• ७ वैशाख २०८१, शुक्रबार

तामेकोट सडकलाई विष्णु क्षेत्री मार्ग नामाकरण गरिने

blog

अर्जुन काफ्ले 

स्याङ्जा, असार ११ गते । गल्याङ नगरपालिकाले वडा नं –५, जोगिमारा स्यालवास तामेकोट सडकलाई विष्णु क्षेत्री मार्ग नामाकरण गरिने भएको छ । यहाँका वडा नं ५ का संस्थापक वडा अध्यक्ष विष्णु क्षेत्रीको सडक दुर्घटनामा निधन भएपछि स्थानीयले जोगिमारा स्यालवास तामेकोट सडकलाई विष्णु क्षेत्री मार्ग नामाकरण गर्न माग गरेका हुन् ।

गल्याङ नगरपालिकाको १३ औं नगरसभाले सो सडकलाई विष्णु क्षेत्री मार्ग नामाकरण गरेर विकास गरिने भन्दै नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । गल्याङ नगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको हो । 

नगरसभामा नगरप्रमुख गुरुप्रसाद भट्टराईले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख हेमा न्यौपानेले पेश गर्नुभएको बजेट सर्वसम्मत भएको थियोे । नगरसभामा आगामी वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख भट्टराईले सम्मुनत गल्याङ नगर बनाउने अभियान थालिएको बताउनुभयो । उहाँले केही महत्वकांक्षी योजना पेश गर्दै सबैको सहकार्यमा त्यो सम्भव रहेको बताउनुभयो । 

‘बसौं बसौं लाग्ने गाउँ र सहर, समुन्नत र सम्वृद्ध गल्याङ नगर’ नारा सहित सुरु भएको नगर सभामा नगरप्रमुख भट्टराईले यसलाई नारामा सीमित नगरिने भन्दै लक्ष्य पुरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

नगर सभामा भट्टराईले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा कृषिलाई आत्मनिर्भर बनाउने आवश्यक कार्य गर्ने उल्लेख गरिएको छ । यसका लागि बाँझो जग्गा लिजमा लिई युवाहरुलाई रोजगार दिने, मासु र दूध उत्पादनमा दोब्बर वृद्धि गर्ने, उत्पादन वर्ष २०८० सुरु गर्ने, ५० लाख बराबरको मकै बिउँ उत्पादन गर्ने, बाँदरको समस्या समाधान गर्न अन्य पालिकासँग आवश्यक समन्वय गरी नीति बनाउने, बिमा कार्यक्रम, घाँसको स्रोत केन्द्र स्थापना गर्ने, दूधमा दिइएको प्रतिलिटर १५ रुपियाँ अनुदानलाई निरन्तरता दिने, सबै वडामा पशु स्वास्थ्य शिविर र पशु प्राविधिकको व्यवस्था गर्ने, नमूना अर्गानिक गाउँ बनाउने लगायतका विषयहरु समेटिएका छन् ।