• १६ चैत २०८०, शुक्रबार

साहसी महिला लक्ष्मीबाई

blog

झाँसीकी रानी लक्ष्मीबाईको नाम अदम्य साहसी प्रतिमूर्तिका रूपमा लिइन्छ । उनको जन्म सन् १८२८ नोभम्बर १९ मा भारतको बनारसमा एक मराठी कर्हाडे ब्राह्मण परिवारमा भएको थियो ।

उनको बाल्यकालको नाम मणिकर्णिका ताम्बे थियो । उनीलाई मनु पनि भनिन्थ्यो । उनका पिता मोरो पन्त ताम्बे र आमाको नाम भागीरथी सप्रे (भागिरथीबाई) थियो । मणिकर्णिकाका मातापिता महाराष्ट्रको रत्नागिरिको ताम्बेबाट बनारसमा बसाइँ सरेका थिए ।

उनका बुवा कल्याण प्रान्तका सैन्य कमान्डर थिए । मणिकर्णिका चार वर्षको हुँदा उनकी आमाको निधन भयो । मणिकर्णिकाको पठनपाठन घरमै भएको थियो । नाना साहेब र टाटिया टोपे उनका बालसखा थिए । उनीहरूसँगै मणिकर्णिकाले सुटिङ, घोडचढी, मल्लखाम्बा सिकेकी थिइन् । कट्टर पुरातनवादी भारतीय समाजमा मणिकर्णिकाको परिचय कुसंस्कार, अन्याय अत्याचारविरुद्ध लड्ने एक साहसी नारीका रूपमा थियो । 

मणिकर्णिकाको विवाह सन् १८४२ मा झाँसीका महाराजा गङ्गाधर रावसँग भयो । त्यसपछि उनको नाम लक्ष्मीबाई रहन गयो । लक्ष्मीबाई घोडचढीमा निपुण थिइन् । उनका सारङ्गी, पवन र बादल नामक घोडा थिए । तीमध्ये बादल उनको प्रिय घोडा थियो ।

विवाहपछि हिन्दु देवी लक्ष्मीको सम्मानमा उनलाई लक्ष्मीबाई भन्न थालियो । उनीबाट सन् १८५१ सेप्टेम्बरमा छोरा जन्मियो । छोराको नाम दामोदर राव राखियो । तर जन्मेको चार महिनापछि छोराको निधन भयो । त्यसपछि उनीबाट अरू सन्तानको जन्म भएन । उनका श्रीमान् महाराज गङ्गाधरले निधनको एकदिनअघि भतिजा आनन्द रावलाई धर्मपुत्रका रूपमा ग्रहण गरेका थिए । धर्मपुत्र आनन्द रावको नाम परिवर्तन गरी दामोदर राव नै राखियो । धर्मपुत्र ग्रहण समारोह ब्रिटिस राजनीतिक अधिकारीको उपस्थितिमा भएको थियो । 

सन् १८५३ नोभेम्बरमा महाराज गङ्गाधर रावको निधनपछि ब्रिटिस गभर्नर–लर्ड डलहौजीले दामोदर रावको झाँसी सिंहासनको अधिकारलाई अस्वीकार गरेका थिए । त्यसपछि ब्रिटिसहरूले झाँसीमाथि नियन्त्रणको प्रयास गरे । झाँसीमाथिको ब्रिटिस आक्रमणको प्रतिकार गरिन् लक्ष्मीबाईले । तर ब्रिटिसहरूले झाँसीमाथि जबर्जस्ती अधिकार कायम गरे । सन् १८५४ मार्चदेखि ब्रिटिसहरूले लक्ष्मीबाईका लागि वार्षिक ६० हजार निवृत्तिभरणको व्यवस्था गरेका थिए । झाँसी दरबार र किल्ला छोड्न उर्दी जारी गरे तर उनले दरबार र किल्ला भने छोडिनन् । 

सन् १८५७ मे १० मा भारतको मेरठमा अङ्ग्रेज शासनविरुद्ध विद्रोह उठ्यो । विद्रोहको खबर भुसको आगोझै सम्पूर्ण उत्तरी भारतमा फैलियो । सबैतिर अशान्ति फैलियो । झाँसीमा समेत विद्रोहको खबर पुग्यो । विद्रोहीहरू झाँसी पुगेपछि लक्ष्मीबाईले बेलायती राजनीतिक अधिकारी क्याप्टेन अलेक्जेन्डर स्केनलाई आफ्नो सुरक्षाका लागि थप सैनिकहरू राख्न अनुमति मागिन् । झाँसी सहरमा अशान्त नै थियो तर लक्ष्मीबाईले आफ्ना प्रजाको विश्वास जित्न महिलाहरू भेला गरी धूमधामका साथ हल्दी कुमकुम समारोह आयोजना गरिन् । त्यतिबेलासम्म लक्ष्मीबाई अङ्ग्रेजविरुद्धको विद्रोहमा सहभागी थिइनन् । 

पछि सन् १८५७ जुनमा १२औँ बङ्गाल नेटिभ इन्फन्ट्रीमा विद्रोह भयो । विद्रोही सेनाले झाँसीको राज्यकोश (धनसार) र म्यागेजिन कब्जामाथि कब्जा जमाए । अङ्ग्रेज शासकलाई कुनै हानिनोक्सानी नपु¥याउने वचनसहित विद्रोहीहरू हतियार बिसाउन तयार भए । तर पछि विद्रोहीहरूले अङ्गे्रजहरूलाई दिएको वचन कायम राख्न सकेनन् । विद्रोही सेनाले ब्रिटिस अफिसर, उनीहरूका छोराछोरी, श्रीमतीसहित ६० जनाको नरसंहार गरे । उक्त नरसंहारको चार दिनपछि विद्रोहीहरूले लक्ष्मीबाईबाट ठूलो रकम असुले । रानी बसेको दरबार उडाउने धम्की दिए । विद्रोहीहरूको दाउँ झाँसीको सिंहासनमा स्वर्गीय महाराज ग्गाधर रावका अर्का भतिजा सदाशिव रावलाई राख्ने थियो । तर उनीहरू त्यसमा सफल भएनन् ।


लक्ष्मीबाईको फौजले सदाशिव रावको गद्दी हत्याउने प्रयास विफल तुल्यायो । त्यसपछि सदाशिवलाई कैद गरियो । उक्त घटनाबारे लक्ष्मीबाईले सौगर डिभिजनका कमिस्नर एस्किनलाई पत्रमार्फत जानकारी गराइन् । जवाफमा कमिस्नर एस्किनले रानीलाई ब्रिटिस सुपरिन्टेन्डेन्ट नआउन्जेल सहरको स्थिति काबुमा राख्न भने । 

त्यसबेला इस्ट इन्डिया कम्पनीका सहयोगी ओर्छा र दतिया राज्यका सेनाले झाँसीमाथि आक्रमण गरेका थिए । ओर्छा र दतियाको उद्देश्य झाँसीलाई बाँडेर लिनु थियो । ओर्छा र दतियाको आक्रमणपछि  लक्ष्मीबाईले अङ्ग्रेजहरूसँग सहयोग मागिन् तर ब्रिटिस गभर्नरले त्यसअघि ६० जनाको ज्यान जाने गरी भएको नरसंहारका लागि रानी जिम्मेवार रहेको भन्दै कुनै सहयोग गरेनन् । त्यसपछि रानीले झाँसी किल्ला र दरबारको सुरक्षा अरू मजबुत पारिन् । सन् १८५७ अगस्तमा विद्रोहीहरूलाई परास्त गर्न सफल भइन् । 

लक्ष्मीबाईले सन् १८५७ अगस्तदेखि सन् १८५८ जनवरीसम्म झाँसीको शासन व्यवस्था राम्ररी सम्हालेकी थिइन् । झाँसीमा शान्ति स्थापना भइसकेको थियो । अङ्ग्रेजहरूले झाँसीमा नियन्त्रण कायम राख्न ब्रिटिस फौज पठाउने उद्घोष गरे तर सेना पठाएनन् । त्यसपछि लक्ष्मीबाई र उनका सल्लाहकारबीच गम्भीर परामर्श भयो ।  परामर्शपछि ब्रिटिस शासनबाट उन्मुक्तिका लागि विद्रोहमा जानुपर्ने निष्कर्ष निकालियो । त्यसपछि लक्ष्मीबाईको नेतृत्वमा विद्रोहको तयारी सुरु भएको थियोे ।

लक्ष्मीबाईले विद्रोहको तयारी गरिरहँदा अङ्ग्रेजहरूले सन् १८५८ मार्चमा झाँसीमा सैनिक पठाए । झाँसी पुगेको ब्रिटिस फौजले स्थानीय वस्तुस्थितिको अवलोकन ग¥यो । झाँसीमा  लक्ष्मीबाईले आफ्नो प्रतिरक्षा बलियो पारेको ठहर ब्रिटिस फौजले ग¥यो । झाँसी किल्ला हतियारद्वारा सुसज्जित थियो । किल्लामा राखिएका हतियारले झाँसी सहरका साथै नजिकका गाउँसम्म मार हान्न सक्ने स्थिति देखिन्थ्यो । सबै वस्तुस्थितिको मूल्याङ्कनपछि ब्रिटिस सेनाका कमान्डर ह्यु रोजले लक्ष्मीबाई र उनका सैनिकलाई आत्मसमर्पणका लागि आह्वान गरे । आत्मसमर्पण नगरे अनिष्ट आइलाग्ने चेतावनी दिए । त्यसपछि रानीले आफ्ना सल्लाहकारसँग छलफल चलाइन् । छलफलमा आत्मसमर्पण नगरी स्वतन्त्रताका लागि लड्ने निधो भयो । अनि लक्ष्मीबाईले ब्रिटिसहरूविरुद्ध स्वतन्त्रताको युद्ध सुरु गरिन् । लक्ष्मीबाईले ब्रिटिसहरूसँगको स्वतन्त्रताको लडाइँमा जित हासिल गरे विजयको फल प्राप्त हुने तथा मरे वैभव र मुक्ति प्राप्त हुने भन्ने भगवान् कृष्णको भनाइलाई आत्मसात् गरिन् । 

यद्यपि कतिपय इतिहासकारले भने ब्रिटिस कमान्डर ह्यु रोजले आत्मसमर्पणका लागि चेतावनी नदिएको र सन् १८५८ मार्च २३ मा ह्यु रोज नेतृत्वको ब्रिटिस फौजले घेरा हाल्दा लक्ष्मीबाईको फौजले प्रतिकार गरेको उल्लेख गरेका छन् । 

लक्ष्मीबाईले स्वतन्त्रताका लागि लड्ने उद्घोष गरेपछि सन् १८५८ मार्च २४ मा झाँसीमा ब्रिटिस फौजबाट आक्रमण भयो । जवाफी कारबाहीसहित रानीको फौजले प्रतिकार ग¥यो तर उनको फौजमा ठूलो क्षति भयो । त्यसपछि रानीले तात्या टोपेलाई सैन्य सहयोगका लागि अपिल गरिन् । रानीको अनुरोधसँगै तात्या टोपे २० हजार सैनिकको नेतृत्व गर्दै झाँसी पुगे । पछि ब्रिटिस फौज र रानी समर्थित टोपेको फौजबीच सन् १८५८ मार्च ३१ मा लडाइँ भयो ।

तात्या टोपेका सैनिकलाई ब्रिटिस फौजले घेराबन्दी ग¥यो । सन् १८५८ अप्रिल २ मा ब्रिटिस फौजले गरेको आक्रमणका कारण किल्लाको पर्खाल भत्कियो । ब्रिटिस फौजले झाँसी सहर नियन्त्रणमा लियो । अघि बढेको ब्रिटिस फौज दरबार नजिक पुग्यो तर ब्रिटिस फौजविरुद्ध लक्ष्मीबाई र तात्या टोपे नेतृत्वको फौजले प्रतिकार जारी राख्यो । लडाइँ चर्किंदै गयो । त्यसपछि लक्ष्मीबाई दरबारबाट किल्लामा सरिन् । किल्लामा लक्ष्मीबाई र उनका सल्लाहकारबीच कुराकानी भयो । आपसी कुराकानीपछि अत्याधुनिक हतियारले सुसज्जिति ठूलो सङ्ख्यामा रहेको ब्रिटिस फौजसँगको लडाइँमा अरू क्षति हुने निष्कर्ष निस्कियो । त्यसपछि लक्ष्मीबाई तात्या टोपे कि त राव साहिज (नाना साहिब)को भतिजाको फौजमा सम्मिलित हुने निर्णयमा पुगिन् ।

परिस्थितिले अरू जटिल रूप लिँदै थियो । ब्रिटिस फौजले किल्लालाई घेरा हाल्न खोज्दै थियो । त्यसै क्रममा लक्ष्मीबाई किल्लाबाट बाहिरिइन् । किल्लाबाट निस्किँदा लक्ष्मीबाईले आफ्नो प्रिय बादल घोडामाथि हाम फालेकी थिइन् । त्यसरी हाम फाल्दा घोडा मरेको थियो । त्यहाँबाट लक्ष्मीबाई आफ्नो धर्मपुत्र दामोदर राव र सुरक्षाकर्मीहरूसँगै उम्केकी थिइन् । रानीका सुरक्षाकर्मीको टोलीमा खुदा बख्स बसारत अली, गुलाम गौस खान, दोस्त खान, लाला भाउ बक्षी, मोतीबाई, सुन्दर मुन्डर, काशीबाई, दिवान रघुनाथ सिंह, दिवान जवाहर सिंह आदि थिए । 

त्यहाँबाट रानी तात्या टोपेलगायतको फौजमा सामेल भइन् । त्यसपछि लक्ष्मीबाईसहितको फौजले काल्पी सहर कब्जा ग¥यो । सन् १८५८ मे २२ मा ब्रिटिस फौजले काल्पीमाथि आक्रमण ग-यो । लक्ष्मीबाई आफैले आफ्नो फौजको कमान्ड सम्हाल्दै प्रतिकारमा उत्रिइन् । दुर्भाग्य काल्पी मोर्चामा रानीको फौज परास्त हुन पुग्यो । 

काल्पीमा हार बेहोरेपछि लक्ष्मीबाई, तात्या टोपे, बन्दका नवाब र राव साहिब आदि ग्वालियर पुगे । ग्वालियरमा उनीहरूसँगै अन्य विद्रोही भारतीय फौजमा सामेल भए । त्यतिबेला ग्वालियरका महाराज सिन्धया भने भागेर आगरा पुगेका थिए । त्यसैले लक्ष्मीबाई समेतको विद्रोही सेनाले ग्वालियर कब्जा ग¥यो । ग्वालियर कब्जापछि नाना साहिबलाई पुनर्जीवित मराठा शासनको पेशवा (प्रधानमन्त्री) र राव साहिबलाई राज्यपाल घोषणा गरिएको थियो ।

तर ब्रिटिस जनरल रोजको फौजले सन् १८५८ जुन १६ मा फेरि ग्वालियरमाथि आक्रमण ग¥यो र सहर पूरै नियन्त्रणमा लियो । 

सन् १८५८ जुन १७ मा ग्वालियरको फूलबाग नजिकको कोटाह–की–सेराईमा रहेको लक्ष्मीबाई नेतृत्वको विद्रोही फौज सो ठाउँ छोड्न खोज्दैथ्यो । त्यति नै बेला ब्रिटिस फौजले लक्ष्मीबाई नेतृत्वको विद्रोही फौजमाथि धावा बोल्यो । ब्रिटिस फौजले ठूलो नरसंहार मच्यायो । ब्रिटिस फौजले विद्रोही फौजका साथै १६ वर्षमाथिका पाँच हजारभन्दा बढी भारतीयको हत्या गरेको थियो । 

लडाइँका क्रममा नराम्ररी घाइते लक्ष्मीबाईले फूलबाग रणमैदानमै सन् १८५८ जुन १८ का दिन देहत्याग गरेकी थिइन् । 

लक्ष्मीबाई एक साहसी नारी थिइन् । उनी अङ्ग्रेजहरूको दुव्र्यवहार र गुलामीविरुद्ध विद्रोहमा उत्रिएकी थिइन् । आफैँ युद्धमा होमिएर पुरुषहरूसँग लड्दै प्राण आहुति दिने लक्ष्मीबाई अदम्य साहसकी प्रतिमूर्ति थिइन् । 

Author

हीराकुमारी कडायत