• ७ वैशाख २०८१, शुक्रबार

नेपाललाई सान्त्वना जितको आशा

blog

फाइल तस्बिर ।

काठमाडौँ, असार ११ गते । साफ च्याम्पियन्सीप २०२३ मा नेपालको चुनौती समाप्त भइसकेको छ । यद्यपि समूह चरणको अन्तिम खेलमा पाकिस्तानविरुद्धको खेल नेपालका लागि विभिन्न अर्थमा महत्त्वपूर्ण हुनेछ ।

दुई देशबीचको अन्तर्राष्ट्रिय खेल त्यसै पनि विशेष हुन्छ । साफ च्याम्पियन्सीपमा नेपालले १५ वर्षयता पाकिस्तानलाई हराउन सकेको छैन । पाकिस्तानलाई हराएर नेपाल साफ च्याम्पियन्सीपको समूह चरणमा तीन खेलमा हारको खराब रेकर्डबाट पनि उम्किन चाहन्छ ।

नेपाल मात्र होइन पाकिस्तान पनि बाहिरिइसकेको छ । त्यसैले पाकिस्तानलाई पनि नेपालविरुद्धको भिडन्त प्रतिष्ठा जोगाउने भिडन्त हुनेछ । यी दुवै टिम सान्त्वना जितका साथ घर फर्कने दाउमा छन् ।

पाकिस्तानको खराब लय

नेपाल पहिलो खेलमा आमन्त्रित कुवेतसँग ३–१ र गत विजेता तथा घरेलु टिम भारतसँग २–० ले पराजित भएको थियो । यी दुवै खेल हारेपनि रूपान्तरणको चरणमा रहेको नेपाली टिमले आफ्नो छवि गिर्न दिएको छैन ।

कुवेतविरुद्ध दोस्रो हाफ र भारतविरुद्धको पहिलो हाफमा नेपालको प्रदर्शन तारिफयोग्य थियो । पाकिस्तानको प्रदर्शन भने दुवै खेलमा कमजोर रह्यो ।

फिफाको प्रतिबन्धका कारण पछिल्लो साफ च्याम्पियन्सीप खेल्न नपाएको पाकिस्तान करिब सात महिनाअघि मात्र अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो । दशरथ रङ्गशालामा नेपालविरुद्ध नै खेलेर पाकिस्तानले पुनरागमन जनाएको हो । सो खेलमा पाकिस्तान १–० ले पराजित भएको थियो ।

अझ त्यसपछि पाकिस्तानले खेलेका पाँच खेलमा पनि जित हात पार्न सकेको छैन । साफको तयारी स्वरूप पाकिस्तान टिम मौरिससमा भएको तीन राष्ट्र सहभागी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो ।

सो प्रतियोगितामा पाकिस्तान चारै खेलमा पराजित भयो । चालू साफ च्याम्पियन्सीपमा पनि पाकिस्तानले भारत र कुवेतविरुद्ध समान ४–० को हार बेहोरेको छ ।

नेपाललाई अवसर 

त्यसैले नेपालसमक्ष भोलि सान्त्वना जित हात पारेर शिर ठाडो पार्दै घर फर्किने राम्रो अवसर छ । प्रशिक्षक भिन्सेन्जो अलवर्टो एनिसले आफू टाउको निहुराएर हार स्विकार्ने व्यक्ति नभएको र अन्तिम खेलमा पाकिस्तानलाई हराएर नेपाल फर्कने बताउनुभएको छ ।

इटालियाली प्रशिक्षक एनिस भन्नुहुन्छ– पाकिस्तानविरुद्धको अन्तिम खेलमा उत्कृष्ट फुटबल खेलेर जित हात पार्नेछौँ । कम तयारीमा पनि पर्याप्त प्रयास गरेका हौँ । खेल नराम्रो भइरहेको छैन । खेलाडीहरू उच्च मनोबलमा रहेको छ । मैले प्रशिक्षण सम्हालेयता नेसन्सदेखि अहिलेसम्म राम्रो सुधार आइसकेको छ । सासाना गल्तीले मात्र खेल हारिरहेका छौँ ।

साफ च्याम्पियन्सीपका दुवै खेलमा पनि हामीले आफ्नै गल्तीको मूल्य चुकाएका हौँ  पाकिस्तानविरुद्ध यी गल्तीमा सुधार गर्नुपर्नेछ । साफ च्याम्पियन्सीपमा विना अभ्यासमा जसरी खेलिरहेको छ, म उनीहरूलाई शतप्रतिशत अङ्क दिन्छु ।

उहाँले साफ च्याम्पियन्सीपमा खेल जितेर मात्र नेपाली फुटबलको स्तर वृद्धि भयो भन्न नमिल्ने बनाउनुभयो । हुनपनि नतिजा नआएपनि नियमित खेलाडीहरू बिदेसिएको र टिम रूपान्तरणको स्थितिमा रहँदा पनि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो खेलिरहेको छ ।

पाकिस्तानका सहायक प्रशिक्षक तोर्बेल विटाजेवस्कीले अनुभव नहुँदा हारको नतिजा आइरहेको भनाई राख्नुभएको छ । उच्च स्तरमा जित हासिल गर्न धेरै अनुभव चाहिन्छ । एक टिमको रूपमा अझ धेरै खेल्नुपर्छ ।

हुनपनि यसपालि साफ आउँदा पाकिस्तानको टिमलाई कमजोर मानिएको थिएन । विदेशमा खेल्ने आधा दर्जनभन्दा बढी टिम समावेश गरेर पाकिस्तानी टिम भारत आएको हो ।

हेड टु हेड

यी दुई टिमले एकअर्कास्ँग खेलेको इतिहास नियाल्ने हो भने खासै भिन्नता देखिँदैन । नेपाल र पाकिस्तानबीच कूल १७ पटक भिडन्त भएको छ । जसमा नेपालले छ र पाकिस्तानले पाँच खेल जितेका छन् । बाँकी छ खेल बराबरीमा सकिएको थियो ।

साफ च्याम्पियन्सीपमा नेपालले पछिल्लो पटक पाकिस्तानलाई सन् २००८मा पराजित गरेको थियो । त्यसपछि यस प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपालले जित हासिल गर्न सकेको छैन ।

साफ च्याम्पियन्सीपमा यी दुई टिमबीच सात पटक आमनेसामने हुँदा नेपालले दुई र पाकिस्तानले दुई खेल जितेका छन् । तीन खेल बराबरीमा सकिएको थियो ।

अञ्जन घाइते

पछिल्लो पटक एएफसी च्यालेन्ज कपको तयारीको क्रममा मैत्री खेलमा यी दुई टिमले एकआपसका खेलेका थिए । दशरथ रङ्गशालामा भएको सो खेल अञ्जन विष्टको निर्णायक गोलबाट नेपालले आफ्नो पक्षमा पारेको थियो ।

तर मङ्गलबारको खेलमा अञ्जनको उपस्थिति हुनेछैन । अन्जन विष्ट घाइते  हुनुहुन्छ । अञ्जनलाई भारतविरुद्धको खेलमा चोट लागेको हो । सो खेलमा उहाँ मध्यान्तरअघि नै मैदान छोड्न बाध्य बन्नुभएको थियो । पाकिस्तानविरुद्ध खेल अञ्जनका लागि नेपालका लागि सर्वाधिक कीर्तिमान गोलको कोशेढुङगा छुनसक्ने खेलको रूपमा लिइएको थियो ।

प्रशिक्षक एनिसले अञ्जनले खेल्न नसक्ने जानकारी दिनुभयो । उहाँलाई घुँडामा चोट लागेको छ । उहाँको एमआरआइ भएको छ । रिपोर्ट आएको छैन । तर उहाँले खेल्न सक्नुहुने छैन– प्रशिक्षक एनिसको भनाई छ ।

प्रयोग गर्ने मौका

पाकिस्तानविरुद्धको खेलमा प्रशिक्षक एनिससँग नेपाली टिममा केही प्रयोग गर्ने मौका पनि छ । सेमिफाइनलको होडबाट बाहिरिइसकेको अवस्थामा प्रशिक्षक एनिसले नेपालका कप्तान तथा गोलरक्षक किरण लिम्बुलाई बेन्चमा राखेमा गलत निर्णय हुने छैन ।

अहिले गोलरक्षक पक्षमा नयाँ खेलाडीलाई तयार पार्न पनि अत्यावश्यक भइसकेको छ  । नेपाली टिममा विशाल श्रेष्ठ र दीप कार्कीको रूपमा दुई वैकल्पिक गोलरक्षक हुनुहुन्छ । पाकिस्तानविरुद्ध भविष्यको गोलरक्षकको रूपमा हेरिएका दीपलाई अवसर दिन सकिन्छ । डिफेन्समा पनि रोहित र अनन्तमध्ये एकलाई बेन्चमा राखेर नयाँ डिफेन्डरहरुलई अनुभव दिएमा पनि त्यसले भविष्यका लागि राम्रो गर्नेछ ।

तर यसका लागि प्रशिक्षक एनिसले जोखिम भने लिनै पर्नेहुन्छ । युवा खेलाडीको पक्षमा बोलिरहने भएकोले पनि एनिसले पाकिस्तानविरुद्ध केही प्रयोग गर्ने लिने अपेक्षा गर्न सकिन्छ ।