मानवशास्त्री बिष्टको जीर्ण बन्दै कर्णाली इन्स्टिच्युट

नेत्र शाही 

जुम्ला, वैशाख २ गते । मानवशास्त्र तथा समाजशास्त्रका पिता मानिने डोरबहादुर बिष्ट नेपालको परिचित नाम हो । बिष्टले नेपालको विभिन्न अनुसन्धानमध्ये २०४२ सालमा जुम्लामा पुग्दा यहाँको सामाजिक, आर्थिक वस्तुस्थिति बुझेपछि जुम्लाको एक कुनै गाउँ खोजेर अनुसन्धान गर्ने र केही विकास गर्ने उद्देश्यले जुम्ला रोज्नु भएको थियो ।
जुम्ला सदरमुकामदेखि १० कोस पूर्वीउत्तर क्षेत्रमा पर्ने चौधबीस क्षेत्रमा बसेर उहाँले कर्णालीका खस जातिको अवस्था अध्ययन र त्यहाँको विकासलाई आधुनिकतातिर लैजान एक संस्था समेत स्थापना गर्नुभएको थियो । २०४२ सालमा जुम्लाका तत्कालीन नेता स्वर्गीय भीमप्रसाद श्रेष्ठसँग जुम्ला आउनुभएका डोरबहादुरले हालको पातारासी गाउँपालिका वडा नं. ६ डोलकाटीमा स्थापना गर्नुभएको ‘कर्णाली इन्स्टिच्युट’ अहिले जीर्ण अवस्थामा छ । bista

क्याप्सन : मानवशास्त्री तथा समाजशास्त्री डोरबहादुर बिष्टले निर्माण गर्नुभएको कर्णाली इन्स्टिच्युट

बिष्टले सोही इन्स्टिच्युट’ मार्फत जुम्लाको तत्कालीन डिल्लीचौर गाविसको चौधबीस क्षेत्रमा गुणस्तरीय शिक्षा, बिजुलीलगातय थुप्रै काम थालनी गर्नुभएको स्मरण अहिले चौधबीसवासीहरुका लागि सम्झना मात्रै भएको छ ।
बिष्टले २०५० सालमा डिल्लीचौरमा रहेको ऋणमोक्ष मा.वि डिल्लीचौरको आधुनिक भवन निर्माण, तिर्खु गाउँमा १ किलोवाटको बत्ती, जम्न र लासी गाउँमा समेत बत्ती बालेर उज्यालो दिन सुरु गर्नुभएको कर्णाली इन्स्टिच्युटका कर्मचारी तथा तिर्खु गाउँका मुखिया पुण्यबहादुर बोहराले जानकारी दिनुभयो । उहाँले चौधबीसमा बिष्टको योगदानको सबैले स्मरण गर्ने गरेको बताउनुभयो । जुम्लाबाट फर्किएपछि उहाँ कता जानुभयो भन्ने थाहा नपाउँदा आफूहरू आश्चर्यमा परेको चौधबीसवासीको भनाइ छ । बिष्टले चौधबीसका धुलाम्मे बाटोहरुमा ढुङ्गा बिछ्याएर बाटो बनाउने, छुई प्रथा अन्त्यका लागि गाउँ गाउँ गएर अन्तरक्रिया गर्नेदेखि खस सभ्यताको अध्ययन समेत गर्ने काम समेत गरेका बोहराले बताउनुभयो ।
यति मात्रै नभई उहाँले विद्यालयमा दक्ष स्वदेशी तथा विदेशी शिक्षक ल्याएर अङ्ग्रेजी शिक्षा दिनेदेखि सामाजिक विकासका विभिन्न कार्यक्रमहरु थालनी गर्नुभएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले जानकारी दिनुभयो ।
२०५२ सालमा जुम्लाबाट घर जान्छु भनेर जहाज चढेका बिष्ट अहिलेसम्म फेला पर्नु भएको छैन । बिष्ट पक्कै पनि फर्किनुहुन्छ भन्ने आशा गर्दागर्दै २३ बर्ष बित्यो तैपनि अझै आशामा हुनुहन्छ कर्णाली इन्स्टिच्युटका कर्मचारी बोहरा । समाजशास्त्री बिष्ट सहकर्मी बोहराको तिुर्ख गाउँको घरमा समेत बस्नुभएको थियो । माटोको घरमा, दाउराको आगो बालेर उज्यालो दिने जुम्लाको चलनलाई देखेर बिजुली बाल्ने अभियानकर्ताका रुपमा उहाँले काम गरेको बोहरा सम्झिनुहुन्छ ।
बिष्टले स्थापना गर्नुभएको कर्णाली इन्स्टिच्युट जीर्ण अवस्थामा छ । बाहिरबाट हेर्दा भवन राम्रै देखिन्छ तर भित्र छाना छाएका काठहरु चोरी हुनुका साथै द्वन्द्व कालमा हजारौँ किताब रहेको पुस्तकालयको निसाना रहेन । सो घरमा ताला लगाउने काम भने गरिँदै आएको छ ।
अहिले स्थानीय सरकार पातारासी गाउँपालिकाले सो भवन तथा संस्थाका संरक्षणको लागि भन्दै १० लाख रुपियाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर थापाले जानकारी दिनुभयो । भवनलाई अब बिष्टको परिवारसँग सल्लाह गरेर गाउँपालिकाले सरकारी कामकाजका रुपमा प्रयोग गर्न पहल गरिने अध्यक्ष बोहराले जानकारी दिनुभयो ।
सो संस्थाको गाउँपालिका अध्यक्ष बोहरा, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेसहित त्यहाँ पुगेर अवलोकन गर्नुभएको छ । संस्थाको परिसरमा बोटविरुवा भने अझै छन् ।
समाजशास्त्री बिष्ट २०५२ साल पुस २७ गते नेपाल एयरलाइन्सको जहाज चढेर जुम्लाबाट नेपालगञ्जका लागि उडेपछि सम्पर्कविहीन हुनुभएको कर्णाली इन्स्टिच्युटका कर्मचारी बोहराले बताउनुभयो ।
१९८३ साल माघ ४ गते ललितपुरमा जन्मनुभएका बिष्टले बेलायतबाट उच्च शिक्षा लिनुभएको थियो । उहाँले सामुदायिक विद्यालयमा शिक्षक, प्रधानाध्यापक हँुदै त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक र विभागीय जिम्मेवारी सम्हाल्नुभएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds