अनुदानको खाद्यान्न ढुवानी रोकियो

हुम्ला समाचारदाता

सिमकोट वैशाख १ गते । पछिल्लो दुई हप्तायता नेपाल खाद्य संस्थानको ढुवानी अनुदानको खाद्यान्न ढुवानी हुने कार्य रोकिएको छ । नीजि एयरलाईन्सका हवाई जहाजहरु काठमाडौं फर्के पछि जहाजकै अभावमा खाद्यान्न ढुवानी हुन रोकिएको हो ।
दुई हप्ता यता नेपालगंज र सुर्खेतबाट खाद्यान्न ढुवानी हुने कार्य रोकिएको नेपाल खाद्य संस्थान सिमकोट शाखाका प्रमुख राम बहादुर बिष्टले बताउनु भयो । सुर्खेतबाट त निकै कम फ्लाईट हुन थालेको भए पनि भएका अधिकाँस जहाजहरु नेपालगंजबाट काठमाडौ फर्के पछि खाद्यान्न ढुवानी हुन नसकेको उहाँले बताउनु भयो । खाद्यान्न ढुवानी हुन रोकिए पछि चालु आर्थिक बर्षको १२ हजार चार सय क्वीन्टल खाद्यान्न मध्ये एक हजार चार सय क्वीन्टल ढुवानी हुन बाँकी रहेको र संस्थानले थप चार हजार क्वीन्टल खाद्यान्न थप गरेको पछि उक्त खाद्यान्न समेत ढुवानी गर्न बाँकी रहेको छ । नाफा मुखी नीजि एयरलाईन्सहरुले अहिले अफ सिजन भनेर जहाजहरुलाई काठमाडौं केन्द्रित गरेकोले खाद्यान्न ढुवानी गर्न समस्या भएको हो । अबको एक महिना पछि मानसरोवर कैशालको सिजन सुरु हुने भएको कारण त्यसपछि हवाई जहाजबाट खाद्यान्न ढुवानी गर्न कठिन हुनेछ । सो कुरालाई मध्य नजर राखि थप भएको चार हजार क्वीन्टल खाद्यान्न ढुवानीका लागि संस्थानले केरुङ नाकाबाट पैदल मार्गमा हिल्सा हुँदै याल्बाङसम्म ढुवानी गर्नेतर्फ पनि तयारी गरी रहेको संस्थानले जनाएको छ । उक्त मार्गबाट खाद्यान्न ढुवानी भए सस्तोमा खाद्यान्न ढुवानी हुने संस्थानको दाबी रहेको छ । केरुङ हुँदै हिल्साबाट खाद्यान्न सिमकोट आए असी र नब्बे रुपियाँमा प्रतिकेजी खाद्यान्न ढुवानी हुने गरी संस्थानले टेण्डर आहवान गर्न लागेको छ । जब कि हाल नेपालगंजबाट प्रतिकेजी एक सय चौध रुपियाँ र सुर्खेतबाट प्रतिकेजी एक सय पाँच रुपियाँ ढुवानी मुल्य पर्ने गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds