• ७ वैशाख २०८१, शुक्रबार

पथरैया र काँढा नदीको दोभानमा घडियालले कोरल्यो बच्चा

blog

पथरैया नदीमा बच्चासहित माउ घडियाल । तस्बिर सौजन्य: भोजराज ढुङ्गाना

अविनाश चौधरी

धनगढी, असार ११ गते । कैलालीमा घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा कोरलेको छ । पथरैया र काँढा नदीको दोभानमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको हो । यो दोभान टीकापुर नगरपालिका–७ बैदीमा पर्दछ । डल्फिन क्षेत्र पर्ने यो ठाउँमा यसअघि घडियालले बच्चा कोरलेको थिएन । 

गोहीले करिब ३५ वटासम्म बच्चा कोरलेको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ४० वटासम्म अण्डा रहेकोमा पाँच वटा असफल भएको छ । बाँकी सबै अण्डाबाट बच्चा निस्केका छन् । 

“गुँडमा भेटिएको पाँच वटा अण्डाबाट बच्चा निस्केका छैनन्”, डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहनु भएका ढुङ्गानाले भन्नुभयो,“ती अण्डाहरू सायद बिग्रेको हुनुपर्छ ।” 

बच्चा कोरलेको माउ घडियाल गोही नदीमा केही दिनदेखि बच्चासहित देखा परिरहेको छ । पानीमा माउमाथि बच्चा चढेको देखिन्छन् । यसअघि, पुसमा देखिएको घडियाल गोही एकैचोटी असारमा बच्चासहित देखा परेको ढुङ्गानाले जानकारी दिनुभयो । “बिचको समयमा दुलोभित्र बसेको हुनुपर्छ”, उहाँले भन्नुभयो,“किनभने अण्डा दिने समयमा गोही त्यति देखा पर्दैनन् ।” घडियालको दुई वटा बच्चा भने मरेको अवस्थामा पानीमै देखिएको जनाइएको छ । 

घडियालले बच्चा कोरलेपछि संरक्षणकर्मी उत्साहित भएका छन् । साथै, थप जिम्मेवारी पनि थपिएको ढुङ्गानाले बताउनुभयो । मगर गोही, सिकारी चरा लगायतकाले घडियालका बच्चालाई मार्ने गर्दछन् । 

विश्वमै दुर्लभ डल्फिन देखिने ठाउँमा पहिलो पटक घडियालले बच्चा कोरलेपछि सो ठाउँमा घडियालको बसोबास वर्षभरि नै हुने गरेको पनि पुष्टि भएको छ । यस अघिसम्म मगर गोहीले मात्रै त्यहाँ बच्चा कोरलेको फेला परेको थियो । मगर गोही वर्षभरि नै देखिने गर्दछन् । 

मोहना, पथरैया लगायतका नदीमा मगर वर्षभरि नै बस्ने गरे पनि यस वर्ष मात्रै घडियाल बाह्रै महिना बसेको पुष्टि भएको ढुङ्गानाले बताउनुभयो । वर्षा याममा भने ती क्षेत्रमा धेरै घडियाल गोही देखा पर्ने गर्दछन् । गत वर्ष वर्षा याममा मोहना, पथरैया, काँढा लगायतका नदीमा १२ वटासम्म घडियाल गोही देखा परेका जनाइएको छ । 

घडियाल गोहीले नदी किनारको बालुवामा गुँड (खाल्डो) बनाएर अण्डा पार्ने गर्दछन् । गोहीले चैत, वैशाख र जेठतिर अण्डा दिने गरेको संरक्षणकर्मीहरूको बुझाइ छ । उनीहरूका अनुसार गोहीले खाल्डोमा एकैचोटी ३५ देखि ४० वटासम्म अण्डा पारेर खाल्डो पुर्ने गरेका छन् । केही समयपछि अण्डाबाट आफै बच्चा निस्कने गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो । 

“गोही, कछुवाले कुखुरा, चराजस्तै एक दिनमा एउटा÷एउटा गरेर अण्डा पार्दैनन्”, उहाँले भन्नुभयो,“पेटमा जम्मा भएको अण्डा यिनीहरूले एकै दिनमा निकाल्ने गर्दछन् । गोहीले ओथारो बस्नु पर्दैन ।”

स्थानीय थारु समुदायले बादल गर्जेपछि गोही र कछुवाको अण्डा फुटेर बच्चा निस्कने गरेको विश्वास पनि गर्दछन् । तर, गुँडभित्र उपयुक्त तापक्रममा रहेको गोहीको अण्डाबाट बच्चा आफै निस्कने गरेको संरक्षणकर्मी ढुङ्गानाको भनाइ छ । “तलमाथिबाट तापक्रम मिल्ने गरेर गोहीले गुँड बनाएका हुन्छन्”, उहाँले भन्नुभयो,“गुँडमा रहेको अण्डा आफै फुटेर बच्चा निस्किन्छन् ।” गुँडमा अण्डा दिएदेखि बच्चा ननिस्केसम्म गोहीले बेला बेला गुँड पुगेर रेखदेख गर्ने गरेको जनाइएको छ । 

कैलालीमा घडियाल, मगर गोहीले पहिलेदेखि बच्चा कोरल्दै आएको संरक्षणकर्मीको भनाइ छ । मोहना र कर्णाली नदी घडियाल, मगर गोही वर्षभरि नै बस्ने प्राकृतिक वासस्थान रहेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घडियाल गोहीले मोहना नदी किनारमा पहिले पनि बच्चा कोरलेको थियो । 

लोप हुने अवस्थामा पुगेको घडियाल गोही नेपालमा थोरै सङ्ख्यामा रहेको बताइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले घडियाललाई संरक्षित सरीसृप वन्यजन्तुको सूचीमा राखेको छ । घडियाल गोही मगरभन्दा कम आक्रामक रहने गरेको श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार सामान्यतया: चुच्चोमा ठुलो घडा भएको घडियाललाई धेरैले भाले भन्ने गरे पनि भाले पोथी छुट्टाउन निकै गाह्रो छ । “भाले पोथी दुवैको घडा रहन वा नरहन सक्छ”, उहाँले भन्नुभयो,“घडियालको नाभिमुनि रहेको प्वालमा हात हालेर मात्रै भाले पोथी छुट्टाउन सकिने विद्वानहरू बताउँछन् ।” नेपालमा भाले घडियाल गोही न्यून सङ्ख्यामा रहेको बताइन्छ ।