• ११ वैशाख २०८१, मङ्गलबार

म्याग्दीका स्थानीय तहमा तीन अर्ब बढी बजेट

blog

बजेट प्रस्तुतको तयारी गर्दै बेनी नगरपालिकाका जनप्रतिनिधि । तस्विर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असार ११ गते । म्याग्दीका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट पारित गरेका छन् । गाउँ तथा नगर सभा मार्फत बेनी नगरपालिका, मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले एकमुष्ट २ अर्ब दुई करोड ५३ लाख ४१ हजार एक सय रुपियाँ बराबरको बजेट पारित गरेका हुन् । 

सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर जिल्लाका स्थानीय तहले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र बजेट ल्याएका छन् । आइतबार जिल्लाका छ वटै स्थानीय तहले बजेट पारित पनि गरिसकेका छन् । 

बेनी नगरपालिकाले ७० करोड ८९ लाख रुपियाँको बजेट पारित गरेको छ । चालुतर्फ ५० करोड २७ लाख ७५ हजार र २० करोड ६१ लाख २५ हजार रुपियाँ पुँजीगत तर्फको बजेट पारित भएको छ । 

यसैगरी मङ्गला गाउँपालिकाले चालुतर्फ २८ करोड ३२ लाख ६१ हजार सात सय र पुँजीगततर्फ १६ करोड ४८ लाख ५० हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ । धवलागिरि गाउँपालिकाले ४३ करोड ८९ लाख ५४ हजार दुई सय रुपियाँको बजेट पारित गरेको छ । 

रघुगङ्गा गाउँपालिकाले ४३ करोड बढीको बजेट पारित गरेको छ । १५ औँ गाउँ सभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको ४३ करोड ५७ लाख ८७ हजार ६ सय बराबरको बजेट पारित भएको हो । बजेटमा चालुतर्फ ३४ करोड ४९ लाख ५७ हजार र र पुँजीगततर्फ ९ करोड ८ लाख ३० हजार विनियोजन भएको छ । 

अन्नपूर्ण गाउँपालिकाले साढे ५३ करोड रुपियाँको बजेट ल्याएको छ । असार ८ गते गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको १७ औँ गाउँ सभामा उपाध्यक्ष दिवा तिलिजा पुनले ५३ करोड ५४ लाख ४३ हजार ६ सय रुपियाँको बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ ३५ करोड ५१ लाख ५९ हजार छ सय र पुँजीगततर्फ १८ करोड दुई लाख ८४ हजार बजेट विनियोजन भएको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।

मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपियाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्रमा सम्पन्न भएको गाउँ सभाको १३ औँ अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल सहित पारित गरिएको हो । 

चालुतर्फ २९ करोड ४९ लाख रुपियाँ र पुँजीगततर्फ १६ करोड ३२ लाख ४४ हजार रुपियाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष घर्ती मगर पुनले बताउनुभयो ।