• ४ वैशाख २०८१, मङ्गलबार

बर्दियाका ६ पालिकाले ल्याए बजेट

blog

मुकुन्द सुवेदी

बर्दिया, असार ११ गते । बर्दियाका आठ वटा पालिकाहरूमध्ये ६ पालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् भने २ वटा पालिका गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छन् । 

जिल्लाका ६ नगरपालिका र दुई गाउँपालिकाले नगर तथा गाउँ सभा आयोजना गरी नीति, कार्यक्रम तथा बजेट पेस गरेका हुन् । अधिकांश पालिकाहरूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुरानै छन् । ती पालिकाहरूको नीति तथा कार्यक्रममा शिक्षा, कृषि, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ भने असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।  

गुलरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि एक अर्ब पाँच करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । नगर सभामा बजेट प्रस्तुत गर्दै उप प्रमुख सावित्री गौतमले शिक्षा युवा तथा खेलकुद, कृषि तथा पशुपालन, स्वास्थ्य खानेपानी तथा सरसफाइ पर्यटन संस्कृति तथा वातावरण, फोहरमैला व्यवस्थापन र सुशासन तथा पारदर्शितालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बताउनुभयो । गुलरिया नगरपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा र नगरवासीका लागि निःशुल्क शव वाहन उपलब्ध गराउने नीति तथा कार्यक्रममा राखेको छ ।

राजापुर नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासलाई प्राथमिकतामा राखेर राजापुर नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको नगरप्रमुख दीपेश थारुले जानकारी दिनुभयो । जिल्लाका अन्यपालिकाहरु भन्दा यसले ठुलो आकारको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको लागि यसले एक अर्ब १६ करोड ८४ लाख ७० हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

बाँसगढी नगरपालिकाले ८४ करोड ८२ लाख ९१ हजार १२० रुपियाँ बराबरको बजेट विनियोजन ल्याएको छ । नगर उपप्रमुख इन्दिरा चौधरीले नगर सभामा प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्चतर्फ ४८ करोड २० लाख ५१ हजार रुपियाँ र पूजीँगत खर्चतर्फ ३६ करोड ६२ लाख ४० हजार १२० रुपियाँ रहेको छ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र गरिबी निवारण गर्नेतर्फ बजेट केन्द्रित रहेको उपप्रमुख चौधरीको भनाइ छ । 

बारबर्दिया नगरपालिकाले ८६ करोड ३६ लाख ९८ हजार रुपियाँ बरबरको बजेट प्रस्तुत गरेको छ । १३ औँ नगर सभामा नगर उपप्रमुख रत्नकुमारी पाण्डेले स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, कृषि तथा पशु विकास र स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

यस्तै, ठाकुरबाबा नगरपालिकाले चालु खर्चतर्फ ४० करोड ७५ लाख ५२ हजार ८२६ रुपियाँ र पूजीँगत खर्चतर्फ ३२ करोड २ लाख २० हजार ७८ रुपियाँ गरी जम्मा ७२ करोड ७७ लाख ७२ हजार ९०४ रुपियाँ विनियोजन गरेको छ । नीति, कार्यक्रम तथा बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक विकास लगायतलाई प्राथमिकतामा राखेर केही नयाँ सहित पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

बढैयाताल गाउँपालिकाले आगामी वर्षको लागि ८१ करोड ५७ लाख १५ हजार रुपियाँ बराबरको बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । पालिका उपाध्यक्ष लक्ष्मी अधिकारीले चालु खर्चतर्फ ५२ करोड ८६ लाख १५ हजार र पुँजीगत खर्चतर्फ २८ करोड ७१ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । गाउँपालिकाले कृषि तथा सिँचाइ, पशुपन्छी र मत्स्यपालन, घरेलु तथा साना उद्योग र रोजगारलाई विशेष प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ ।

मधुवन नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, पर्यटन, गुणस्तरीय प्राविधिक शिक्षा र मानवजन्य जन्तु द्वन्द्व नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । विपन्न र जेहेन्दार विद्यार्थीहरूका लागि ‘विपन्नसँग नगर प्रमुख’ छात्रवृत्ति कार्यक्रम, कृषि तथा पशुन्क्षीजन्य वस्तुको सीमापारि खुला आयात निरुत्साहित गर्न ‘पारिको होइन बारीको’ गाईको स्याहार, संरक्षण र दिगो व्यवस्थापनका लागि ‘कामधेनु संरक्षण कोष’, ‘मधुवन ब्रान्ड’ मा बेसार खेती, ‘नगर प्रमुख दैवी प्रकोप राहत कोष’, ‘मधुवन धर्म भकारी’, जस्ता नाम दिएर कार्यक्रम अगाडी सारिएको नगरप्रमुख तेजबहादुर भाटले जानकारी दिनुभयो । 

नीति तथा कार्यक्रममा मानव जीवनमा खतरा परेकोमा बाहेक वर, पिपल, समी तथा सिमलका रुख कटानमा पूर्ण प्रतिबन्ध समेत लगाइएको छ । यस पालिकाले केही दिनमा बजेट प्रस्तुत गर्ने जनाएको छ ।

गेरुवा गाउँपालिकाले स्वास्थ्य, शिक्षा, आर्थिक विकास, पर्यटन प्रवर्द्धन, भौतिक पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर गेरुवा गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको पालिका अध्यक्ष जमानसिंह केसीले बताउनुभयो । नीति तथा कार्यक्रममा ‘छोरी बचाउ’ कार्यक्रम, ‘एक मावि एक स्टाफ नर्स’ लगायतका कार्यक्रमहरू समावेश गरिएका छन् । केही दिनपछि बजेट प्रस्तुत गरिने पालिकाले जनाएको छ ।