• १६ चैत २०८०, शुक्रबार

सुदूरपश्चिममा लागूऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ

blog

लागूऔषध । फाइल तस्बिर

महेन्द्रनगर, असार ११ गते । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागूऔषधको अवैध कारोबार, सेवन र दुर्व्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ ।

आज (सोमबार) मुलुकभर लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली र कञ्चनपुर ब्राउन सुगरको अवैध कारोबार र दुर्व्यसनकर्ताको अखडा बन्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्त)मा सुदूरपश्चिममा प्रहरीले लागूऔषधसम्बन्धी मुद्दामा सात सय ५४ जनालाई पक्राउ गरेको छ । जसमा १७ जना भारतीय नागरिक रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशमा लागूऔषध मुद्दामा दुई सय ७० जना पक्राउ पर्नुका साथै सोसम्बन्धी एक सय ७१ मुद्दा दर्ता भएका थिए । पछिल्लो समय समाजको तल्लो तहसम्म लागूऔषध ब्राउन सुगर, चरेसलगायतको कारोबार र सेवनकर्ता बढ्दै गएको देखिएको छ ।

तीन वर्षअघिको तुलनामा सुदूरपश्चिममा लागूऔषध मुद्दामा पक्राउ सङ्ख्या र मुद्दाको सङ्ख्या हेर्दा ठुलो सङ्ख्याले बढेको पाइएको छ । कैलाली र कञ्चनपुरमा भारतसँगको खुला सीमानाका कारण ब्राउन सुगरको आयात र अवैध कारोबार बढ्दै गएको प्रहरीको भनाइ छ ।

गत साउनदेखि जेठसम्म सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रहरीले एक किलो दुई सय ८८ ग्राम आठ सय ९२ मिलिग्राम बाउनसुगर बरामद गर्नुका साथै ४८ किलो आठ सय छ ग्राम चरेस र एक सय चार किलोग्रामभन्दा बढी चरेस बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले सुदूरपश्चिममा प्रहरीले लागुऔषध न्यूनीकरण र अवैध ओसारपसार नियन्त्रणका लागि स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रमदेखि कारबाहीको दायरामा ल्याउनेसम्मको काममा सक्रिय रहेको बताउनुभयो ।

“भारतसँगको खुला सिमाना, नेपाल–भारतमा लागूऔषध कारोबारको सञ्जालका कारणले यो समाजमा फैलिँदै गयो”, प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो, “पहाडी जिल्लाबाटसमेत सोझै भारतमा सम्पर्क गरेर लागूऔषध भित्र्याउने गरेको पनि पाइयो ।”

उहाँले प्रदेश प्रहरीको अगुवाइ र धनगढी उपमहानगरपालिकाको सहकार्यमा फूलबारीमा सुधार केन्द्र निर्माणको प्रक्रिया चलिरहेको जानकारी दिनुभयो । “हरेक दिन लागूऔषधसहित तीनदेखि पाँच जना पक्राउ परेकै छन्”, उहाँले भन्नुभयो, “जनचेतना, कानुनी कारबाही र सुधार केन्द्र गरी प्रहरीले तीन वटा कोणबाट यसको नियन्त्रणका लागि प्रयासरत छ ।”

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा यहाँ लागूऔषध मुद्दामा तीन सय ९४ जना पक्राउ पर्नुका साथै दुई सय ५३ वटा मुद्दा दर्ता भएका थिए आव २०७८/७९ मा यहाँ तीन सय ५३ लागूऔषधसम्बन्धी मुद्दा दर्ता भए भने पाँच सय ६३ जना पक्राउ परेका छन् ।

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा एक किलो ५६ ग्राम ब्राउन सुगर, एक सय १२ किलोग्राम चरेस र एक किलो पाँच सय ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यहाँस्थित रिकभरिङ नेपालका केन्द्रीय सदस्य एवम् राष्ट्रिय समाज कल्याण सङ्घमा लागुऔषधको क्षेत्रमा लामो समयदेखि कार्यरत नवराज पाण्डेयले सुदूरपश्चिममा मात्रै लागूऔषध दुरुपयोगकर्ताको सङ्ख्या तीन हजारभन्दा बढी रहेको बताउनुभयो ।

“ब्राउन सुगरको अवैध व्यापार यहाँका गाउँबस्तीसम्म पुगिसक्दा युवापुस्ता नराम्ररी प्रभावित छ”, पाण्डेयले भन्नुभयो, “लागूऔषध नियन्त्रणका लागि राज्यबाट नीति योजना बने तर ठोसरुपमा कार्यान्वयनको जोड दिइएन ।” उहाँले लागूऔषधकै कारण सामाजिक अपराध बढ्नुका साथै मानसिक रोगीको सङ्ख्या वृद्धि भइरहेको बताउनुभयो ।

“लागूऔषधको ओभरडोजकै कारण ज्यान गुमाएका धेरै उदाहरण सुदूरमा छन्”, उहाँले भन्नुभयो, “यतिसम्म कि कारागारमा रहेको छोरालाई ब्राउन सुगर दिन जाँदा आमा पक्राउ परेको घटना यहाँ देखिए ।”

उहाँले सामान्यरुपमै लागूऔषध पाउन थालेका कारण यसको दुरुपयोगकर्ता सुदूरपश्चिममा बढिरहेकोप्रति सबैको चिन्ता र चासो हुनु नपर्नेमा जोड दिनुभयो ।

“चलचित्रमा सुन्ने गरेको ब्राउन सुगर अहिले यहाँका गाउँबस्तीमा पाउन थालेको घटनाले गम्भीर भएनौँ भने अवस्था चिन्ताजनक आउन सक्छ”, उहाँले भन्नुभयो, “यसको न्यूनीकरणका लागि सबैको हातेमालो अति आवश्यक भइसक्यो ।” रासस