• ८ वैशाख २०८१, शनिबार

पाँच वर्षसम्म यो गठबन्धनले नै नेतृत्व गर्छ : प्रधानमन्त्री प्रचण्ड

blog

धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, असार ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताउनुभएको छ । सोमबार धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’’


१८ औँ शताब्दीमा कार्ल माक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ् ! भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि राम्रो गर्दै जाने तिर आफ्नो ध्यान रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेकोदेखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउनुहुँदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास समेत व्यक्त गर्नुभएको छ ।