मार्टम गर्नुपर्ने भएमा यातायात खर्च बापत पालिकाले पाँच हजार खर्च दिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।