सिञ्जा पर्यटकीय गन्तव्यको सूचीमा

खलङ्गा, वैशाख १ गते । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जाले पर्यटकीय गन्तव्यको पहिचान पाएको छ । भाषा साहित्यको महत्व बोकेको सिञ्जा सभ्यता यतिखेर सङ्कटमा छ । यहाँका शिलालेख, ऐतिहासिक स्थलहरू, पाण्डव गुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरलगायत यहाँका काष्ठकला सबै असरल्ल अवस्थामा छन् । अहिले तिनको भग्नावशेष मात्रै भेटिन्छन् । सिञ्जा सभ्यताको संरक्षणतर्फ अहिलेसम्म न राज्यको ध्यान गयो, न त कुनै गैरसरकारी संस्था वा स्थानीयवासीको । सरकारी पक्षबाट पर्यटन प्रवद्र्धनका कुरा गरिए पनि अहिलेसम्म देखिने गरी काम भएको छैन ।

सिञ्जा सभ्यता सङ्कटमा पर्दै गएकामा चिन्तित सिञ्जाका ८३ वर्षीय लोकप्रसाद आचार्यले अहिले खुशी छन् । सबै सिञ्जा सभ्यतासँग जोडिएका सम्पदा संरक्षण नभए पनि कम्तीमा पर्यटकीय गन्तव्यको सूचीमा पार्ने काम भएबाट उनी खुशी भएका हुन् । विगतमा पटक–पटक सिञ्जा सभ्यताको संरक्षणका विषयमा पहल गर्दा पनि सुनुवाइ नभएर निराश बनेका जुम्लावासी यस कदमबाट उत्साहित देखिएका छन् ।

पर्यटकीय क्षेत्रको सम्भावना बोकेको सिञ्जा क्षेत्र मात्रै सूचीमा पर्नु दुःखद् भएको नागरिक समाज अध्यक्ष राजबहादुर महतले बताए । उनका अनुसार यहाँका कृषि, लोक संस्कृति र भाषालाई राज्यले दृष्टि पु¥याउनुपथ्र्यो । स्थानीयवासी धनलाल प्याकुरेलले भने – “सिञ्जा सभ्यता नेपालीको शान हो । सबै सम्पदाको संरक्षण गरी पर्यटन गतिविधि बढाउन स्थानीय सरकारलाई सुझाव दिन चाहन्छु ।”

रारा पर्यटन वर्ष घोषणा भएपछि पर्यटकको घुइँचो लाग्छ भन्ने सोचिएको थियो तर त्यसो भएन । पाण्डवगुफा ४ की शर्मिला खत्रीले भनिन् – “सिञ्जा सम्पन्न र पहुँच भएको राज्य भएका ऊ बेला विकास गर्न सकिएन । सभ्यताको महत्व पनि बुझ्न सकिएन । अहिले केन्द्रीकृत राज्य भइसकेपछि सिञ्जाले चाहेको कुरा पनि पाउन सकेको छैन । बल्ल पर्यटकीय गन्तव्यको सूचीमा पर्दा ढिलै भए पनि न्याय भएको महशुस भएको छ ।” जुम्लावासी स्वयं सिञ्जा सभ्यताको संरक्षण, प्रवद्र्धन र जगेर्नामा लाग्नुपर्ने धारणा उनी राख्छिन् । सिञ्जा सभ्यताका अन्वेषक वासुदेव उपाध्यायले भने – “नेपालमा बोलिने सम्पूर्ण भाषाको सरकारले संरक्षण गरेको छ तर, नेपाली भाषाको उत्पत्ति भएको खस भाषाको विषयमा सरकार सुन्न पनि चाहँदैन । पर्यटकीय गन्तव्यमा पर्दैमा सभ्यताको न्याय हुन्छ भन्न सकिँदैन ।”

कर्णाली प्रदेशको केन्द्र सिञ्जालाई नेपाली भाषाको उद्गम स्थल मानिन्छ । सिञ्जाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखहरूमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रूप फेला परेकाले सिञ्जालाई उद्गम स्थल भनिएको संस्कृतिका जानकार एवं खस भाषाका अध्येता रमानन्द आचार्यले बताए । उनले साविकको जिल्ला विकास समिति जुम्लाको सहयोगमा खस भाषाको शब्दकोश समेत बनाइरहेका छन् । उनले ‘खसिया आखर’ नामक खस जुम्ली भाषाको शब्दकोश लेखिरहेका छन् जसमा सिञ्जा सभ्यता वर्णित छ ।

इतिहास मुताबिक आजभन्दा ३४६० वर्षअघि अर्थात् इशापूर्व १४४५ मा राजा जालन्दरले सिञ्जा राज्य स्थापना गरेका थिए । राजा जालन्दरले शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर सि र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ बाट जोडेर सिञ्जा नाम रहन गएको जनश्रुति भेटिन्छ  । जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिञ्जामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ । पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ । स्थानीय समाजसेवी पूर्णप्रसाद धिताल भन्छन् – “यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गर्न थालिएको हो ।”

खस राजा नागराज र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करीव ३०० वर्षसम्म शासन गरेका थिए । खस राजाले नेपाल उपत्यकामा दुई पटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ । त्यस अवधिमा सिञ्जा क्षेत्र राजधानी मात्र होइन एक चर्चित सभ्यताका रूपमा विकास भएको हो । सिञ्जा सभ्यता विकासको लामो शृङ्खला छ ।

सिञ्जा सभ्यतामा दरबारसम्म पहुँच भएका ब्राह्मणहरूले राज्यबाट भूमि दान वा कृपा प्राप्त गरेका थिए । तिनीहरूलाई राज्यको कर लाग्दैनथ्यो । राजकाजमा सल्लाहकार, राजदूत, धर्माधिकारी, न्यायाधिकारी र प्रशासनिक कर्मचारीमा ब्राह्मणहरू कार्यरत रहेको इतिहास भेटिने गरेको धिताल बताउँछन् । कर्णाली प्रदेशका खस ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सुनार, सार्की र सन्न्यासी मष्टो मान्ने भएकाले यिनीहरू प्रकृतिपूजक भएको विद्वान्हरु मान्छन् । यसबाट कर्णालीका खसहरू आदिवासी हुन् भन्न सकिन्छ ।

सिञ्जाका राजा पृथ्वी मल्ल लगायतका राजाको ताम्रपत्र, कनकपत्रमा करको उल्लेख भएबाट मुलुकमा करको चलन सिञ्जाबाटै भएको अनुमान गर्न सकिन्छ । सिञ्जालगायत कर्णाली प्रदेशमा मध्यकालमा निर्माण भएका ढुङ्गे देवल, मुग्राहा, वीरखम्ब, कीर्तिखम्बहरूले पनि सिञ्जा सभ्यताको ऐतिहासिकतालाई झल्काउँछन् ।

सिञ्जा सभ्यताको संरक्षण तथा प्रबद्र्धनमा गाउँपालिकाले विशेष योजना अघि सार्ने सिञ्जा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले बताए । उनले भने – “पर्याप्त बजेट छुट्याएर सिञ्जा सभ्यतासँग जोडिएका सम्पदाको सरंक्षण गर्छौं ।” सिञ्जा क्षेत्रमा पर्ने हिमा र कनकासुन्दरी गाउँपालिकाले पनि सिञ्जा सभ्यताको जगेर्ना गर्ने अभियानमा हातोमालो गर्ने प्रतिबद्धता जनाएका छन् ।   (रासस) 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds