आन्तरिक पर्यटकले भरियो सौराहा

वसन्त पराजुली

भरतपुर, वैशाख १ गते । नयाँ वर्ष २०७६ को पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहा आन्तरिक पर्यटकले भरिभराउ छ । २०७५ लाई बिदा गर्दै २०७६ लाई स्वागत गर्न सौराहा पर्यटक भरिएका हुन् ।
आज (शनिवार) दिउँसैदेखि ‘फूलअकुपेन्सी’ छ, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो, होटलमा कोठा नपाएर फर्कने धेरै छन् । नयाँ वर्षको अवसरमा नेपालीहरू बढी आएको पनि उहाँले जनाउनुभयो ।
उहाँले भन्नुभयो, सामान्य अवस्थामा सौराहामा दैनिक ४० प्रतिशत नेपाली र ६० प्रतिशत विदेशी पर्यटक आउने गर्दछन् तर नयाँ वर्ष भएर होला ८० प्रतिशत नेपाली र २० प्रतिशत विदेशी सौराहामा छन् ।
सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ ११० होटलमा पाँच हजार पाँच सय कोठा छन् । सौराहाका अलवा चितवनमा भरतपुर, सौराहा, जगतपुर, पटिहानी र मेघौलीमा पनि पर्यटकीय होटल छन् ।
सौराहाको औसत अकुपेन्सी ४० देखि ५० प्रतिशत हो तर नयाँ वर्षकै कारण अहिले फुलअकुपेन्सी छ, उहाँले भन्नुभयो । नयाँ वर्षमा शैक्षिक संस्थाहरू बन्द हुने र छोराछोरीलाई फुर्सदका बेला घुमाउने संस्कार बढ्दै गएकाले पनि सौराहामा पर्यटकको चाप बढेको बताइन्छ । tourist 1
नेपालीमा पनि घुमफिर गर्ने प्रवृत्ति बढेको छ, उहाँले भन्नुभयो । अहिले सौराहा आउने पर्यटक नेपालीबाहेक भारतीय, चिनियाँ र युरोपेली छन् । काठमाडौँबाट परिवार लिएर सौराहा घुम्न आउनुभएका रोशन घिमिरे बच्चाहरूकै कारण घुम्न आएको बताउनुभयो ।
वन र वन्यजन्तुमा आधारित पर्यटनका लागि विश्वभर ख्यातिप्राप्त चितवनमा अहिले वार्षिक डेढ लाखका हाराहारीमा पर्यटक भित्रिइरहेका छन् । यसरी आउने पर्यटकमध्ये ९० प्रतिशत सौराहा आउने गर्दछन् ।
हाल चितवनमा आउने पर्यटकको बसाइ २.४ दिन छ । सौराहा आउने पर्यटकले प्याकेजमा अठार हजारदेखि चौबीस हजार रुपियाँसम्म खर्च गरिरहेका व्यवसायीहरू बताउँछन् ।
सौराहा हात्ती सफारी गरी गैँडा, बाघजस्ता जनावर अवलोकनका लागि ख्यातिप्राप्त छ । पछिल्लो समय जिप सफारी पनि निकुञ्जमा छ । नारायणी राप्तीलगायतका नदीमा डुङ्गा सयर, थारू सङ्ग्रहालय र सांस्कृतिक कार्यक्रमले पनि सौराहामा पर्यटक तानिरहेका छन् ।

तारे होटल खुल्दै

 नारायणगढको व्यापारिक घरना चुके परिवारले भरतपुर महानगरपालिका ३ स्थित न्यूरोडमा ३५ करोड रुपियाँको लगानीमा तीन तारे होटल निर्माण सुरु गरेको छ । हालै शिलान्यास भई निर्माण सुरु भएको सो होटलको लगानीको बजेट जग्गाबाहेकको हो । जग्गा भने उहाँहरूको पुख्र्यौली हो । 

भरतपुर महानगरपालिकाका पूर्वप्रमुख मुक्तिलाल चुकेका तीन भाइ छोरा मिलेर थ्री पिल्लर नाममा नयाँ होटल स्थापना गर्न लाग्नुभएको हो । चुकेका तीनै भाइ छोरा नारायणगढका प्रतिष्ठित उद्यमी तथा व्यवसायी हुनुहुन्छ । थ्रि पिल्लरका सञ्चालन समितिका अध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुके चितवनमा सुविधा सम्पन्न्न होटल सञ्चालन गर्ने गरी निर्माण कार्य सुरु भएको बताउनुभयो । उहाँले दुई वर्षभित्र होटल सञ्चालनमा ल्याइने योजना रहेको बताउनुभयो । यस्तै भरतपुर १० मै एक अर्ब ४१ लाखको लगानीमा चितवन होटल रिसोर्टको निर्माणको काम भइरहेको छ । एक वर्षअघि निर्माण थालनी भएको यो रिसोर्टले पनि आगामी एक वर्षभित्र आफ्नो सेवा सुरु गर्ने बताइएको छ ।
यता भरतपुर १० मै होटल सिँचाइ चुलीको निर्माण भइरहेको छ । ६० करोड रुपियाँ लागतमा निर्माण गर्न लागिएको सो होटल आगामी वर्षदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । सरकारले लगानीकर्तालाई आकर्षण गर्न लगानी सम्मेलन भर्खरै सकेको भए पनि चितवनमा भने ठूला लगानीमा होटल यसअघि नै निर्माण भइरहेका छन् । चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीका अनुसार अहिले पनि आठवटा नयाँ ठूला होटल निर्माण भइरहेका छन् । वन र वन्यजन्तुमा आधारित पर्यटनको विकास भएको देशकै तेस्रो गन्तव्य सौराहा रहेको चितवनमा अहिले २१६ वटा ठूला होटल सञ्चालनमा छन् ।
चितवन उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान यातायातका साधन सहज पहुँच भएका कारण पनि चितवनमा होटल व्यवसाय स्थापनामा आकर्षण बढेको बताउनुहुन्छ ।
अन्यत्रका तुलनमा चितवनमा औद्योगिक सुरक्षा बढी छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिटी हललगायतका ठूला योजना निर्माण हँुदै गरेका कारण पनि लगानीकर्ताको आकर्षण होटल व्यवसायमा गएको हो, प्रधानले भन्नुभयो । तारे होटलहरू खुल्न थाल्नु चितवनको आर्थिक विकासमा टेवा पु¥याउनु हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds