नयाँ वर्षको स्वागत सलहेस फूलबारी

salhes


 सन्तोष सुवेदी

सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र लहानदेखि पूर्व–पश्चिम लोकमार्गको चार किलोमिटर पश्चिममा पर्छ– फूलबारी चोक । पहिले भोटियाटोल भनेर चिनिने उक्त चोकदेखि करिब आधा किलोमिटर पैदल यात्रा गरेपछि नौ बिघा क्षेत्रफलमा फैलिएको पुरानो तथा रमणीय वन भेटिन्छ । सयौँ वर्ष पुराना रूखहरू भेटिने उक्त वन नै हो लोकनायक सलहेसको फूलबारी । जहाँको दुईवटा रूखमा प्रत्येक वर्षको पहिलो दिन नयाँ वर्षलाई स्वागत गर्न तम्तयार भएर देखापर्ने गर्छ– माला आकारका सलहेस फूल ।
स्थानीय भाषामा ‘हारम’ भनिने ती दुईवटा रूखमा फुलेका फूलका माला चौधौँ शताब्दीका लोकनायक सलहेसलाई उनकी प्रेमिका मालिनीले लगाइदिने फूलको माला हो भनिन्छ । सलहेस गाथाका अनुसार, राजा सलहेस प्रत्येक दिन सिरहा सदरमुकामस्थित आफ्नो राजधानी महिसोथा गढबाट कमल दहमा स्नान गरी फूलबारीमा आफ्ना साथीहरूसँग कुस्ती लडेपछि प्रेमिका मालिनीसँग वनविहार गर्न आउने गर्थे । सलहेसले एकैदिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिल्हट अखाडामा कुस्ती खेल्ने, सलहेस गढमा कुलदेवीको पूजा गर्ने र प्रजाका पीर–मर्का सुन्ने गरेको किंवदन्ती छ । विक्रम संवत् १३२५ मा महिसोथा राज्यका राजा सलहेस र उनकी प्रियसी मालिनीबीच बिहेपछि उक्त फूलबारी नै सलहेसका नामले प्रसिद्ध हुन पुगेको कथन छ ।
वनविहारका लागि प्रेमिका मालिनीसँग भेट्न आउँदा मालिनीले राजा सलहेसलाई स्वागतका निम्ति फूलको माला लगाइदिने गर्थिन् । सलहेस र मालिनीबीचको प्रेम यति प्रगाढ थियो कि प्रत्येक वर्षको वैशाख १ गते मालिनीको मन्दिर (गहबर) छेउको रूखमा फुल्ने फूलका माला उनीहरूकै प्रेमको प्रतीक हो भन्ने जनविश्वास छ । फूलबारीमा अनेकौँ रूख भए पनि माला आकारको फूल मालिनीको गहबरछेउमा एउटै जराबाट निस्केका दुईवटा रूखमा मात्र फुल्ने गरेको छ । माला आकारको फूल फुल्ने रूखमुनि रहेको मन्दिर (गहबर) भित्र हात्तीमा चढेका सलहेस र उनकी प्रेमिका दिना मालिनीको मूर्ति छ । मन्दिरको पछाडि कहिल्यै नसुक्ने दलदले धाप खोलो पनि छ ।
मालिनीको गहबर छेउको एउटै जराबाट निस्केका दुईवटा रूखमा देखिने माला आकारको फूलका रूपमा सलहेस र मालिनी प्रत्येक वैशाख १ गते स्वयम् प्रकट हुने गरेको लोकविश्वास गरिन्छ । ती माला आकारका फूल हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँबाट आएका सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ ।
यस वर्ष पनि वैशाख १ गते लाग्ने मेलाका लागि सम्पूर्ण तयारी भइसकेको छ । फूलबारीस्थित मालिनी मन्दिरका पुजारी जितेन्द्र धामीले भन्नुभयो, ‘विसं १३२५ ताका प्रतापी राजा सलहेसको सौर्य र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरूप यहाँका बासिन्दाले यस दिन परम्परागत मेला आयोजना गर्दै आइरहेका छन् ।’
पराक्रमी राजा सलहेसको गाथासँग जोडिएको हुनाले सलहेस फूलबारीसँगै सिरहा सदरमुकामस्थित महिसोथागढ, लहान नगरपालिका–१८ स्थित पकडियागढ, २० नम्बर वडास्थित ब्राह्मण गोर्छारी, २४ नम्बर वडास्थित मानिक दह र लक्ष्मीपुर–पतारी गाउँपालिकास्थित पतारी पोखरीमा सँगसँगै मेला आयोजना हुने गरेको छ । ती स्थानमा राजा सलहेसलगायत उनको गाथासँग जोडिएका पात्रहरूको हात्तीमा सवार मूर्ति देख्न पाइन्छ ।
मेलामा कतिपयले आफ्नो मनोकामना पूरा गराउन अनेक किसिमका भाकलसमेत पुकार्ने गरेको पाइन्छ । निसन्तान सन्तान प्राप्तिका लागि, दीर्घरोगी सुस्वास्थ्य र मनोकामना पूरा गर्न सलहेसको पूजा गर्छन् । भाकल पूरा भएपछि सलहेसलाई बोकापाठीको बलि दिने र कागजको छाता चढाउने परम्परा छ । यो फूलबारीमा सलहेसलाई साक्षी राखेर विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास छ ।
को हुन सहलेस ?
मिथिलाको हावापानी, खेतखलो, गाउँघर, वन–जङ्गल सर्वत्र लोकप्रिय पात्र हुन्– राजा सहलेस । राजर्षी जनकपछि मिथिलामा प्रादुर्भाव भएको दोस्रो व्यक्तित्वका रूपमा सलहेसलाई मानिन्छ । चौधौंँ शताब्दीतिर मिथिलामा आफ्नो पराक्रम र चामत्कारिक नेतृत्वले गर्दा आजसम्म उनको चर्चा छ । महिसोथा, हालको सिरहा उनको जन्मस्थल हो । उनको वास्तविक नाम भने राजा जयवर्धन सैलेश रहेको थियो ।
राजा सलहेस कुनै दन्त्यकथाका पात्र होइनन्, न त यशस्वी राजर्षी नै हुन् । उनी त्यतिबेला राजा भए पनि लोककल्याणमा सक्रिय भएकाले जनताका प्रिय पात्र बनेको बताइन्छ । प्रेम, प्रकृति, सौर्य, न्याय र नेतृत्व सबै गुणमा उनी सबल मानिन्थे । सलहेसमात्र नभएर उनका सहयोगी पात्रहरू पनि देउताझैँ पुजिन्छन् ।
पूर्वी नेपाल र उत्तरी विहार अर्थात् मिथिला क्षेत्र सलहेसको कर्मथलो रह्यो । मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो । उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचारविरुद्ध लडेका विद्रोही पात्रका रूपमा समेत चिनिन्छ । उनलाई तराईको दुसाध समुदायले अहिले पनि भगवान्का रूपमा पूजा गर्ने गर्छन् ।
इतिहास र संस्कृतिविद् डा. महादेव साह चाडबाड, संस्कृति र साँस्कृतिक महोत्सवमा दलित र गैरदलित भनेर विभाजनको रेखा हटाउने आन्दोलनको प्रादुर्भाव नै सलहेसले गरेको बताउनुहुन्छ । ‘राजा सलहेसले दलित समुदायभन्दा माथि उठेर आफ्नो बसोबास गर्ने क्षेत्रका बासिन्दालाई बाहिरी आक्रमणबाट बचाए, यसबाट सबै समुदायलाई न्यायको प्रत्याभूति गराई पारम्परिक, पारस्परिक आधार बनाइदिएकाले उनी सबैका पुजनीय भएका हुन्,’ उहाँले भन्नुभयो, ‘सलहेस फूलबारीमा अन्तरजातीय विवाह पनि भइरहेकाले दलितमाथिको विभेद न्यूनीकरण भएको मान्न सकिन्छ ।’ विभेद अन्त्य गर्न राजा सलहेसको गाथासँग जोडिएको साँस्कृतिक चाडले बल पु¥याउने डा. साहको भनाइ छ ।
चौधौँ शताब्दीअघिको सलहेस गाथाको ऐतिहासिक कथामाथि अब चलचित्रसमेत निर्माण हुने भएको छ ।

वनस्पतिविज्ञलाई चुनौती
वनस्पति विभागले गत वर्ष गरेको अनुसन्धानअनुसार, मालिनीको मालाका रूपमा फुल्ने उक्त फूल ‘चाँदीगाभा सुनाखरी’ प्रजातिअन्तर्गत पर्छ, जुन एक हजार पाँच सय मिटरसम्मको उचाइमा पाइन्छ । तर, समुद्र सतहदेखि १११ किलोमिटर उचाइमा रहेको यस क्षेत्रमा फुल्ने गरेको उक्त फूल अपवादका रूपमा देखापरेको वनविज्ञको राय छ ।
डिभिजन वन कार्यालय सिरहा, लहानका सहायक वन अधिकृत अमरेन्द्रप्रसाद यादवले यस क्षेत्रमा त्यस्ता कुनै पनि रूखमा यसप्रकारको फूल फुलेको नदेखिएको बताउनुहुन्छ । ‘उचाइमा फुल्ने यो फूल कसरी यो रूखमा फुल्यो ? ठम्याउन सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘अपवादका रूपमा फुलेको यो फूलले दैवीय विश्वास आर्जन गरेको छ भन्ने कुरामा वैज्ञानिक ढङ्गबाट काट्न सक्ने स्थितिमा हामी छैनौँ । यसको काण्डबाट विभिन्न किसिमको शक्तिवद्र्धक र कोषीय अङ्गको वृद्धि हुने औषधि बनाइन्छन् ।
यो दैवी चमत्कारलाई अहिलेसम्म भौतिकवादीहरूले चुनौती दिन सकेका छैनन् । नेपालमा जलवायु परिवर्तनले धरै वनस्पति लोप भएको र मौसमअनुसार नफुल्ने र नफल्ने दाबी भइरहेको अवस्थामा पनि सिरहाको यो रूखमा भने वैशाख १ गतेकै दिन फूल फुल्दै आएको छ । कृषि तथा वातावरणविज्ञ दिनेश यादवका अनुसार सुनाखरी फूल फुल्नुलाई धार्मिक विश्वासका रूपमा लिइन्छ । नेपालमा आठप्रकारका रैथाने सुनाखरी पाइन्छन् । उक्त फूलबारीमा पाइने फूल तराईमा पाइने ‘इरिया’ प्रजातिको सेतो सुनाखरी रहेको उहाँको भनाइ छ ।
‘फूलबारीमा देखिएको फूल ‘इटिफाइटिक’ स्वरूपको हो, जुन अरू रूखमा आश्रित रहन्छ,’ उहाँले भन्नुभयो, ‘फूलबारीमा फुलेको फूल पनि अरू रूखको काण्डमा देखिएको छ ।’ उहाँका अनुसार यो जातको फूल वसन्त ऋतुको चैत अन्तिममा फुलेर नओइलाइ १५ दिनसम्म रहन्छ ।

 

 

 

 

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना